arrow

नेपाली कांग्रेसका मौलिक सम्पत्ति  तथा मूल्य – मान्यताहरु

logo
डा. राजकुमार राई,
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
rajkumar-rai1.jpg

वि.सं.२००३ सालमा स्थापना भएको नेपाली कांग्रेस अहिले ७२ वर्ष पार गरिसकेको छ । यो पार्टी मुलुकमा हाल क्रियाशील रहेको पार्टीमध्ये सबैभन्दा जेठो पार्टी हुनुको साथै विभिन्न किसिमका मौलिक सम्पत्तिहरुले सुसज्जित र परिस्कृत पार्टीको रुपमा चिनिन्छ । ती मौलिक सम्पत्तिहरु निम्न छन् :

(क) नेपाली कांग्रेसको इतिहास
(ख) आदर्श पुरुष संस्थापक नेताहरु
(ग) शहीदहरु 
(घ) चारतारे झण्डा
(ङ) चुनाव चिन्ह : रुख 
(च) जय नेपाल सम्बोधन
(छ) नेपाली कांग्रेसको आदर्श र सिद्धान्तहरु  
(ज) संसदीय शासन प्रणाली 
(झ) विधान
(ञ) इमान्दार कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरु 

माथिका मौलिक सम्पत्तिहरुले गर्दा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु म कांग्रेसी हो भनेर आफुलाई गर्व गर्दछन । यी सम्पत्तिहरुलाई नेपाली कांग्रेसको मूल्य र मान्यताको रुपमा पनि लिन सकिन्छ । यी सम्पत्ति तथा मूल्य र मान्यताले गर्दा नेपाली कांग्रेस पार्टी स्वदेशमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत भरसिलो पार्टी बन्न सफल भएको छ । यति धेरै मौलिक सम्पत्तिहरू हुँदाहुँदै पनि नेपाली कांग्रेसको अवस्था किन दिनानुदिन खस्किरहेको छ त ? किन नेपाली कांग्रेस नेपाली जनताको मन मस्तिष्कबाट विमुख बन्दैछ त ? नेपाली कांग्रेस वृत्तभित्र यस बारेमा व्यापक छलफल हुनु जरुरी देखिन्छ । यस आलेखमा यी मूल्य मान्यताको बारेमा संक्षिप्त वर्णन गर्ने प्रयास गरिएको छ । 

नेपाली कांग्रेसको इतिहास ज्यादै गौरबमय छ । यो पार्टीले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि ठुला आन्दोलनको नेतृत्वदायी भूमिका निभाएको छ । धेरैले भन्ने गरेको सुनिन्छ कि नेपाली कांग्रेस अहिले सम्म बारम्बार सत्तामा पुग्नुको मुख्य कारण यसको गौरबमय इतिहास नै हो । यदि यो भनइमा अलिकति पनि सत्यता हो भने अन्य मूल्य मान्यता लाई भुलेर अथवा नयाँ मूल्य मान्यताको विकास नगरेर इतिहासलाई मात्र भजाउन खोजियो भने पार्टी आफैं कुनै समयमा इतिहास बन्न सक्छ । 

नेपाली कांग्रेसका संस्थापक नेताहरु ज्यादै आदर्श पुरुष थिए । पार्टी प्रति उनीहरुको त्याग, निष्ठा, बलिदानी, दूरदर्शिता, र सामुहिक नेतृत्व कला ज्यादै अतुलनीय छ । त्यस्ता गुणहरु अहिलेको नेतृत्व पंक्तिमा नदेखिएको गुनासो सुन्नमा आइरहेको छ । अहिलेको पुस्तामा त्याग को भावना अलिकति पनि नभएको हो कि भन्ने आभाष सबैले महसुस गरेको देखिन्छ । वास्तवमा मान्छेलाई त्यागले मात्र सबैभन्दा उच्च कोटीको बनाउँछ । हुनेले गरेको त्यागको सबैतिर प्रशंसा हुन्छ । तर नहुनेले म त्याग गर्छु भन्यो भने त्यो हास्यास्पद मात्र हुन्छ । 

नेपाली कांग्रेस पार्टी हजारौँ शहीदहरुको बलिदानले बनेको पार्टी हो । २००७ सालमा प्रजातन्त्र प्राप्तिको लागि लड्दा, २०१७ सालमा राजा महेन्द्रले शासन आफ्नो हातमा लिएर पञ्चायती व्यवस्था लागू गरेपछि र २०५२ सालदेखि सुरु भएको १० वर्षे माओवादी द्वन्द्वको बेलामा नेपाली कांग्रेसले आफ्ना हजारौं होनहार नेता कार्यकर्ताहरु गुमाएको छ । पार्टीले ती शहीदहरुको तथ्यांक संकलन गरेर उनीहरुको सम्मान गर्नु जरुरी छ । उनीहरुको परिवारलाई भेटेर सान्त्वना दिन सकिन्छ । साथै उनीहरुको सपना पूरा गर्नु पनि पार्टीको जिम्मेवारी हो । 

नेपाली कांग्रेसको चारतारे झण्डा अरु पार्टीहरुको झन्डा भन्दा ज्यादै विशिष्ट छ । यो झन्डामुनि सबै कांग्रेसीहरु भावनात्मक रुपमा एक हुन्छन् । भण्डाको रंग र यसमा भएको ताराहरुले विशेष अर्थहरु राख्छ, जुन नेपालको सन्दर्भमा ज्यादै महत्वपूर्ण छ । नेपाली कांग्रेसका नेता कार्यकर्ता मृत्युवरण हुँदा यही झन्डा ओडाएर सम्मान गर्ने गरिन्छ ।

नेपाली कांग्रेसको चुनाव चिन्ह रुख २०१५ सालको प्रथम आमनिर्वाचनदेखिको हो । नेपाली कांग्रेसका नेता, कार्यकर्ता, र शुभचिन्तकहरु रुख चिन्हलाई आफ्नो प्राण ठान्दछन् । निर्वाचनमा उनीहरु रुख चिन्हबाहेक अरु चिन्ह देख्न चाहँदैनन् तर कसैलाई जिताउने वा हराउने नाममा रुख चिन्हलाई वेवास्ता गर्ने गरिएको पनि देखिन्छ । जुन अभ्यास सरासर गलत हो । 

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु एक आपसमा भेट्दा जय नेपाल भनेर अभिवादन गर्छन् । यो सम्बोधनले पनि कांग्रेसीबीच भावनात्मक एकता पैदा हुन्छ । जय नेपाल भनेर सम्बोधन गर्दा एकातिर एउटा ठुलो अर्को सानो हो भन्ने नभई समभाव झल्काउँछ भने अर्कातिर नेपाल र नेपालीको उन्नति र प्रगतिको कामना पनि गरिरहेको हुन्छ । 

राष्ट्रियता, लोकतन्त्र, र समाजवाद नेपाली कांग्रेसको आदर्श र सिद्धान्त हुन् । वि.सं.२०६२ अघिसम्म नेपाली कांग्रेसको आदर्श र सिद्धान्तहरुमा राष्ट्रियता, लोकतन्त्र, संवैधानिक राजतन्त्र, र समाजवाद थियो । तर राजाबाट पटकपटक प्रजातन्त्रमाथि प्रहार गरिएकोले नेपाली कांग्रेसले बाध्य भएर २०६२ साल भाद्र १४ देखि १७ सम्म सञ्चालन भएको पार्टीको ११ औं महाधिवेसनको निर्णयबाट संवैधानिक राजतन्त्रलाई आफ्नो विधानबाट हटायो । 

नेपाली कांग्रेसको आदर्श र सिद्धान्तको बारेमा वी.पी. कोइरालाले जति पनि व्याख्या विश्लेषण गर्नुभएको थियो, तर उहाँको शेषपछि आजसम्म कुनै पनि नेतृत्वलाई यस बारेमा बहस छलफल गर्ने गराउने आवश्यकता महसुस भएन । यस्तो महत्वपूर्ण विषयहरुको बारेमा पार्टीभित्र बहस छलफल नहुनु र केवल आमसभा र भाषणमा मात्र सीमित राख्नु दुःखको कुरा हो । यसको मतलब पार्टीको सिद्धान्तहरुलाई समयसापेक्ष परिमार्जन गर्दै अझ परिस्कृत बनाउनुको सट्टा यी आदर्श र सिद्धान्तलाई पार्टीले वेवास्ता गरेको देखिन्छ । 

उदाहरणको लागि वी.पी. कोइरालाको विचारमा राष्ट्रियता भनेको भूगोल मात्र नभई जनता पनि हो । नेपाली जनताले राष्ट्रियताको बारेमा नेपाली कांग्रेस किन उदासीन भएको भन्ने प्रश्न गरिरहेको देखिन्छ । यस बारेमा पार्टीले उपयुक्त जवाफ दिन ढिलो गर्नु हुँदैन । त्यस्तै वी.पी. ले पार्टीमा होस् या सत्तामा व्यवहारमै स्थापित गर्नुभएको समावेशी लोकतन्त्रलाई अहिलेको नेतृत्वले अनुशरण गर्न नसकेको आरोप लागिरहेको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र पुरै अस्तव्यस्त अवस्थामा रहेको भनेर अधिकांश नेता कार्यकर्ताहरुको गुनासो सुनिन्छ । पार्टी सरकारमा रहँदा समाजवाद मैत्री कार्यक्रम दिन नसकेको र यसको ठिक विपरीत नवउदारवाद र दलाल पुँजीवादको पृष्ठपोषक भएको आरोपहरु लागिरहेको छ । 

नेपाली कांग्रेसले जहिले पनि संसदीय शासन प्रणालीको वकालत गर्छ । किनकी नेपाली कांग्रेसले नेपाल जस्तो बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देशमा संसदीय शासन प्रणालीले मात्र समावेशी लोकतन्त्रलाई सुनिश्चित गर्दछ भन्ने विश्वास गर्छ ।  वि.सं. २०७२ सालबाट लागू भएको नयाँ संविधानमा यही प्रणालीको व्यवस्था भएको छ । गत वर्ष भएको निर्वाचनहरुमा नेपाली कांग्रेसले पराजय भोग्नु परे पनि नेपाली कांग्रेसले अङ्गीकार गरेको नीति सबै दलहरुले स्वीकार गरिसकेको अवस्था छ,  जुन कुरालाई नेपाली कांग्रेसले आफ्नो सफलता ठान्नसक्छ । 

नेपाली कांग्रेसको विधान ज्यादै परिस्कृत र वैज्ञानिक छ । नेपाली कांग्रेसको विधान प्रथम पटक २०१७ सालमा प्रकाशन भएको थियो । हालसम्ममा यो विधान ६ पटक संशोधन भइसकेको छ र अहिले पनि संशोधन हुने प्रक्रियामा छ ।  विधानले नै पार्टीको संगठन निर्माण र व्यवस्थापन गर्छ । साधारण सदस्यदेखि उच्च तहका नेतृत्वको काम, कर्तव्य, र अधिकारको बारेमा तोकिदिएको हुन्छ । विधानमा नसमेटिएका विषयहरुलाई समेट्दै  विधानलाई सहयोग पुर्‍याउनको लागि नियमावलीको पनि व्यवस्था गरिएको छ । 

नेपाली कांग्रेसलाई माया गर्ने इमान्दार कार्यकर्ता, शुभेच्छुक र मतदाताहरुको संख्यामा कमी छैन । उनीहरुको कांग्रेसप्रतिको आस्था चट्टानजस्तै बलियो छ । तर पार्टीभित्र मौलाउँदै गरेको विकृतिप्रति उनीहरु ज्यादै चिन्तित छन् । नेपाली कांग्रेस विशेष गरेर जति पुरानो पुस्तामा लोकप्रिय थियो त्यति नयाँ पुस्तामा नदेखिएकोले अब पार्टीले कसरी नयाँ पुस्तालाई आकर्षण गर्न सकिन्छ भन्नेबारे सोच्नु जरुरी छ । 

यसरी सरसर्ती हेर्दा के बुझिन्छ भने नेपाली कांग्रेस आफ्नो मौलिक सम्पत्तिहरुले असाध्यै धनी छ । तर सँगसँगै यी सम्पत्तिहरुले मार्गदर्शन गरेका मूल्य र मान्यताहरुलाई पार्टीले  बिस्तारै बिस्तारै बिर्सँदै गैरहेको पनि देखिन्छ । पार्टीभित्र मूल्य मान्यता हराउँदै गयो भने अनुशासनको खडेरी लाग्छ । न पार्टीले कारबाही गर्न सक्छ न कुनै नेता कार्यकर्ता कारबाहीको छडीबाट डराउँछ । जसले गर्दा पार्टीको छवि पनि बिग्रँदै जाने र पार्टीले निर्वाचनमा आफ्नो पकड पनि गुमाउँदै जाने हुन्छ । 

त्यसकारण अब नेतृत्व पंक्तिमा रहेका नेताहरुले यो यथार्थलाई बेलैमा मनन गरी पुराना मूल्य मान्यताहरुलाई जगेर्ना गर्दै आवश्यक परे नयाँ मूल्य मान्यताहरु कसरी स्थापित गर्न सकिन्छ भन्ने बारेमा सोच्न जरुरी छ । नेतृत्वले म जता हिँड्छु त्यतै मेरो बाटो भन्न थाल्यो भने अवश्य पनि एकदिन पार्टी रुपी गाडी दुर्घटनामा पर्नेछ ।  विना मूल्य मान्यता पार्टी चल्न सक्दैन । मूल्य मान्यता भएन भने त्यो पार्टी नभएर सत्ता स्वार्थले भरिएको एउटा जत्था मात्र बन्दछ । त्यो जत्थाले निर्वाचन पनि जित्ला, तर निर्वाचनमा जितेपछि कुन सिद्धान्त लागू गर्ने हो त्यो थाहा हुँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ