उपत्यकामा वर्षकै जाडो दिन : भोलीदेखि झन् चिसो हुने !
प्रकाशित २०७५ मंसिर २३ आइतबार
342
Shares
काठमाडौ। यो वर्षको हिउँद लागेपछि आजको दिन सबभन्दा चिसो भएको छ। आज बिहान उपत्यकाको तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियसमा झरेको छ। दिनानुदिन तापक्रम घट्दै जाने क्रममा उपत्यकामा आज बिहान पौने ६ बजेको तापक्रम् ४ दशमलब ४ डिग्री सेल्सियसमा झरेको हो।
जल तथा मौसम बिज्ञान बिभागका अनुसार हिजो यही समयमा ५ दशमलब २ र अस्ति ५ दशमलब ५ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम घट्दै गएको छ। आज देशभर मौसम सफा रहेपनि पहाडी भेगमा आंशिक बदलिको संभावना छ। पूर्वी र पश्चिमी पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना देखिन्छ। राति देशका पहाडी भू७भागमा आंशिक बदलि रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ।
हिउँ पर्ने सम्भावना के छ ?
भोली बेलुकादेखि पश्चिममा पानी पार्ने बादलको बिकास हुने भएकाले छिटफुट तथा हल्का बर्षा हुने प्रणाली भित्रने मौसमबिद सुबास रिमालले जानकारी दिए। पानी पर्ने क्रम शुरु भएसंगै चिसो झनै बढने उनले बताए। अब तापक्रम घट्ने क्रम निरन्तर रहने पनि उनले बताए। पश्चिमी बायुको कारणले उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने सम्भावना छ।
बिगतका बर्षमा भन्दा यसपाली छिटै चिसो भित्रिएको छ। यसपाली कार्तिक अन्तिमदेखि जाडो बढेको हो। गएको बर्ष उपत्यकामा डिसेम्बर महिनामा शुन्य डिग्रीसम्म तापक्रम घटेको थियो भने डिसेम्बर महिनामा उपत्यकामा माइनस २ डिग्रीसम्म तापक्रम घटेको रेकर्ड मौसम बिज्ञान बिभागसँग छ।
उपत्यकामा तत्काल हिउँ पर्ने सम्भावना भने नरहेको मौसमबिद समिर श्रेष्ठले बताए। हिउँ पर्नका लागि हावामा पर्याप्त जलवाष्प हुनुपर्ने, पश्चिमी वायु मध्य क्षेत्रमा आइपुग्नुपर्छ। तर यी कुनै पनि अबस्था अहिले नभएकाले उपत्यकामा हिउँ पर्ने सम्भावना नरहेको मौसमबिदले बताएका छन्।