‘सरकारको गलत कामले कांग्रेस रन्थनिएको छ, साँझसम्म सबै प्रस्ताव सर्वसम्मत पारित हुन्छन्’
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
516
Shares
काठमाडौं । नेपाली काङ्ग्रेसको शुक्रबारदेखि हुने महासमिति बैठकको पूर्वसन्ध्यामा अहिलेसम्म आर्थिक प्रस्ताव बाहेक अन्य प्रस्ताव पारित हुन सकेको अवस्था छैन । केन्द्रीय समिति बैककले सबै प्रस्तावलाई सर्वसम्मतिले पारित गरी महासमिति बैठकमा एकताको सन्देश लिएर जाने नेताहरुले बताइरहँदा अहिलेसम्म प्रस्ताव पारित नहुनु दुःखद पक्ष हो ।
महासमितिको तयारी अन्तिम चरणमा पुग्दा केन्द्रीय समिति बैठकले आर्थिक प्रस्तावबाहेक अरु कुनै प्रस्ताव पारित गर्न सकेको छैन । सबैभन्दा बढी किचलो सङ्घीयता अनुसार पार्टीको विधानको प्रस्तावलाई पारित गर्नु चुनौतीपूर्ण देखिएको छ ।
महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो। समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगको जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो।
यस्तै अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) को संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो।
‘सरकारको गलत कामले कांग्रेस रन्थनिएको छ, साँझसम्म सबै प्रस्ताव सर्वसम्मत पारित हुन्छन्’ – चन्द्र भण्डारी
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारको गलत कामले कांग्रेस रन्थनिएको भन्दै बिहीबार साँझसम्म सबै प्रस्ताव सर्वसम्मत पारित हुने बताए ।
हाम्राकुरासंग उनले भने, ‘सरकारले काम गरेको छैन, गरेका काम पनि गलत छन्, अब काँग्रेसले प्रतिकार नगरी नहुने अवस्था छ, यो अवस्थामा काँग्रेस एक ढिक्का हुनैपर्छ । तसर्थ पार्टीका आन्तरिक समस्या समाधान हुन्छन् ।’
उनले अगाडि थपे, ‘धेरै केन्द्रीय सदस्यहरुको झगडा गर्ने मुड नभएको मैले पाएको छु, तसर्थ साँझसम्ममा बाँकी रहेका प्रस्ताव सर्वसम्मत पारित हुनेछन् ।’
उनले विधानमा देखिएको किचलो पनि मिल्ने दावी गरे । कथंकदाचित अन्तिममा आएर विधानमा सर्वसम्मत हुन नसके मिलेका विषयलाई समेटेर अगाडि बढ्ने पनि जनाए ।
विधान मस्यौदाका सम्बन्धमा मङ्सिर १३ देखि केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेको छैन।
विशेषगरी पदाधिकारी सङ्ख्या बढाउने–नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ। आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ।
महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब १,४०० सहभागी हुने पार्टी कार्यालयले जनाएको छ।