राँझा । नेपालगञ्ज हुँदै अवैध रुपमा भारततर्फ चोरी निकासी गर्न राखिएको ठूलो परिमाणको कालो मरिच प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र जमुनाहगाउँ पछाडि लुकाइराखिएको अवस्थामा एक हजार २०५ केजी कालो मरीच बरामद भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए।
बरामद भएको कालो मरीचको बजार मूल्य रु चार लाख ८२ हजार बराबर छ । मरिच आज नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक डाँगीले बताए। सोही ठाउँबाट प्रहरीले लेडिज फाउण्डेशन क्रिम छ पेटी बरामद गरेको छ । यसको बजार मूल्य रु एक लाख ६८ हजार बराबर छ । अवैध चोरी निकासी नियन्त्रण गर्नका लागि वडा प्रहरी कार्यालयले मोबाइल गस्ती टोली परिचालन गरेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।
खाद्य मेला
पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म यहाँस्थित रामलीला मैदानमा मेला चलेको हो । पश्चिम नेपालमा पाइने पोषिला खाद्यवस्तु र उत्पादित खाद्यान्नबाट तयार पारिने खाद्य पदार्थको प्रचारप्रसारका साथै बजारीकरण गर्न मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्स्ना श्रेष्ठले बताए ।
मेलामा साविक मध्यपश्चिमका विभिन्न जातजातिको मौलिक परम्परागत पोषणयुक्त खाद्यपदार्थ, स्थानीय उद्योगबाट उत्पादित खाद्यवस्तु तथा बिक्री कक्ष गरी ६० कक्ष छन् । रासस