बिप्लव, किराती, मोहन बिक्रम एक भएर सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्छौ : बैद्य
शरद रेग्मी,
प्रकाशित २०७५ पुष २ सोमबार
359
Shares
तुलसीपुर। नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य‘किरण’ले सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्ने बताएका छन् । त्यसका लागि बिप्लव, किराती, मोहन बिक्रमलगायतसंग छलफल भईरहेको बताए ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने‘कुराकानी भईरहेको छ, टुट्न केही सजिलो भएपनि एकता गर्न केही कठिनाई हुन्छन्, तर एकपटक सच्चा कम्युनिष्टहरु एक हुन्छौं ।’ उनले पुर्व एमाले र माओवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् ।
महासचिव बैद्यले यो एकता सत्ताका लागि मात्रै भएकाले लामो समय नटिक्ने बताए । ‘यो एकता सत्ताका लागि मात्रै हो, कम्युनिष्ट एकता होईन्’ उनले भने‘ यो लामो समय टिक्दैन् ।’ सैदान्तिक रुपमा एकता नभई चुनाब जित्नलाई मात्रै गरिएको उनको भनाई छ ।
उनले सरकारले नौ महिनासम्म पनि कुनै पनि उदाहरणीय काम गर्न नसकेको समेत आरोप लगाए । साथै भारतले नेपालको सिमा मिच्दा पनि सरकारले केही पहल नथालेको आरोप लगाए । दुईतिहाईको बलियो सरकार निर्माण हुँदा पनि नौ महिनासम्म केही काम गर्न नसकेको भन्दै आफुहरुले संघर्षका कार्यक्रम अघि सारेको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण क्लवका महासचिब बिमल गौतमले गरेका थिए ।