निर्मलाकाण्डको प्रतिवेदन धीरु बस्न्यातको समितिले बुझायो, के छ ४६० पृष्ठ लामो प्रतिवेदनमा ?
‘आफ्ना मान्छे हुन्’ भनेको र उक्त अडियो टेपसमेत प्रतिवेदनमा
प्रकाशित २०७५ पुष ३ मंगलबार
321
Shares
काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले समितिले प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका–२ की निर्मला पन्त सोही नगरपालिका १८ स्थित उखुबारीमा गत साउन ११ गते मृतावस्थामा फेला परेकी थिइन् ।
सो घटना सम्बन्धमा अनुसन्धान र सोमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिकाको विषयमा छानबिन गरी रायसुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न गत भदौ ३१ गते उक्त समिति गठन गरिएको थियो ।
बस्न्यातको टोलीले ४६० पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा अनुसन्धानका क्रममा ३६ जनालाई नियन्त्रणमा लिएको र तीमध्ये ८ जनाले ‘पोलीग्राफी टेस्ट’मा झुटो बोलेको उल्लेख छ ।
प्रतिवेदनमा निर्मलाको हत्या भएको २४ दिनपछि घटनास्थलमा नक्कली प्रमाणहरु राखिएको, कन्चनपुरका तत्कालीन डीएसपी अंगुर जिसीले पोलीग्राफी टेस्ट गर्न नमानेको र अनुसन्धानकैक्रममा एआइजी धीरु बस्नेतलाई टेलिफोनमार्फत् धम्की दिएकोसमेत उल्लेख गरिएको उच्च स्रोतले बताएको छ ।
टेलिफोनबाट धम्की दिने व्यक्तिले छानबिन समितिमा रहेका दुईजना सदस्यको नाम लिँदै उनीहरु ‘आफ्ना मान्छे हुन्’ भनेको र उक्त अडियो टेपसमेत प्रतिवेदनमा समेटिएको बुझिएको छ ।
अनुसन्धान टोलीमा ११ जना सदस्य रहेकामा प्रवक्ता सुवेदी र एसपी डा गणेश रेग्मीले प्रतिवेदनमा हस्ताक्षर नगरेको पनि उच्च स्रोतले जनाएको छ ।
टोलीमा बस्न्यातसहित सुवेदी, डा रेग्मी, निरजबहादुर शाही, रमेश थापा, सन्तोष आचार्य, ज्ञानेन्द्रबहादुर बस्नेत, दधिराम न्यौपाने, कौशलकुमार बुढाथोकी, दीपककुमार कार्की र सुमन थापा रहेका छन् ।