इसाई धर्म अवलम्बन गरेका पूर्वप्रम गिरिको हिन्दू संस्कारबाट अन्त्येष्टि गरिने
प्रकाशित २०७५ पुष ४ बुधबार
845
Shares
काठमाडौं । मंगलबार निधन भएका पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको बुधबार दिउँसो ३ बजे पशुपति क्षेत्रमा रहेको विद्युतीय शब दाह गृहमा दाह संस्कार गरिने भएके छ । मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार कलेजोमा क्यान्सर लागेका उनको केही दिनअघिसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । अन्तिम अवस्थामा पुगेपछि उनलाई घरमा ल्याइएको थियो । सोही क्रममै उनको निधन भएको थियो । पञ्चायत कालमा उनी पटकपटक प्रधानमन्त्री भएका थिए । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले शाहीकाल लगाउँदा उनी मन्त्रिपरिषदका उपाध्यक्ष भएका थिए ।
शाही शासनकालमा राज्य सत्तामा पुगेका उनी धर्मको हिसावले भने इसाई धर्ममा आस्था राख्ने व्यक्ति हुन् । श्रीमती साराह योन्जनसँग विवाह गरेपछि उनी यो धर्ममा लागेका हुन् । परिवार श्रोतका अनुसार उनले इसार्इ धर्मको ‘जेवुहा विटनेस’ सम्प्रदाय अङ्गालेका थिए। सराहसँगको विवाहपछि गिरीले योञ्जनको परिवारले मान्दै आएको सो धर्म मानेका हुन् ।
तर, अन्त्यमा भने उनलाई हिन्दू संस्कार अनुसार दाहसंस्कार गर्न लागिएको छ । राप्रपा नेता राजाराम वर्ताैलाले दिउँसो ३ बजे उनको दाहसंस्कारको लागि दाहसंस्कार गृहमा फारम समेत भरिसकिएको जानकारी दिए। उनको किरीया कर्म गरिन्छ या गरिँदैन भन्नेबारे भने आफूलार्इ जानकारी नभएको वर्तौलाले जानकारी दिए ।
इसाई संस्कृति अनुसार शवलाई गाड्ने गरिन्छ । तर, उनको शव चलाउने भनेपछि यो हिन्दू संस्कार नै भएको नेता वर्ताैलाले जानकारी दिए । उनले जेवुहा विटनेस भन्ने सम्प्रदाय इसाईको नै हो भन्ने आफूलाई नलागेको जानकारी दिए । तर, उनको शवलाई सोही ढंगको बाकसमा समेत राखिएको छ । उनले मर्नु अघि आफूलाई तामझाम नगरी सामान्य पाराले अन्त्येष्टि गर्न सुझाव दिएका थिए ।