arrow

चिनियाँ कब्जामा ठमेल, पलपलमा रुन्छन् व्यवसायी र घरधनी

त्रसित छन् व्यवसायी, हतारमा गल्ती गरी फुर्सद्मा पछुताउँछन् घरधनी

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ पुष ५ बिहिबार
we_chat_ali_pay.jpg

काठमाडौं। कुनै समय सुमधुर नेपाली लोकभाकाको धूनले गुञ्जायमान हुने ठमेलका पश्मिना पसलहरुमा अहिले लोकभाकाको रौनक कम भएको छ। चिनियाँको चाईचुईसँगै त्रसित मानसिकताले उनीहरुको पाईला हेर्न पुग्ने नेपाली व्यवसायीहरुदेखि हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने घरधनीहरु समेत चिनियाँ व्यवसायीको ठमेल प्रवेशसँगै त्रसित बन्ने गरेका छन्। 

व्यवसायी र घरधनीको पीडा आ आफ्नै छन् र दुबैका पीडाहरु एकआपसमा भिन्न पनि छन्। चिनियाँको औपनिवेशिक व्यापार शैलीको शिकार बनेका नेपाली र अन्य देशका व्यवसायीहरु समेत मनैमा आफ्नो पीडा गुम्साएर बस्न बाध्य छन्। पहिलो त कानूनी उपचार खोज्नको लागि कानूनी रुपमा उनीहरु सबै प्रक्रिया पुर्‍याएर आएका हुन्छन्।

दूतावास मार्फत् नेपाल सरकारबाट स्वीकृति लिएर नै ठमेल प्रवेश गर्नेहरुका घरभाडा बापतको रकम जति भनेपनि महंगो भयो नभन्ने गरेकोले सबै घरधनीहरु उनीहरुलार्इ नै घरभाडा दिन चाहन्छन्। जसका कारण नेपाली व्यवसायीहरुले यहाँ घरभाडा पाउनै मुस्किल रहेको गुनासो आउनेगरेको छ । तर, त्यही चिनियाँहरुलाई घरभाडा दिने नेपालीहरु पनि भाडामा दिएपछि पुर्पुरोमा हात लगाएर आफैंलाई धिक्कार्न बाध्य भएको सुनाउँछन् । व्यवसायीहरु भन्छन् 'हामी जति भन्यो त्यति घरभाडा तिर्न सक्दैनौं । जसले गर्दा ढिलो चाँडो हामीहरु यहाँबाट विस्थापित हुने त निश्चित जस्तै भईसक्यो ।' 

एक नेपाली व्यवसायी भन्छन् 'हामीहरुको त्रसित नजरले हेर्ने ती चिनियाँ पाईलाहरु जब बालुवाटार(जहाँ चिनियाँ दूतावास छ)मा प्रवेश गर्छन् । त्यसपछि हाम्रो मन कहिलै स्थिर रहन सक्दैन । कहिले विस्थापित हुनुपर्ने हो ? भन्ने चिन्ताले सताईरहन्छ ।' सोही बालुवाटारमा पहिलो पाईला राख्ने चिनियाँ व्यवसायीहरुको पाईला बढ्दै जाँदा अहिले ठमेलको केही क्षेत्र 'चिनियाँ मार्केट' बनिसकेको छ । 

लक्ष नै 'चिनियाँ मार्केट' 
ठमेलको सञ्चयकोषबाट ज्याठा जाने सडक अहिले अघोषित रुपमा 'चिनियाँ मार्केट' बनिसकेको छ । जहाँ गैरचिनियाँहरुलाई काम गर्न एकदमै असहज भईरहेको छ । यो ठाउँलाई चिनियाँहरु घोषित रुपमा नै चिनियाँ मार्केटको रुपमा विकास गराउन चाहन्छन् । ताकि आफ्ना जस्तासुकै राम्रा नराम्रा कामबारे अरुलाई जानकारी नहोस् ।  घोषित रुपमा 'चिनियाँ मार्केट' भनेर लेख्नको लागि सरकारको समेत स्वीकृति चाहिने भएकोले उनीहरु मन्त्रालयको ढोका समेत ढक्ढकाउन पुगिसकेका छन् । सरकारले पनि के देख्यो कुन्नी ठमेललाई घोषित रुपमा नै चिनियाँ मार्केट बनाउने प्रस्तावलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेसम्म स्वीकृति दिईसकेको छैन । मन्त्रालयले स्वीकृति दिएको थियो भने यतिबेला घोषित रुपमा नै त्यो क्षेत्र चिनियाँ व्यवसायीको कब्जामा पुगिसकेको हुन्थ्यो । तर, सरकारले स्वीकृति नदिएपनि अघोषित रुपमा भने यो क्षेत्र चिनियाँहरुको कब्जामा गईसकेको छ । समग्रमा भन्दा केही नेपाली व्यवसायीहरु समेत अहिले चिनियाँ शैली र भाषामा व्यवसायबारे 'ब्रिफीङ' दिन बाध्य छन् । उनीहरु चिनियाँ शैलीमा नबदलिए त्यहाँ टिक्न सक्ने स्थितीमा देखिँदैनन् ।

उक्त सडकलाई 'चाइना टाउन’ नाम दिनु पर्ने मागलाई चिनियाँहरुले अझै पनि सुस्ताउन भने दिएका छैनन् । मन्त्रालयका अनुसार समय समयमा उनीहरु अझैपनि त्यो माग दिएर मन्त्रालय पुगिरहन्छन् । उक्त सडकमा चिनियाँ कलाकृति झल्किने द्वारहरु बनाउन पनि चिनियाँ  व्यवसायीहरुको कसरत लामै समयदेखि चलिरहेको छ । स्थानीय र नेपाली व्यवसायीहरुको अडानका कारण उक्त कार्य अघि बढ्न नसकेको स्थानीय रमेश शाक्यले बताए । उनीहरु ठमेल कब्जा गरेर आफ्नो अनुकूल व्यवसाय मात्र गर्ने रणनीतिमा लागेको देख्न सकिन्छ। विश्वका पर्यटकहरु माझ परिचित ठमेल चिनियाँ कब्जामा गयो भने यसले नेपाली पर्यटन उद्योगबारे राम्रो सन्देश नजाने शाक्यको बुझाइ छ । 

उदारीकरणको असर ठमेलमा
आर्थिक उदारीकरणको बाटो लिएपछि नेपालले विश्वलाई आफूकहाँ स्वागत गर्यो । नेपालले सबै देशलार्इ स्वागत गरेको हो । अझ विशेषगरी सरकारले राजश्व बढाउन र निर्यात बढाउनको लागि भनेर उद्योग क्षेत्रलार्इ विशेष महत्व दिएको हो। यसरी सरकारले नेपालमा विदेशीलार्इ व्यवसाय गर्न सहज गरार्इदिएपछि धेरै चिनियाँहरुको आँखा ठमेल माथि पर्‍यो । नेपाली मौलिकपनलाई विश्वमा चिनाउनको लागि महत्वपूर्ण भूमिका खेलेको ठमेलमा चिनियाँ कलाकृति स्थापित भएको दिन नेपालको पर्यटनको लागि कालो दिन हुने बुझाई नेपाली व्यवसायीको छ । खुल्ला बजार नीति अनुसार नेपालले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्तालाई असर पर्ने बाहेक कतैपनि व्यापार व्यवसाय गर्नबाट कसैलाई पनि वञ्चित गर्न पाउँँदैन । यही नीतिको फाईदा उठाउँदै १० वर्षदेखि चिनियाँ व्यवसायीहरुले ठमेलमा आफ्नो व्यवसाय चलाईरहेका छन् । 

सबै क्षेत्रमा चिनियाँ
ज्याठा प्रवेश गरेसँगै हामीले त्यहाँ अनेकानेक व्यवसायहरु देख्न सक्छौं । चिनियाँ भाषामा लेखिएका साईनबोर्ड हेर्दै जाँदा त्यहाँ रेस्टुरेन्ट मात्रै देख्न पाउँदैनौं । त्यो सँगै कार्गो, क्यरियो, पस्मिना,ट्रावल एजेन्सी हुँदै पुस्तक पसलसम्म पनि चिनियाँहरुले नै चलाउँदै आएका छन् । केही नेपालीले चलाएका भएपनि उनीहरु समेत चिनियाँ भाषामा र चिनियाँ शैलीमा नै व्यापार गर्न बाध्य छन् । 'यो बजार पुरै चिनियाँ व्यापारीहरुको हातमा जान लागिसक्यो । अब यहाँ नेपाली मौलिकता होईन चिनियाँ मौलिक सामानहरु विक्री सुरु हुने डर बढ्न थालिसक्यो ।' स्थानीय व्यवसायी रविन थापाको चिन्ता हो यो । 

थापा भन्छन 'ठमेलमा व्यवसाय र व्यापार आफ्नो ठाउँमा छ भने स्थानीय कला-संस्कृतिको स्थान र महत्व अर्कै छन्। नेपाली व्यवसायीहरुले उक्त कला-संस्कृतिको उच्च सम्मान गर्दै आफ्नो व्यापार व्यवसाय चलाएका छन् । तर, चिनियाँ व्यापारीहरुलाई हाम्रो कला-संस्कृतीसँग उति लगाव छैन। उनीहरु पैसा कमाउन आएका हुन् र पैसा कमाउने ध्याउन्न मात्र रहने हुँदा हाम्रो कला-संस्कृतीको के हुन्छ भनेर सोच्ने बेला आएको छ।'

नेपाल विगत लामो समयदेखि पर्यटन प्रधान मुलुक हो र ठमेल पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र पनि हो । विश्वभरीका पर्यटकहरुको आकर्षणको केन्द्रलाई मौलिक बनाई राख्ने या चिनियाँ प्रभावमा पर्ने भन्ने बहस बिस्तारै सुरु हुन थालेको छ। ‘हाम्रो मौलिकता त हामीले नै बचाउने हो र यसमा राज्यले सोच्नु पर्ने हुन्छ । राज्य अग्रसर नभई स्थानीय तहबाट मात्र बिदेशी प्रभाव रोक्न सकिन्न।‘ थापाले भने।

चिनियाँ दूतावासको व्याकअप
ठमेलमा चिनियाँ व्यवसायीहरुसँग नेपाली या अन्य देशका व्यवसायीहरुको सामान्य विवादमा पनि चिनियाँ दूतावासबाट प्रतिनिधिहरु आउने गरेका छन् । यसरी आएका प्रतिनिधिहरु यो विवादलाई त्यही सुल्झाउने तर्फ भन्दा पनि यो विषयलाई मन्त्रालयमा पुर्याएर चिनियाँ व्यवसायीहरुको पक्षपोषण गराई हाल्छन् । तर, नेपाली व्यवसायीहरुको पक्षमा बोल्ने कसले ? उनीहरु लाचार भएर अरुको गल्तीमा पनि लज्जित हुनु परेको नेपाली व्यवसायीहरुको गुनासो छ । यसरी चिनियाँ दूतावासको पूरा सहयोग पाउने भएपछि उनीहरु कानून मिचेर व्यवहार गर्न पनि डराउने गरेका छैनन् । 

ठमेल क्षेत्रमा मात्र चिनियाँहरुको लगानीमा सयौं रेष्ट्रेन्ट र धेरै होटलहरु खुलेका छन्। पुराना नेपाली होटल र रेष्टुरेन्टहरुको नाम परिवर्तन गर्दै चिनियाँ नाम राखिन थालेका छन्। उदाहरणका लागि पिरामिड होटलको नाम फिनिक्स भएको छ भने पिसाङ होटल चेङ्दु भएको छ।

होटल, रेष्टुरेन्ट र अन्य पर्यटन व्यवसायमा कति चिनियाँ लगानी छ भन्ने यकिन तथ्याङ भने छैन । तर चिनियाँ लगानी भने दिनानुदिन बढिरहेको छ। २०४९ सालमा नेपालमा पहिलोपटक विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन आएपछि हाल झण्डै चार सय व्यवसायहरू चिनियाँ लगानीमा दर्ता भएका छन् । त्यसमध्ये अधिकांश चिनियाँ लगानी ठमेल वरपर केन्द्रीत भएका छन्। पछिल्लो समय चिनियाँ पर्यटकहरुको समेत भारी वृद्धि भएकोले पनि यहाँ चिनियाँ व्यवसायीहरुको चहलपहल बढेको हो । 

चिनियाँ व्यवसायीहरुले ठमेलमा रहेका घर-पसलहरु बढी मुल्यमा लिने गरेकोले पनि अरु व्यवसायीहरु पलयन हुने डरले सताइरहने बताउँछन्। या त चिनियाँ व्यवसायीसँग मिल्नु पर्‍यो या अन्तै व्यापार गर्नु पर्ने स्थिती आएको पस्मिना व्यापारी रमेश अधिकारी बताउँछन्।

घरबेटीहरु समेत पीडित
ठमेलमा चिनियाँहरुको दबदबाबाट व्यवसायीहरु मात्र पीडित भएका छैनन् । त्यो भन्दा बढी त घरबेटीहरु पनि पीडित छन् । फरक यत्ति हो कि व्यवसायीहरु आफ्नो सोझोपनले भने घरधनीहरु आफ्नै चलाखीपनले । चिनियाँहरुले घरवेटीहरुलाई बढी पैसाको लोभ देखाउने तर करारमा भने थौरै मुल्य राख्ने गरेका छन् । यसो गर्दा घरभाडा कर पनि कम तिरे हुने देखेपछि घरबेटीहरु पनि चतुर चिनियाँ व्यवसायीको चंगुलमा फस्न बाध्य हुने गरेको पाईएको हो । यसरी करको विषय देखाएर उनीहरु आफैं पनि थोरैमा करार गर्न लगाउँछन् । दुई तीन वर्षको लागि गरिएको सम्झौतामा करारमा लेखिए बमोजिम मात्रै कर तिरेपछि ठमेलका झण्डै आधा दर्जन घरधनीहरु अहिले पलपलमा रुन बाध्य भएका छन् । यो संख्या अझ बढी हुनसक्ने नेपाली व्यवसायीहरु बताउँछन् ।

अधिकारी भन्छन् 'तीन लाख मासिकदिनेगरी मौखिक सहमती गरेर एक चिनियाँले घरधनीसँग सहमती गरेछ । कर बचाउनकै लागि दुबै पक्ष मिलेर करार गर्दा १ लाख रुपैयाँ लेखिएछ । पहिलो तीन महिनाको त अग्रिम भुक्तानी भएकोले तीन लाख नै उठाए । तर चौथो महिनादेखि घरधनीलार्इ करार बमोजिम १ लाखको दरमा भाडा तिर्न थालेपछि घरबेटीहरु सम्झिसम्झि रुने गरेका छन् । उनीहरु सम्झौता अवधी भन्दा अघि उनीहरुलाई हटाउन पनि सक्दैनन् र उनीहरुसँग थप पैसा लिन पनि सक्दैनन् । यस्तो केही दबाब दिईयो भने सीधै चिनियाँ दूताबासबाट मान्छे आईहाल्छन् ।'

सरकारलाई ठग्ने पनि चिनियाँ व्यवसायी नै
ठमेलमा व्यवसाय गरिरहेका चिनियाँ व्यापारीहरु विदेशी मुद्राको कालो धन्दामा संग्लन भएको र नेपालमा गरेको कारोबारको कर भने चिनियाँ सरकारलाई तिर्ने गरेको समाचार त हाम्राकुराले केही समय अघि नै सम्प्रेषण गरिसकेको छ । यसको सरकारी निकायले अहिले छानविन पनि गरिरहेको छ । त्योसँगै उनीहरु बिदेशी पैसा ओसार पसार 'हुण्डी' व्यवसायमा पनि संग्लग्न रहेको पाईएको छ। 

केही वर्ष अगाडि चिनियाँ दम्पती ८८ किलो सुन तस्करीमा रसुवागढीबाट समातिएका थिए। तस्करीमा संग्लग्न दम्पती नागरिक पान विइ मिङ र उनकी पत्नी क्षेत्रपाटीको एक होटेल संचालक समेत रहेको खुलेको थियो। यसैगरी अरु अबैध धन्दामा पनि चिनियाँहरुको संलग्नता हुने गरेको स्थानीय व्यवसायीहरु बताउँछन् । यस्ता अबैध धन्दाहरुको बारेमा पहिले पनि धेरै समाचार आइरहेका थिए भने आइरहने पनि पक्का नै छ । अझ चिनियाँ मार्केट भनेर त्यहाँबाट नेपाली व्यवसायीहरुलार्इ समेत विस्थापित गरियो भने झनै यस्ता अवैध संरचनाहरु बढ्ने आश‌ंका समेत गरिएको छ । 

यो पनि पढ्नुहोस् :

वि च्याट र अलिपे मार्फत् ठगिँदै सरकार, नेपालमा कारोबार चीनमा भुक्तानी 

वि च्याटबाट हुने हुण्डी रोक्न सरकारी सक्रियता, आईआरडी र राष्ट्र बैंकले चाल्यो कदम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ