arrow

वि च्याट र अलिपे मार्फत् ठगिँदै सरकार, नेपालमा कारोबार चीनमा भुक्तानी 

राजश्व उठाउने चीन सरकार, पर्यटकको फोहोरको सम्हाल्ने जिम्मा नेपाल सरकारको काँधमा

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
we_chat_ali_pay.jpg

काठमाडौं। चीनबाट नेपालमा आएर व्यवसाय गरिरहेका र चीनमा कारोबार गर्ने नेपाली व्यवसायी मार्फत् वि च्याट (we-chat) र अलि पे (Ali Pay) मार्फत् ठगि हुने गरेको भेटिएको छ । नेपाल आउने चिनियाँ पर्यटकहरुलार्इ अनलार्इन पेमेन्टको सुविधा दिने नाममा वी च्याट र अलिपेमार्फत् सिधै चीनमा भुक्तानी गरेर नेपाल सरकारलार्इ ठगि गर्ने गरेको भेटिएको हो।

गत असार महिनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ५ वर्षे पर्यटन क्षेत्रको विकास कार्यदिशा तय गर्यो । सो कार्यदिशा अनुसार सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ। त्यस्तै, पर्यटन क्षेत्रको विकास गरी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। 

अर्को तर्फ नेपाल सरकारको बजेटमा पनि पर्यटनबाट रोजगारी र आय आर्जन बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटनको पूर्वाधार निर्माण‚ बजार प्रवर्द्धन र सेवा–सुविधाको विस्तार गर्दै आगामी दुई वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी भिजिट नेपाल २०२० अभियान सञ्चालन गरिने उल्लेख छ। 

तर, सरकारले यस्तो लक्ष्य लिईरहँदा नेपाल आउने चिनियाँ पर्यटकहरुले भने नेपाल सरकारले पाउने पैसा सीधै चीन सरकारको ढुकुटीमा पठाउने गरेको भेटिएको छ । नेपाल आएका अधिकांश चिनियाँ पर्यटकहरुले यहाँ खाएको र बसेको पैसा समेत वि च्याट र अलिपेको माध्यमबाट सिधै चीनमा भुक्तानी गर्न थालेपछि नेपाल सरकारले पाउने कर बापतको रकम सिधै चीन सरकारको ढुकुटीमा जाने भएको हो । 

नेपालमा चिनियाँ पर्यटकहरुलाई आकर्षित गराउने लक्ष्य अनुरुप सरकारले नेपाल आउने चिनियाँहरुलाई ३० दिनसम्मको लागि भिजा फ्रि गरेको छ । पर्यटकहरु नेपाल आउँदा उनीहरुले यहाँ बस्दा गरेको खर्चबाट उठ्ने राजश्व सरकारी खातामा पुग्छ । व्यवसाय कर या सामान किन्दा मूल्य अभिबृद्धि कर पाउने सरकारले पर्यटन क्षेत्रको विस्तारसँगै नेपालीहरुको रोजगारी समेत बढ्ने अवधारणा अनुरुप पर्यटन क्षेत्रको विकासतर्फ धेरै प्रयासहरु गरिरहेको छ । तर, नेपालमा आउने पर्यटकले तिर्ने रकममा नै ठगि हुँदा सरकारले उठाउनु पर्ने कर रकम भने उठाउन सकिरहेको छैन । 

सूचना प्रविधिको विकाससँगै काममा चुस्तता र पारदर्शिताको कारण नेपालीहरु पनि अनलाई पेमेन्टप्रति आकर्षित हुँदै गएका छन् । भुक्तानी प्रक्रियामा आधुनिकीकरण स्वीकार्नको लागि नेपालमा समेत पर्याप्त अनलाईन पेमेन्ट सेवा प्रदायकहरु हुँदाहुँदै अधिकांश चिनियाँ व्यवसायी र चीनसँग कारोवार गरिरहेका नेपाली व्यवसायीहरुले  वि च्याट मार्फत् सरकारलाई ठगि गरिरहेका हुन् । 

यो विषयमा जानकारी प्राप्त भएपछि हाम्राकुराले गरेको स्थलगत रिपोर्टिङका क्रममा ठमेलमा आउने अधिकांश चिनियाँहरुले वि च्याट मार्फत् रेस्टुरेन्टको विल भुक्तानी गर्ने गरेको भेटिएको छ । त्यसो त उनीहरुले यस्तो काम लुकिछिपी पनि गर्ने गरेका छैनन् । ती रेष्टुरेन्टका होडिङबोर्डमा नै स्पष्टसँग वि च्याट मार्फत् भुक्तानी गर्न सकिने उल्लेख गरिएको छ । तर, खुल्लमखुल्ला गरिएको यस्तो कामलाई न त सरकारी अड्डाहरुले देखेका छन् । न त अरु कोही सरोकारवाला निकायहरुले नै ।  

आन्तरिक राजश्व विभागका प्रवक्ता यज्ञ प्रसाद ढुंगेलले वि च्याटबाट भुक्तानी हुने विषयमा आफूहरुलाई जानकारी नभएको जनाएका छन् । उनले यो काम सम्बन्धित आन्तरिक राजश्व कार्यालयहरुलाई दिईएको भन्दै यस विषयमा विभाग अन्तर्गतका कार्यालयहरुबाट कुनैपनि कारबाही अघि नबढाएको जानकारी दिए । 

हाम्राकुराका प्रतिनिधिले चिनियाँहरुद्वारा सञ्चालित केही रेष्टुरेन्ट सञ्चालकहरुलाई यस विषयमा प्रश्न गर्दा उनीहरु निसंकोच वि च्याटबाट विल भुक्तानी गर्न सकिने बताउँछन् । तर, नेपाल राष्ट्रबैंकका अनुसार वि च्याटले नेपालमा अनलाईन पेमेन्ट कारोबार गर्नको लागि स्वीकृति लिएको छैन । राष्ट्रबैंकबाट स्वीकृति नलिएपछि उसले गरेको कारोबार नेपाली खातामा त आउँदै न आउने राष्ट्रबैंकका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार अनलाईन पेमेन्टको लागि कारोबार गर्ने दुबै पक्षको बैंकमा खाता हुनु पर्छ । चिनियाँ पर्यटकहरुको नेपालमा खाता पनि नहुने भएपछि त त्यो निश्चित रुपमा नेपाली बैंकिङ च्यानल भन्दा बाहिर हुने राष्ट्रबैंकका अधिकारीहरु बताउँछन् ।  

सरकारको ढुकुटीमा के घाटा ?
अनलाईन पेमेन्ट सिस्टम यस्तो सिस्टम हो जुन कुनैपनि व्यवसायीको खातामा ग्राहकहरुले सीधै पैसा पठाईदिन सक्छन् । यसमा कार्ड र नगदको झण्झट नहुने भएकोले पनि यो प्रणाली पछिल्लो समय लोकप्रिय बनिरहेको छ । कुनैपनि नेपालमा व्यवसाय गर्ने चिनियाँहरुको चीनमा रहेको बैंक खातामा सीधै पैसा पुग्नेगरी चिनियाँ पर्यटकहरुले भुक्तानी दिने गरेका छन् । यो प्रक्रियाले सबै कारोबार चिनियाँ बैंकमार्र्फत् हुन्छ र त्यसबाट लाग्ने कर पनि चीन सरकारले नै उठाउँछ ।

तर, त्यहि पर्यटकको सुरक्षा र उनीहरुले बसोबासको क्रममा गरेको फोहोर व्यवस्थापनको लागि लाखौं खर्च गर्ने सरकारले भने त्यो कारोबारबाट एक रुपैयाँ पनि पाउने गरेको छैन । यसरी विच्याट र अलिपे दुई माध्यमबाट नेपालमा पैसा तिर्दा पूर्ण आर्थिक कारोवार चीनमा हुने गर्दछ । नेपाली व्यवसायीले चिनियाँ पर्यटकसँग आफ्नो विच्याट वा अलिपेमा पैसा लिँदा चीनलाई नै फाईदा हुने प्रष्ट देखिन्छ । यसरी चिनियाँ पर्यटकको जीवन त सहज भएको छ तर नेपालको पर्यटन व्यवसायले चिनियाँ पर्यटकबाट गर्ने आम्दानी भने न्यून हुन पुगेको ठमेलका व्यवसायीहरु बताउँछन्। 

यसरी चिनियाँ पर्यटकलाई आकर्षित पनि गर्ने र उनीहरुले नेपालमा गर्ने खर्चको भुक्तानी भने सिधै चीनमा गरिँदा नेपाललाई त उनीहरुले गर्ने फोहोर सफा गर्न पनि आफ्नै पैसा खर्च गर्नु पर्ने स्थिती आईसकेको पस्मिना ब्यवसायी कृष्ण अर्यालले गुनासो पोखे।

'सरकारले कडाई गरेको भन्छ तर यसरी पैसा तिर्ने क्रम रोकिएको छैन' अर्याल भन्छन् । 'चीनबाट सामान ल्याउने ब्यापारीहरुको वि च्याट पेमेन्ट अकाउण्ट हुनेहुँदा उनीहरु सामान किन्नका लागि उक्त अकाउण्टमा पैसा जम्मा गराउँछन् र त्यही अकाउण्टबाट चीनमा पैसा तिर्छन। चीनका पर्यटकले उनीहरुकै अकाउण्टमा पैसा तिर्ने हुनाले उनीहरुलाई सामान ल्याउनका लागि पनि यताको बैंक जानै नपर्ने भएको छ' ट्रेकिङ सामान ब्यवसायी तेन्जिङ शेर्पाले बताए। 

यसरी पर्यटकलाई आकर्षित गर्न भिषा शुल्क नलिने र अर्को तर्फ पर्यटकले नेपालमा लिने सेवा/सुविधामा कुनै पनि योगदान नेपाललाई नगर्ने हुँदा नेपालले यसबारेमा एक पटक पुनर्विचार गर्नुपर्ने देखिन्छ । यसरी हुने अनाधिकृत आर्थिक कारोवारलाई कसरी रोक्ने भन्नेमा अर्थ मन्त्रालयले पहल नगरेमा सरकारको चिनियाँ पर्यटक माथिको लगानीको प्रतिफल खासै पाउन नसक्ने स्पष्ट देख्न सकिन्छ । 

हुण्डीको समेत कारोबार

त्यसो त बाहिर अनलाईन पेमेन्टको कारोबार नै गैरकानूनी ढंगले गरिरहेका चिनियाँ व्यवसायीहरुमार्फत् हुण्डी कारोबार समेत हुने गरेको भेटिएको छ । पर्यटकले वि च्याट र अलिपे मार्फतबाट पैसा तिर्ने एउटा आर्थिक कुरा हो भने यही प्लेटफर्म प्रयोग गरेर हुण्डी कारोबार गर्नेहरु पनि सकृय रहेको ठमेलका ब्यवसायीहरुले बताएका छन्। केही चिनियाँ र केही नेपालीहरुले उक्त कारोबार सम्हालिरहेको कुरा श्रोतले बताएको छ। 

हुण्डी कसरी हुन्छ भनेर खोज्दै जाँदा चिनियाँ टुरिष्ट गाईड, चिनियाँ समानको ब्यापार गर्ने ब्यापारीहरुले सजिलै कति पैसा पठाउन पर्ने भनेर सोध्ने गर्दछन्। महाबौद्धमा खरीद गरिने चिनियाँ सामानको लागि धेरै ब्यापारीहरुले हुण्डीमार्फत् पैसा पठाउने गरेको स्वयं व्यवसायीहरुले खुलेर बताउने गरेका छन् । ती व्यवसायीहरु सुरुमा सबै कुरा स्वीकार्छन् र एउटै कुरा विस्तृतमा बुझ्न खोज्दा उनीहरु कुरा टालटुल गर्न तर्फ केन्द्रीत हुने गरेका छन् । 

हुण्डी गर्नका लागि विच्याट वा अलिपेले एकदम सजिलो बनाएका छन्। चिनियाँ सामानको ब्यापार गर्नेहरुले यता नेपालीमा हुण्डी ब्यवसायीलाई पैसा दिन्छन र उता उनीहरुको वि च्याट खातामा पैसा आउँने गर्दछ । यसरी नेपालका लागि गैरकानुनी 'हुण्डी' गर्न पनि विच्याट प्रयोग भैरहेको पाईएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ