काठमाडौँ ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम गरेको बताएका छन् ।
महानिरीक्षक खनालले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी शान्ति सुरक्षा, अपराध अनुसन्धान, प्रशासनिक गतिविधि, तालीम, आर्थिक नियमितता, भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय सम्बन्ध र समुदाय–प्रहरी साझेदारीको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका हुन्।
उनले प्रहरीले भर्खरै ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममा ७४५ स्थानीय तहसँग समझदारी गर्नुका साथै छ हजार २१ वटा विभिन्न किमिसका समिति गठन गरेको जानकारी दिए । “प्रहरीले समुदायसँग मिलेर काम गर्ने उद्देश्यले अगाडि ल्याइएको कार्यक्रमबाट विभिन्न फरार अपराधीसमेत कारवाहीमा परेका छन्”, उनले भने।
प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम लागू गरेपछि २० नाल अवैध हातहतियार, १५ राउण्ड गोली, ७३२ फरार अपराधी पक्राउ, २२५ किलोग्राम गाँजा बरामद, ठूलो मात्रामा घरेलु मदिरासमेत बरामद गरेको छ ।
उनले बिमस्टेक सम्मेलन, एशिया प्यासिफिक सम्मेलन लगायतका ठूला सम्मेलनमा शान्ति सुरक्षाको राम्रो व्यवस्था मिलाइएको बताए। आठ महीनामा ४३ किलोग्राम सुन बरामद, विभिन्न घटनामा एक हजार ८२६ जनालाई मुद्दा दर्ता, १५२ नाल हतियार, २८३ राउण्ड गोली बरामदसमेत गरेको बताए ।
प्रहरीले अपराध गरेर विदेशमा फरार रहेकालाई १४ वटा रेड नोटिस र १६ वटा डिफ्युजन नोटिस जारी गरी पाँच जनालाई पक्राउ गरेको छ । महानिरीक्षक खनालले मुलुकी अपराध र फौजदारी कार्यविधि संहिता ऐनलाई कार्यान्वयनमा नेपाल प्रहरी लागिरहेको स्पष्ट पारे । सङ्घीय प्रहरी ऐन मस्यौदाको लागि प्रहरीको तर्फबाट राय समेत पेश गरिएको महानिरीक्षक खनालले जानकारी दिए।
प्रहरीले पुराना सवारी साधन लिलाम तथा नयाँ खरीद प्रक्रियालाई अगाडि बढाएको छ । प्रहरी कारवाहीलाई प्रभावकारी तथा मानव अधिकारमैत्री बनाउन सातवटा ‘वाटर क्यानन’ खरीद कार्यलाई अगाडि बढाउनुका साथै मोटरसाइकल तथा सवारी साधन खरीद गरेको छ ।
सातै प्रदेशमा प्रदेश कार्यालय तथा तालीम केन्द्र स्थापनाका लागि सबै प्रदेशमा जग्गासमेत प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरकारको बजेटबाट १७, डिएफआइडी परियोजनाबाट २० र एडीवीको सहयोगमा ८ जिल्लामा नयाँ भवन निर्माण भएको प्रहरीले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापना मिसन कार्यालयमा महिला कर्मचारी सहभागी सङ्ख्या २० प्रतिशत पुर्याउने प्रतिबद्धतासमेत भएको महानिरीक्षक खनालले बताए । केही महिना पहिला बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई खोज्न प्रहरी इमान्दार प्रयासका साथ लागिरहेको उनले बताए । “हामीले घटनालाई विभिन्न पाटोबाट अध्ययन गरिरहेका छौँ, कानूनले कसैलाई ठूलो र सानो भन्दैन, एकदिन अपराधी पत्ता लागेरै छाड्छ”,महानिरीक्षक खनालले भने ।