काठमाडौँ। गृह मन्त्रालयले आज पर्सामा भएको घटनामा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले ४४ सेल अश्रुग्यास प्रयोग गर्दा पनि भीड प्रहरीतर्फ अगाडि बढेपछि बाध्य भई गोली चलाउनु परेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार सो क्रममा भारत विहार पूर्वी चम्पारण रक्सौल वडा नं ११ का २२ वर्षीय आशिषकुमार रामको मृत्यु भएको हो ।
मन्त्रालयले आज बिहान ५:३० बजे नेपाल–भारत सीमाको वीरगन्ज–रक्सौल नाका अवरुद्ध गरी बसेका प्रदर्शनकारीलाई सो ठाउँबाट हटाई नाका खुलाउने क्रममा प्रहरीको तर्फबाट कुनै बल प्रयोग नगरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।
दिउँसो भएको झडपमा आन्दोलनकारीहरुले वीरगन्ज घन्टाघरस्थित टेलिकम कार्यालयमा पेट्रोल बम प्रहार गरी क्षति पुर्याई स्थिति तनाबग्रस्त रहेकाले आज अपराह्न ३ बजेबाट सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका पाँचमध्ये दुई भारतीय छन् ।
मृत्यु भएका भारतीय नागरिक भएको पुष्टि
प्रहरीले प्रहार गरेको गोली लागेर मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि स्थानीय प्रशासनले गरेको छ । नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेट नजिक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच आज दिउँसो भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेमा सीमावर्ती भारतीय सहर रक्सौल– ११ मेनरोडका २० वर्षीय आशिषकुमार राम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो ।
मृतक आशिषकुमारका बुबा अशोक राम र मामा रवि राम नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर शव पहिचान गरेका हुन् । आशिष सामान किन्नका लागि वीरगन्ज गएको उनका परिवार स्रोतले जनाएको छ ।
मृतकको साथबाट दुईवटा भारतीय नम्बरको मोबाइल सेट बरामद गरी सोही फोनबाट आफन्तलाई फोन गरेपछि उनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरे पनि प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्दै साँझ ६ बजेसम्म वीरगन्जका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र प्रदर्शन गरिरहेका छन् ।
अहिले पनि प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । रासस