नगरकोट । भूकम्प गएको छ महिनापछि पनि विदेशी स्वयम्सेवक भूकम्पले भत्काएका सरकारी विद्यालयको भग्नावशेष हटाउन सक्रियतापूर्ण लागिपरेका छन् । भूकम्पले भत्काएको भक्तपुरको सूर्यविनायक नपा–७ नैचालस्थित सरस्वती निम्न माध्यमिक विद्यालयको भग्नावशेष हटाउन उनीहरु लागिपरेका हुन् । भूकम्प जाँदा नेपालमा रहेका उनीहरु नयाँ आशा समाजको सक्रियतामा तत्काल राहत वितरण र उद्धारमा खटिएका थिए ।
भूकम्पपीडितलाई राहत वितरणपछि उनीहरु अहिलेसम्म भूकम्पका भग्नावशेष हटाउन स्वयम्सेवा गरिरहेको समाजका अध्यक्ष श्रीप्रसाद कोजूले बताए । वैशाख १२ गतेको भूकम्पले विद्यालयको पुरानो भवन भत्केपछि नयाँ भवनका कक्षा कोठासमेत अवरुद्ध हुन पुगेको विद्यालयका प्रधानाध्यापक सन्तबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार सरकारले जेठ १७ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि कक्षा कोठा तयार थिएन । तर समाजका नेपाली तथा विदेशी स्वयम्सेवक आफ्नो विद्यालयमा आएर भूकम्पको भग्नावशेष हटाएर कक्षा सञ्चालन सहज बनाएको प्रअ तामाङ बताउँछन् ।
‘कक्षा सञ्चालन नियमित भएपछि फर्केका समाजका स्वयम्सेवक दसैँपछि पुनः बाँकी भग्नावशेष पन्छाउन आएका छन्’– प्रअ तामाङ भन्छन् – ‘भग्नावशेष सबै पन्छाइएपछि त्यहाँ फलामे ट्रसबाट अस्थायी कक्षा कोठा बनाउने योजना छ ।’
समाजले सो विद्यालयका करिब ६० जना विद्यार्थीलाई नयाँ पोसाक, जुत्ता–मोजा र टाई तथा बेल्टसमेत निःशुल्क वितरण गरिसकेको छ । समाजका अध्यक्ष कोजुले आइटेक कम्पनीमार्फत नेपाल आएका विदेशीहरु समाजको आह्वानमा भूकम्पलगत्तै र पछि स्वयम्सेवकको रुपमा परिचालन भएको बताए ।
त्यस्तै नयाँ आशा समाज अमेरिकाका अध्यक्ष निक क्लेटनको पहलमा जम्मा भएको करिब रु ४५ लाखसहित हालसम्म करिब रु ८० लाखको राहत तथा विद्यालय सहयोग कार्यक्रम सञ्चालन गरिसकिएको उहाँले जानकारी दिए ।
‘अहिलेसम्म ४५ जना विदेशी स्वयम्सेवक परिचालन भएका छन् । केही अझै आउने क्रममा छन्’ – उनले भने– ‘उनीहरुलाई समाजद्वारा सञ्चालित विद्यालय सहयोग कार्यक्रमअन्तर्गत विद्यालयको भग्नावशेष हटाउने तथा भूकम्पमा भत्किएका विद्यालय पुनःनिर्माणमा परिचालन गर्छौं ।’
समाजका सचिव सगुनप्रसाद कोजुका अनुसार समाजले सूर्यविनायक नपाकै सन्तकृष्ण निमाविको भूकम्पले भत्काएको नयाँ भवन पुनःनिर्माण प्रक्रियासमेत अघि बढाएको जानकारी दिए ।
उनका अनुसार समाजले कास्कीको हेम्जास्थित गौरीशङ्कर उच्च मावि टाक्रुलाई करिब रु पाँच लाख बराबरको १० वटा कम्प्युटरसमेत सहयोग गरिएको छ । त्यस्तै सोलुखुम्बुका तीनसहित चारजना बालबालिकालाई छात्रवृत्ति सहयोग दिएर विद्यालय पठाइरहेको सचिव कोजुले बताए ।
‘समाजले सोलुखुम्बुका तीनसहित चारजनालाई छात्रवृत्ति सहयोग गरेको छ’ – उनले भने – ‘अहिले विद्यालय शिक्षा लिइरहेका उनीहरुलाई कक्षा १२ सम्म निःशुल्क अध्यापन गर्ने लक्ष्य लिएका छौँ ।’