arrow

साँखु शालीनदीमा स्वस्थानी ब्रत बस्नेहरुले पालना गर्नुपर्ने परम्परागत नियम

logo
पवनलाल श्रेष्ठ,
प्रकाशित २०७५ माघ ५ शनिबार
Madhav_Narayan.jpg

साँखु। नेपालमा स्वस्थानी पूजा र वर्त सांस्कृतिक र परम्परागत रुपमा जोडिएर आएको छ। स्वस्थानी पुस्तकमै बर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधव नारायणको कठोर वर्त र पुजा बस्ने चलन रहिआएको छ। यहि बर्तसँग जोडिएको नियमहरुको बारेमा आज हामी बताउन गइरहेका छौ। 

चिभ्वय् नयेगु २०७५ माघ ६ गते आईतबार जल कायेगु (जल लिने) जल लिएपछि व्रत सुरु भएको मानिनेछ । व्रत सुरु २०७५ माघ ७ गते सोमवार पूर्णिमाबाट हुनेछ। सनातनदेखि चलिआएको यस व्रतका नियमहरु यसप्रकार छन्–
१. सम्पूर्ण व्रतालुको हकमा छुन नहुने विषयहरुः
नुन, माछा, मासु, मरमसला (नाम समेत लिन नहुने)
अन्य पशुपंक्षी तथा जनावरहरु (नाम समेत लिन नहुने)
जुत्ता, मोजा, मगन्तेहरु, रजस्वला भएकी महिलाहरु ।
जुत्ता, चप्पल लगाएका कोहीपनि मान्छेसँग भेटघाट गर्दा नछोईकन कुराकानी गर्ने ।
दुध र पानी बाहेक अन्य कुनै किसिमका पेय पदार्थ सेवन गर्न नहुने ।

२. सम्पूर्ण व्रतालुको हकमा भोजन गर्न हुने वस्तुहरुः
दुध, चामलको भात, घ्यु, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो । भिमा एकादशीको दिनमा दुई पटक व्रत वसिसकेपछि त्यो एक दिन फलाहार गर्ने 
फलफूलमा सुन्तला, उखु, तरुल, पिँडालु तथा दुध मात्र ।

३. सम्पूर्ण व्रतालुहरुले भोजन छोड्नुपर्ने अवस्थाः
भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा अन्य भोजन गर्न बर्जित गरिएका वस्तुहरु आएमा भोजन छोड्नुपर्दछ । यस्तो अवस्थाको लागि पहिल्यै चिउरा, चाकु, घ्यु आदि नजिकै आफूले भ्याउने ठाउँमा राख्ने र अर्कै थालमा बसेको स्थानबाट नउठीकन लिएर खान सकिने छ ।
फाटेको दुध सेवन गर्नु हुँदैन ।
भोजन गर्दागर्दै बीचमा उठ्नु हुँदैन । यदि उठेमा सँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिले समेत भोजन छोड्नुपर्ने हुन्छ र उठिसकेपछि फेरि भोजन गर्नु हुँदैन ।
भोजन पकाउँदा र भोजन गर्दा व्रत नबसेका मानिसहरुले नछुने ठाउँमा बस्ने ।

४. दैनिक व्रत बसिसकेपछि शंखरापुर (साँखु) नगर परिक्रमा गर्ने क्रममा सहस्रधारामा जलसेचन गरिसकेपछि मात्र फेरि चोखो पानी ल्याएर भोजन तयार पारी भोजन गर्ने र सोही दिन भोजन पश्चात् जुठो भाँडा माझ्नुपर्ने ।

५. व्रतालुहरुले केही गर्न नहुने तथा बार्न नहुने विषयहरु ः
गाडी चढ्न नहुने, विरामी भएमा औषधी सेवन गर्न नहुने ।
आफन्तको जुठो, सुतक बार्न नहुने ।
साबुन तथा अन्य कुनै पनि वस्तुहरु छुन तथा प्रयोग गरि नुहाई धुवाई गर्न नहुने ।
गोल तथा अन्य दन्तमञ्जनहरु प्रयोग गर्न नहुने ।
सम्पूर्ण व्रतालुहरुले उपरखुट्टी लगाएर बस्न नहुने साथै मेचमा र खाटमा बस्न नहुने ।
व्रतालुहरुले खुट्टामा लगाउने कुनै पनि गहना लगाउन नहुने ।

६. खीर (तस्मी) भोजन खुवाउने दिनमा सम्पूर्ण व्रतालुहरुले घरमा भोजन गर्न नहुने र सो दिन आफ्नो घरमा चुल्हो समेत बाल्न नहुने । तस्मी खान साँवा गणबाट शंख बजाउँदै आएपछि मात्र शालिनदी परिसरमा जाने । शालिनदीमा तस्मी भोजन गर्ने दिन आफूलाई आवश्यक दुध तताउनु परेमा मकलमा गोलको सहायताले तताएर थर्मस वा भाँडामा राखेर लान सकिन्छ । तर बाटोमा कसैलाई पनि छुन दिनु हुँदैन । घरमा तस्मी भोजन वर्जित छ । माघ शुक्ल नवमीका दिन तस्मी भोजन गराउने परम्परा रही आएको छ । यस पछाडि अन्य भक्तजनहरुले समेत तस्मी भोजन गराउन सक्छन् यसको लागि साँवागण र मूल पुरोहित बाजेसँग सरसल्लाह गर्नुपर्नेछ ।

७. परदेश यात्रामा सबै व्रतालुहरु जम्मा भईसकेपछि साँवा गणबाट श्री माधवनारायणको शंख जल सेचन पछि मात्र भोजन गर्नुपर्ने ।
परदेशमा भोजन गर्ने स्थानहरुः
पशुपतिबाट फर्पिङ्ग जाँदा सानो गौचरणमा
फर्पिङ्गबाट साँखु आउँदा शंखमूलमा
पनौतीबाट साँखु आउँदा भोखुसीमा र
चाँगुबाट साँखु आउँदा साँखुमा ।
(परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यु, चिनी, लप्सी, रातो मुला, अदुवा आदि आफैले व्यवस्था गरेर लानुपर्नेछ ।)
परदेश यात्राका दिनहरु ः
शालिनदीबाट – बज्रयोगिनी ढोकासम्म दुंदनेगु (अष्टाङ्ग दण्डवत गर्दै जाने (२०७५ माघ १९ गते शनिवार)
साँखुबाट बज्रयोगिनी र पशुपति (माघकृष्ण चतुर्दशी (माघ २० गते आईतवार)
पशुपतिबाट फर्पिङ्ग बास – (माघ २१ गते सोमवार)
फर्पिङ्गबाट साँखु बास – (माघ २२ गते मंगलवार)
साँखुबाट पनौति बास – (माघ २५ गते शुक्रवार)
पनौतिबाट साँखु बास – (माघ २६ गते शनिवार)
श्रीपञ्चमी पर्व    – (माघ २७ गते आइतवार)
लगला सप्तमी पर्व    – (माघ २९ गते मंगलवार) माधवनारायण जात्रा
द्रोण नवमी (व्रतालुहरुलाई तस्मी खुवाउने दिन ः फाल्गुण २ गते बिहीवार)
साँखुबाट चाँगुनारायण स्थान – (फाल्गुण ३ गते शुक्रवार) भीमा एकादशी 
चाँगु बाट साँखु     – (फाल्गुण ४ गते शनिवार)
देव निमन्त्रणा    – (फाल्गुण ६ गते सोमवार)
अश्वमेघ यज्ञ (व्रत साङ्गे) – (फाल्गुण ७ गते मंगलवार)
मिगा पूजा – (फाल्गुण ८ गते बुधवार) (व्रतालुहरुले माध गाउने)
महा शिवरात्रि २०७४ फाल्गुण २० गते (व्रतालुहरु जाग्राम बस्ने दिन) सारुक्वलां पूजा

८. स्त्री व्रतालुहरुले पालना गर्नुपर्ने नियमहरुः
स्त्री व्रतालुहरुले बिहान शंखध्वजपछि शालिनदी जानुपर्दछ, साथै पूजाको सामान (धलंपिच्चा) सहित रातो टिका (धलंपटा), रातो ओढ्ने र रातै वस्त्र धारण गर्नुपर्नेछ ।
रजस्वला भएकी महिला व्रतालुहरुले अरु व्रतालुहरुलाई छुन हुँदैन साथै पूजा सामग्री समेत छुन हुँदैन । तर माधवनारायण देवताको स्नान गराउने समयमा छुट्टै स्थानमा बसी अन्य व्रतालुहरुसँगै स्नान गर्ने र व्रत पूजा गर्दा समेत छुट्टै स्थानमा बसेर आफ्नो पछ्यौरामा भगवान सम्झी पूजा गरि नदिमा लगेर सेलाउनु पर्दछ ।
रजस्वला भएकी महिला व्रतालुहरुले चौँथो दिन घरमा नुहाएर शालिनदी जाने शालिनदीमा पुनः नुहाईवरि धलंपुली बाहिर गई साँवागणबाट जलसेचन गरिसकेपछि मात्र शुद्ध हुने परम्परा रही आएको छ । त्यसअघि व्रतपूजा गर्ने जगटीभित्र पस्न निषेध गरिएको छ ।
कुनै पनि महिला व्रतालु वा अन्य व्यक्तिहरु (पुरुष व्रतालु बाहेक) धलंपुलीभित्र पस्न निषेध गरिएको छ ।
रजस्वला भएकी महिला व्रतालुहरुले भोजन गरिसकेका अन्य व्रतालुहरुसँग छोईछिटो भएमा छोईएका अन्य व्रतालुले समेत भोलि बिहन छुट्टै नुहाईवरि साँवागणसँग जल नलिएसम्म अन्य व्रतालुहरुसँग छुट्टै बस्नुपर्दछ । पुरुष व्रतालुहरुको हकमा भने धलंपुली बाहिरै सुत्नुपर्नेछ ।

९. पुरुष व्रतालुहरुले पालना गर्नुपर्ने नियमहरुः
पुरुष व्रतालुहरुले कुनै पनि किसिमका रातो टिका तथा रातो वस्त्र लगाउन पाउने छैनन् ।
नित्य पूजा गर्न अगाडि सम्पूर्ण पुरुष व्रतालुहरुले चन्दनको टिका लगाएको हुनुपर्नेछ ।
माथि उल्लेखित नियमहरु बाहेकका कुनै समस्या आएमा वा आफूलाई विस्तृत जानकारी चाहिएमा मूल पुरोहित, साँवागण र कजि (व्रत नाईके)सँग सोधपूछ गर्नुपर्नेछ ।

परापूर्वकालदेखि चल्दै आएको एवं भगवान विष्णुको आदेशमा माता पार्वतीको आज्ञा अनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षी एवं पाताललोकमा अस्वस्थामा ऋषिलाई पार्वती माताले पठाउनु भएको थियो । किंवदन्ती एवं पुराणको अनुसरण गर्दै अहिलेसम्म पनि यो स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरुप भगवान विष्णुको स्वरुप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखि यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रुपमा चल्दै आईरहेको छ । 

स्वस्थानी माधवनारायण व्रत साङ्गेका दिन चाहिने सामग्रीहरु
सनातनदेखि चलिआएको यस व्रतको साङगेका दिन व्रतालुहरुले व्रत साङ्गे पूजाको लागि निम्न लिखित सामानहरुको व्यवस्था गर्नुपर्नेछ । नियमहरु यसप्रकार छन्–
ताय् (धानको लावा)
आखे १०८ (केलाएको चामल)
जाकी (अक्षता)
ईता (दीप बत्ती)
क्वखं मगागु लः (कागले ननाघेको जल)
पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप)
जजंकाः (देवतालाई लगाईदिने डोरो)
ईता १०८ (दीप बत्ती १०८)
जजंकाः १०८ (डोरो १०८)
पलेस्वां (कमलको फूल)
उफोस्वां (नीलकमलको फूल)
धन स्वां –धन फूल(कन्दर्भ)
कपु स्वां (कर्पुर पाती)
गुण केरा स्वां (गुणकेशरी फूल)
द्वाफो स्वां (वेली फूल) १०८
चाँदीको द्वाफो स्वां (फूल)
सि स्वां (सुनाखरीको फूल)
सिन्हं स्वां (नारायण पाती)
जाई स्वां (जाईको फूल)
ताः स्वां (१०८ प्रकारको फूल)
अन्य सक्ने जत्ति विभिन्न प्रकारको फूल
फलफूल विभिन्न किसिमको
वयर
सेती वयर
खाईसी (तिते अमिलो)
नैक्या (नरिवल)
लकस (पानी अमला)
गुतः (दुवो)
अम्ब (अमला)
जत्ता नैक्या (जत्ताधारी नरिवल)
चिःग्वगु ग्वँय् (सानो सुपारी) ८
तःग्वगु ग्यँय् (ठूलो सुपारी)– १
(विवाहितको महिलाको लागि मात्र)
१०८ टुक्रा सुपारी
पान १०८
वस्त्र १ (होम गर्न लुगाफाटो घीउमा भिजाएर ल्याउने)
पञ्च पलाः (पञ्च पल्लव)
कलं पका (कपडाको ध्वजा)
सा दुरु (गाईको दूध)
सा च्वः (गाईको गहुँत)
गोवर ल्हातय् फयातःगु (गोबर भुइँमा नझर्दै हातमै थापेको)
बेल पत्र
पञ्चरङ्गी मरी (पञ्चरङ्गी रोटी)
तुलसी पत्र
सिदा भाग –५
निस्ला भाग –५
पूजा क्वतः (पूजा थाली)
सिन्हँ म्हू (फुसे्र सिन्दूर सहितको गजुर भएको भाँडो)
त्वादेवा (पानस)
घण्टी (गं चा)
पञ्चरङ्गी धागो (पसुकाः)
पञ्चरङ्गी मोटो धागो (ग्वयँकाः)
कलेगोम्प (माटोको कलश)  कजी/कजिनी/पूरोहित बाजे र माधवनारायणलाई चढाउनै पर्ने साथै आफ्नो परिवारजन ईष्टमित्रलाई फूल प्रसाद बाँड्नुपर्ने हुन्छ आवश्यकता अनुसार कलशको व्यवस्था गर्ने । यही कलश साटफेर गरि मीत लाउन प्रयोग गरिने
तिइ पँ (निगालो) (कपडा राखेर झण्डा बनाउन प्रयोग गरिने) कलस सरह
काकचा पु (सल्लाको बियाँ) (कलस सरह)
सेता कपडा बाला (कलस सरह)
अत्तर बनाई भोगटेमा राखेर लैजाने
सलिंचा आवश्यकता अनुसार
सुकुन्दा गणेश सहितको
पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप)
माथि उल्लेखित सामग्रीहरुबारे नबुझेमा वा आफूलाई विस्तृत जानकारी चाहिएमा मूल पुरोहित, साँवागण र कजि (व्रत नाईके)सँग सोधपूछ गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ