arrow

स्वस्थानी माधवनारायण व्रत बारे केही जानकारी

logo
सुदन राज राजोपाध्याय,
प्रकाशित २०७५ माघ ५ शनिबार
swasthani-madhabnarayan.jpg

साँखु। हिन्दू शास्त्र एवं किम्वदन्ति अनुसार भगवान विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधी ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरुप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो ।

माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) माताको व्रत फलस्वरुप श्री महादेव स्वामी पाईन् र गुरु नारायणको आशिर्वादमा कैलाश पाईन् । सोही अनुरुप अहिलेसम्म गुरु श्रीश्रीश्री माधवनारायण भगवानलाई साक्षी राखि यो व्रत निरन्तररुपमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यस साँखु शालिनदीमा व्रत गरिदै आएको हो।

भगवान विष्णुको आदेशमा माता पार्वतीको आज्ञा अनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मर्त्यलोकमा सप्तर्षी एवं पाताललोकमा अश्वस्थामा ऋषिलाई पार्वती माताले पठाउनु भएको थियो । किंवदन्ती एवं पुराणको अनुसरण गर्दै अहिलेसम्म पनि स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरुप भगवान विष्णुको स्वरुप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखि यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रुपमा चल्दै आईरहेको छ।

यहाँ माधवनारायणको नाम कसरी रहन गयो भन्ने कुरामा ध्यान दिनु जरुरी छ । भगवान नारायण (माधव नारायण)को १२ महिनामा १२ वटै नामबाट पूजा गर्नुपर्छ । शक्ति स्वरुपा माता लक्ष्मीको नाम पनि महिना अनुसार फरक फरकै हुन्छ । जुन तल उल्लेख गरिएको छ–
१ बैशाखमा मधुसुदन नारायण र घृति लक्ष्मी हुन्छ ।
२ जेष्ठमा त्रिविक्रम नारायण र इच्छा लक्ष्मी हुन्छ ।
३ आषाढमा वामन नारायण र महिमा लक्ष्मी हुन्छ ।
४ श्रावणमा श्रीधर नारायण र रति लक्ष्मी हुन्छ ।
५ भाद्रमा ऋषिकेश नारायण र माया लक्ष्मी हुन्छ ।
६ असोजमा पद्मनाभ नारायण र धिमा लक्ष्मी हुन्छ ।
७ कार्तिकमा दामोदर नारायण र महिमा लक्ष्मी हुन्छ ।
८ मंसिर महिनामा केशव नारायण र श्री लक्ष्मी हुन्छ ।
९ पौष महिनामा नारायण र वागिश्वरी लक्ष्मी हुन्छ ।
१० माघ महिनामा माधव नारायण र कान्ति लक्ष्मी हुन्छ ।
११ फाल्गुणमा महिनामा गोविन्द नारायण र क्रिया लक्ष्मी हुन्छ ।
१२ चैत्रमा विष्णु र शान्ति लक्ष्मी हुन्छ ।

साथै पुरुषोत्तम महिनामा नारायणको नाम पुरुषोत्तम र लक्ष्मी माताको नाम श्री लक्ष्मी रहन्छ । माघ महिनामा नारायणको नाम माधव हुने भएकोले माधवनारायणको पूजा गर्ने चलन चलेको हो । तर यस व्रतमा स्वस्थानीको मात्र पूजा नगरि स्वयं भगवान माधवनारायणको पनि व्रत, पूजा, उपासना गरिन्छ। यसको तात्पर्य गुरु ब्रम्हा, गुरु बिष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमब्रम्ह तस्मै श्री गुरुवे नमः हुन जान्छ । यो व्रत अन्य व्रत जस्तो सरल नभई कठिन अवश्य छ । तर स्वस्थानीको व्रतले आफ्नो मनोकांक्षा अवश्य पूरा हुन्छ ।

(राजोपाध्याय स्वस्थानी माधवनारायण मन्दिरका मूल पूजारी हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ