arrow

महासमितिको भावना विपरित नजान शोभाकरले गराए सभापति देउवाको ध्यानाकर्षण, कार्यालयमा गरे पत्र दर्ता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ चैत ६ बुधबार
shobhakar-parajuli.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शोभाकर पराजुलीले काठमाडौंमा सम्पन्न महासमितिको बैठकको भावना विपरित केन्द्रीय समितिको गएको भन्दै त्यसो नगर्न ध्यानाकर्षण गराएका छन्। महासमितिको बैठकको भावना अनुसार पार्टी केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउनुपर्ने निर्णय गर्न पनि पराजुलीले पार्टीको ध्यानाकर्षण गराएका छन्।

महाधिवेशन प्रतिनिधिसमेत रहेका डा पराजुलीले केन्द्रीय कार्यालयका मुख्य सचिव मार्फत पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको पत्रमा लेखिएको छ, ‘महासमितिको बैठकबाट अनुमोदित निर्णयहरु जस्ताको तस्तै अनुशरण गर्न समेत केन्द्रीय कार्यसमिति समक्ष ध्यानाकर्षण गरेको छु’ भनेका छन्।

पराजुलीले गराएको ध्यानाकर्षणको पूर्ण विवरण यस प्रकार रहेको छः

मितिः २०७५/१२/०५

समादरणीय सभापतिज्यू                

नेपाली काँग्रेस, केन्द्रीय कार्यसमिति ।

मार्फत

श्रीमान् मूख्य सचिवज्यू,

नेपाली काँग्रेस, केन्द्रीय कार्यालय

बीपी स्मृति भवन, ललितपुर ।

विषयः नेपाली काँग्रेस महासमितिको बैठकको निर्णय उपर ध्यानाकर्षण गरिएको ।

महोदय,

म नेपाली काँग्रेसको एक कर्मठ सदस्य हुँ । नेपाली काँग्रेसको हरेक आन्दोलनमा अगुवाईको भूमिकामा रहँदै आफूलाई तोकिएको जिम्मेवारी आफ्नो विवेक र क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक बहन गर्दै आइरहेको छु।

नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको स्थापना एवं संरक्षण र सम्बद्र्धनका लागि नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिएको दल नेपाली काँग्रेस हो । यस दलले गरेका हरेक राजनीतिक घटना र नेपालबारे अभिरुचि राख्ने अन्तरराष्ट्रिय समुदायहरु, संघसंस्थाहरु, मित्र राष्ट्रहरु र आम नागरिकहरुले अत्यन्तै उत्सुकताका साथ अवलोकन गरिरहेका छन् ।

हालसालै (केही पहिले) सम्पन्न भएको नेपाली काँग्रेसको महासमितिको बैठकबाट निर्णय भएका अधिकांश निर्णयहरु मध्ये ‘नेपाली काँग्रेसको केन्द्रीय समितिका सबै पदाधिकारी एवं सदस्यहरुले आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउनु पर्नेछ’ भनि निर्णय भएको र मिति २०७५/११/१२   मा बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सो कुरालाई उल्ट्याई ‘नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारी एवं सदस्यहरुले एकपटकका लागि स्वतः महाधिवेशन प्रतिनिधि रहने’ भन्ने प्रावधान राखिएको व्यहोरा निर्णय भएकाले सो कुरा नेपालको संविधान र निर्वाचन ऐनको बर्खिलाप भएको निम्नानुसारको व्यहोरा सविनय निवेदन गर्दछु ।

– नेपालको संविधानको धारा २६९, राजनैतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धमा ऐ।को ४ ९ख० मा राजनीतिक दलको विधानमा कम्तीमा ५ वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनु पर्नेछ ।

– निर्वाचन आयोग ऐन २०६३ को दफा २४ मा राजनैतिक दलको दर्ता खारेज सम्बन्धी व्यवस्था को १९ग० अनुसार ‘संविधान वा निर्वाचन सम्बन्धी प्रचलित कानुन बमोजिम राजनैतिक दल दर्ता गर्न पुरा गर्नु पर्ने शर्त पुरा नगरेमा’ भन्ने व्यवस्था रहेको छ ।

साथै नेपाली काँग्रेसले विगत स्थानीय तह एवं संसदीय निर्वाचनमा निर्वाचन आयोगमा दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई मनोनयन पत्र दर्ता गर्ने औपचारिक पत्र प्रदान गर्न अधिकार पाएका पदाधिकारीको नामथर, पद र निजको दस्तखतको नमूना पठाउँदा केन्द्रीय सदस्यहरुलाई पदाधिकारीको जिम्मेवारी दिइएको थियो । तदनुरुप केन्द्रीय सदस्यहरुलाई पदाधिकारी कायम गरिएको स्पष्ट छ ।

र, समावेशी र समानुपातिक प्रतिनिधित्वका लागि एक व्यक्तिले एकपटक मात्र अवसर पाउनु पर्ने विषय समेत महासमितिको बैठकको विशेष सरोकार भएको एवं सोही बमोजिम निर्णय भएकोमा सबैको ध्यानाकर्षण हुने नै छ भन्नेमा म विश्वस्त छु ।

लोकतन्त्रको पर्यायको रुपमा रहेको हाम्रो गौरवशाली पार्टीको राष्ट्रिय एवं अन्तरराष्ट्रिय साखलाई अर्थात् लोकतन्त्रको मूल्य, मान्यता, आदर्श, यसको विश्वव्यापी सार्वभौम परिभाषा अनुसार संविधानवाद र शक्ति पृथकीकरणको सिद्धान्तप्रतिको अटुट र अटल निष्ठालाई अझ अभिवृद्धि गर्दै यसबारे अविलम्ब पुनर्विचार होस् भन्ने चाहना राख्नुलाई पार्टीप्रतिको बफादारिता नै हो भन्ने मेरो ठहर छ ।

तसर्थ यी माथि उल्लेखित संवैधानिक एवं कानूनी व्यवस्था अनुसार नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु आफ्नो निर्वाचन क्षेत्रबाट वडा तहदेखि नै निर्वाचित भएर मात्र महाधिवेशन प्रतिनिधि हुन सक्ने, केन्द्रीय कोषाध्यक्ष र सबै केन्द्रीय सदस्यहरुलाई पदाधिकारी मानिएकोले उनिहरुसमेत महाधिवेशनबाट निर्वाचनका माध्यमबाट मात्र चयन हुनु पर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाहरुलाई अनुसरण गर्दै सोही बमोजिम महासमितिको बैठकबाट निर्णय भएकोमा उक्त निर्णयलाई केन्द्रीय कार्यसमितिले फेरबदल एवं थपघट गर्न खोजेकोले उक्त कार्य नेपाली काँग्रेसको विधान विपरित समेत भएको देखिएकाले महासमितिको बैठकबाट अनुमोदित निर्णयहरु जस्ताको तस्तै अनुशरण गर्न समेत केन्द्रीय कार्यसमिति समक्ष सादर एवं विनम्र ध्यानाकर्षण गरेको छु । जय नेपाल ।

बोधार्थ तथा कार्यार्थः

– आदरणीय रामचन्द्र पौडेलज्यू,

बरिष्ठ नेता, नेपाली काँग्रेस ।

– आदरणीय विमलेन्द्र निधीज्यू,

उपसभापति, नेपाली काँग्रेस ।

– आदरणीय डा शशांक कोइरालाज्यू,

महामन्त्री, नेपाली काँग्रेस ।

– आदरणीय पूर्ण बहादुर खड्काज्यू,

महामन्त्री, नेपाली काँग्रेस ।

– आदरणीय सीतादेवी यादवज्यू,

कोषाध्यक्ष, नेपाली काँग्रेस ।

– आदरणीय डा प्रकाश शरण महतज्यू,

सहमहामन्त्री, नेपाली काँग्रेस ।

– आदरणीय विश्व प्रकाश शर्माज्यू,

प्रवक्ता, नेपाली काँग्रेस ।

– आदरणीय सम्पूर्ण केन्द्रीय सदस्यज्यूहरु,

नेपाली काँग्रेस ।

आज्ञाकारी एवं कर्तव्यनिष्ठ

डा। शोभाकर पराजुली

जितपुर सिमरा उप मनपा, बारा

महाधिवेशन प्रतिनिधि,

नेपाली काँग्रेस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ