arrow

प्रियंकाको स्विमसुट र ' वृक्ष माता ' थिम्मक्काको खाली खुट्टा

logo
प्रियरंजन दाहाल,
प्रकाशित २०७५ चैत ९ शनिबार
priyaranjan.JPG

यो हप्ता दुइ भिन्न खाले तश्विर सामाजिक संजालमा हेर्न पाइयो । भारतमा पद्मश्री बिजेता १०७ बर्षीय वृद्धाले राष्ट्रपति भवनमा राष्ट्रपतिलाइ आशिर्वाद दिदै गरेको तश्विर सार्वजनिक भयो । पद्मश्री बिजेता सालुमरादा थिम्मक्का खाली खुट्टा राष्ट्रपति भवन पुगेकी थिइन् । जीवनको एउटा मोडमा सन्तान हुन नसकेको पिडामा आत्महत्या गर्ने सोच समेत आएको बताउने  ' वृक्ष माता ' सामान्य सारीमा राष्ट्रपति भवन पुग्दा स्वयम् राष्ट्रपतिले आशिर्वादको लागि टाउको झुकाएका थिए । लगत्तै राष्ट्रपति प्रधानमन्त्री लगायत धेरैले उनको बिषयमा लेखेर सामाजिक संजालमा पोस्ट गरेका थिए ।

अर्को तश्विर नेपालकि चर्चित नायिका प्रियंका कार्कीको इन्डोनेसियाको बालीमा कैद 'अपूर्ण नग्नू तश्विर ' । म नेपाली भाषाको बिशेषज्ञ हैन अर्ध र पुर्ण नग्नताको व्याख्या गर्ने सामर्थ्य पनि राख्दिन । त्यस अर्थमा स्विम सुटको तश्विरलाइ अपूर्ण नग्न भन्न खोजिएको हो । प्रियंका नेपाली सिने जगतकि चर्चित कलाकार हुन् । उनी आफ्नो अभिनय, नृत्यले नै नेपाली चलचित्र क्षेत्रमा स्थापित भएकी कलाकार हुन् । मेरी ८ बर्षकी छोरी फुर्सत हुँदा उनकै नृत्यको भिडियो हेर्छिन र नृत्यको लागि आफ्नो आदर्श मान्छिन । एउटा अठोट बोकेर अमेरिकाबाट नेपाल फर्केकी प्रियंका चर्चित मात्रै हैन प्रभावशाली नारीमा पर्छिन । 

माथि उल्लेख गरिएका दुई पात्र पूर्णरुपले अलग छवि बनाएका पात्र हुन् । तिनलाई हेर्ने दृष्टिकोण एउटै हुन सक्दैन । यी दुवै, पुस्ताको हिसाबले फरक पुस्ताका हुन्, कामको प्रकृतिको हिसाबले फरक चरित्रका हुन् ।यहाँ तिनको बीच तुलना गर्न खोजिएको हैन । राष्ट्रपति भवनमा खाली खुटा सामान्य हरियो सारीमा जाने वा सामाजिक संजालमा स्विमसुटमा तश्विर पोस्ट गर्ने  व्यक्तिगत छनौट हुन् । कसले कस्तो जीवन निर्वाह गर्छ, कस्तो लुगा लगाउँछ वा सामाजिक संजालमा कस्तो तश्विर पोस्ट गर्छ भन्ने व्यक्ति स्वयंले निर्णय गर्ने बिषय हो।

तर आफ्नो क्षेत्रमा श्रम र समर्पणले एउटा स्थान बनाएका र छुट्टै पहिचान बनाएका सेलेब्रेटीहरुलाई त्यस्ता तश्विरहरु खिच्ने र त्यसलाई सामाजिक संजालमा पोस्ट गर्न केले प्रेरित गर्दो रहेछ ? कुन मनोविज्ञानले उनीहरु त्यस्ता तस्विरहरु सार्वजनिक माध्यमहरुमा राख्छन छपाउँछन होला भन्ने कौतुहल भन्ने पक्कै हुन्छ। सामाजिक संजालमा सबैभन्दा लोकप्रिय फुटबल खेलाडी रोनाल्डो हुन् । उनले फुटबलमा त्यो पहिचान बनाउन बर्षौं मेहेनत गर्नुपर्यो । सँगसँगै सामाजिक संजालमा उनका करोडौ फलोवर्स छन् । तर उनका कतिपय तश्विरहरु सामान्य लाग्दैन । दुबईको समुन्द्रमा खिचिएका तश्विरदेखि बुद्धको मुर्तिमा खुट्टा राखेका तश्विरसम्मले चर्चा र उपहास दुवै पाई रहेका हुन्छन । तर उनलाई पछ्याउनेको भिड निरन्तर बढेको छ ।

ईन्स्टाग्राममा लोकप्रिय रहेकी किम कार्डिशिन प्रेमीसंगको शारिरिक सम्बन्धको भिडियो सार्वजनिक भएपछि झन् बढी चर्चामा आइन । अहिले सामाजिक संजालमा धेरै फलोवर्स हुने र त्यसलाई नै माध्यम बनाएर प्रशस्त धन कमाउनेमा उनी पर्छिन ।  सामाजिक संजालको उपयोग सर्वव्यापी छ अझ युवा पुस्ता त्यसको भरपुर प्रयोग गर्नेमा पर्छ ।  त्यो पुस्ताको लागि शारिरीक आकर्षण स्वाभाविक हो । बिज्ञापनको माध्यमका रुपमा प्रयोग गरिदा ' अपूर्ण नग्न ' हुनु र रहरले त्यस्ता तश्विरहरु सामाजिक संजालमा सार्वजनिक गरिनु नितान्त अलग जस्ता लाग्छन । तर आफ्ना फलोवर्सलाइ सामाजिक संजालमा आकर्षित गरिराख्न सेलेब्रेटीहरु आफ्ना सबै खाले तश्विरहरु राख्न तयार देखिन्छन ।

जीवनमा एउटा उमेर हुन्छ शरीरका सम्पूर्ण अंगहरु भरिला र पुष्ट देखिन्छन । जवानीको त्यो रुप र लावण्यलाइ सार्वजनिक गर्ने लालसा सबैमा हुँदो हो तर शायद सामाजिक दबाबले सबैले त्यसलाई सार्वजनिक गर्न सक्दैनन् । धन र चर्चाले ल्याएको आत्मबिश्वासले शायद आफुलाई लागेको काम गर्ने बल दिन्छ । सबै धनाढ्य र चिनिएकाले त्यो साहस जुटाउन सक्छन भन्ने भने पक्कै हैन । चलिआएको सामाजिक परिधिलाई नाघेर आफ्नै घेरा बनाउने सामर्थ्य सबै  धनाढ्य, विद्वानहरुमा हुदैन ।

चर्चा र फलोवार्स बटुल्ने भिडमा मोडेल, कलाकार, नेतादेखि संसारबाट बिरक्तिएर सन्यास लिने सन्यासी, आध्यात्मिक गुरु सबै देखिन्छन । इन्स्टग्राममा पतंजलीका आचार्य बालकृष्ण आफ्ना उत्पादनदेखि फलफुल, तरकारीको उपयोगिता बताई रहेका हुन्छन, इशा फाउन्डेसनका सदगुरु आशीर्वचन सुनाइ रहेका हुन्छन ।पुर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामा पारिवारिक, राजनैतिक र अन्य बिषयमा सहभागी हुँदाको तश्विर सामाजिक संजालमा पोस्ट गर्छिन ।

समुन्द्रको किनारमा वा समुन्द्रमा खिचिएका तश्विर शरीर पुरै ढाकेर खिचिन्न तर त्यो केका लागि सामाजिक संजालमा राखिन्छ भन्ने कौतुहल हो । इलाहाबादको कुम्भ मेलामा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि नुहाउदै गरेको तश्विर सार्वजनिक भयो। उनी आफ्नो कालो कुर्तामा डुबुल्कि मार्न पुगेका थिए। मोदीमा आफ्नो शरीरप्रति आकर्षित गर्ने भन्दा प्रयाग गएको र स्नान गरेको समाचारले महत्व राख्थ्यो। त्यस्तो अपेक्षा फिल्म क्षेत्रका कलाकारबाट गरिदैन। प्रियंका इन्डोनेसिया गएको बिषय उनको दर्शकका लागि महत्व राख्दैन बरु उनको त्यो पोस्ट भएको तश्विरले महत्व राख्छ। त्यसले उनका फ्यान फ़लोवर्सको संख्या बढ्छ ।ग्ल्यामर निश्चित बर्गलाइ हेर्न उत्साहित गर्ने खालको हुनैपर्छ। तर त्यहि अभिनय क्षेत्रमा लागेर स्थापित सबै कलाकारहरुको हकमा लागुहुन्छ भन्ने होइन । कतिपय कलाकार अभिनयकै बलमा आफुलाई स्थापित गर्ने पनि छन्  र सामाजिक संजालमा लोकप्रिय पनि छन्।

सामाजिक जिम्मेवारीको हिसाबले पनि यस्ता तश्विरहरुप्रति भिन्न प्रतिक्रियाहरु आउछन । एउटा सामाजिक अभियन्ता वा राजनीतिक व्यक्तिले त्यस्ता तश्विर स्वयंले बिरलै सार्वजनिक गर्छ कतैबाट त्यस्ता तश्विर सार्वजनिक भएपनि त्यसप्रति नकारात्मक टिप्पणीहरु बढी आउँछन तर त्यहि व्यक्ति अन्य क्षेत्रमा छ भने उसले भिन्न खालको प्रतिक्रिया पाउँछ । प्रियंका कार्की  नै नेपाली राजनीतिमा स्थापित नाम हुँदो हो त उनले इन्स्टाग्राममा त्यस्ता तश्विर राख्न सहज महशुस गर्ने थिइनन । एउटै व्यक्तिको पनि ब्यवसायिक जीवनले उसको सार्वजनिक जीवनलाइ प्रभावित गर्नेरहेछ । आम मान्छेको उसलाई हेर्ने दृष्टिकोण भिन्न हुनेरहेछ ।स्वाभाविक रुपले ति सार्वजनिक व्यक्तिले पनि समाजलाइ उपयोग गर्ने नै भए ' कथाले मागे अनुसार अंग प्रदर्शन गर्छु ' भन्ने  रेडिमेड जवाफ दिने  नेपालि चलचित्रमा एउटा  पुस्ता थियो अहिले अंग प्रदर्शन गरेर कथा निर्माण गर्ने सामर्थ राख्ने नया पुस्ता आएको छ । ७० बर्ष अघि मेरो माइलो बुवाले लेखेको एउटा कबिता सम्झन्छु ।

साँढे कुकुर सडक सडकमा डरै नमानी गर्छन प्यार 

मानिस डरले लुक्नु पर्ने के हो यस्तो अत्याचार 

व्यंगात्मक शैलीमा बिद्रोह मिसिएको यो कबिता आज पनि धेरैलाई सान्दर्भिक लाग्न सक्छ जसले समुन्द्री तटमा नग्न भएर खिचिएको आम भाषामा अश्लिल मानिने तश्विरलाइ अझै पोष्ट गर्न सकिरहेको छैन । 

प्रियंका कार्की र पचास लगभगमा पुगेकी हलिवुड नायिका जेनिफर लोपेजले एकैदिन सार्वजनिक गरेका दुवै तश्विरलाइ पोस्ट गर्दा कस्तो आत्मसन्तुष्टि प्राप्त भयो होला त्यो त तिनलाई नै थाहा होला तर जीवनको कुन उमेरसम्म शरीर ढाक्ने भन्दा खुला गर्ने रहर जाग्ने हो त्यो भने अनुत्तरित नै छ । कथाले मागेर स्विम सुट लगाएकी 'बे वाच ' कि पामेला एण्डर्सनदेखि रहरले स्विम सुट लगाएर ईन्स्टाग्रममा पोस्ट गर्ने प्रियंका कार्कीसम्मलाइ दर्शक भएर हेरिएको छ । पात्रहरु फेरिए दर्शक भएर हामी मनोरंजन लिदै छौ । तिनको उद्देश्य दर्शकलाइ आकर्षित गर्ने मात्रै हो भने पक्कै पनि ति सफल भएका हुन् । तिनको सफलतासंगै प्रियंकाले  जनकपुरमा छात्राका लागि ६ वटा शौचालय बनाएको तश्विर पोस्ट गर्दा चर्चाको लालसा बीच पनि सफा र असल मनहरु भने जीवित हुने रहेछन जस्तो लग्यो । असल मान्छे सुन्दर पनि हुन्छ भन्ने छैन र सुन्दर मान्छे असल नै हुन्छ भन्ने छैन तर सुन्दरता र असल मिसियो भने त्यसले बर्षौ मान्छेको मनमा स्थान पाउँछ ।
लोकप्रिय बन्ने र चर्चामा रहने सर्वथा फरक बिषयहरु हुन् । लोकप्रिय र श्रद्धापुर्वक हेरिने पात्र बन्न ' वृक्षमाता ' सालुमरादा बन्नुपर्छ जसको श्रद्धामा सिंगो देश र विश्व झुक्छ । सधै टाउको छोपेर विश्वलाइ शान्तिको संदेश दिने नोबेल पुरस्कार बिजेता मलाला बन्नुपर्छ ।

माथि उल्लेख गरिएका तश्विरहरु सार्वजनिक गर्दा सबैको एकै खाले मनोबिज्ञान हुन्छ भन्ने पनि छैन । जुन सुकै बिषयहरुमा भिन्न भिन्न तर्क र उद्देश्यहरु हुन सक्छन। हाइ हिल्सको प्रयोग ठूला ठूला कर्पोरेटदेखि लस भेगसमा देखिने बेश्याहरुले समेत प्रयोग गरेको देखिन्छ । कसैका लागि त्यो व्यक्तित्व निर्माणमा सहयोगी देखिएला कसैका लागि कामुक देखिएर ग्राहक आकर्षित गर्नका लागि । यसै बिषयमा प्रश्न गरिदा एक फ्यासन डिजाइनरले भनेका छन्  ' हाइ हिल्सले महिलाको हिडाईको गति कम गर्छ । मलाई महिलाले बिस्तारै हिडेको आकर्षक लाग्छ ।' हाम्रो सामजिक संरचना पनि अचम्मको छ । काम क्रोध, लोभ, मोहबाट बिरक्तिएको सन्यासी नागा बाबा बनेर निर्बस्त्र हिड्छ अर्कोतिर काम क्रोध, लोभ, मोहमा भुलेकाहरु पनि नग्नतामै आकर्षित हुन्छन। बासना रहितका लागि पनि नग्नता प्यारो, बासना सहितका लागि पनि नग्नता प्यारो।

यसै सन्दर्भमा महाभारतका दुई घटना सम्झना आउछन। कृष्णले नुहाउन पोखरी भित्र गएका गोपिनीहरुको लुगा लुकाई दिएको र दुश्शासनले महिनावारी भएर आफ्नै कोठामा बसेकी रानी द्रौपदीलाइ घिसार्दै राजसभामा ल्याएर उनको सारी खोलेको । प्रत्येक गोपिनी कृष्णले आफ्नो लुगा लुकाई दिउन र प्रेम प्रकट गरुन भनेर कामना गर्थे तर दुस्शासनको त्यो कृत्यले पुरा कुरू बंशनै बिनास हुन पुग्यो । नाङ्गिन बाध्य पारिनु र रहरले नाङ्गिनुबीच शायद यहि अन्तर हुनुपर्छ । प्रेम र आकर्षणको लोभमा कृष्णप्रति समर्पित गोपिनीहरुले लुगा फुकालेर पोखरीमा कृष्णलाइ पर्खनु र स्विम सुटमा सजिएर सामाजिक संजालमा आफ्ना फ्यान फलोवर्सको लाइक र कमेंटको अपेक्षा गरिनुमा एउटै मनोबिज्ञानले काम गरको छ वा छैन त महाभारतका रचनाकार ऋषि ब्यासले बताउन सक्लान तर समयक्रमसंगै व्यक्तिगत स्वतन्त्रताको उच्चतम उपयोगमा मान्छे आवरणले मात्रै हैन आचरणले पनि खुला हुन सके संसार खुसिले भरिने थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ