खुल्लामञ्चमा डोजर : डेढ वर्ष अघि पनि भत्काएको १ महिनामै ठडाइएथ्यो अबैध संरचना
प्रकाशित २०७६ वैशाख १४ शनिबार
379
Shares
काठमाडौँ । चर्को जनदबाब पछि खुल्ला मञ्चमा बनेका अतिक्रमित टहराहरु भत्काइएको छ । काठमाडौं टावरको नाममा अस्थाइ रुपमा बसपार्क खुल्ला मञ्चमा सारेपछि महानगरका कर्मचारीहरुसँगको मिलेमतोमा अतिक्रमण गरी बनाइएका टहराहरुमा शनिबार डोजर लगाएर भत्काइएको छ ।
तर, काठमाडौं महानगरपालिकाका कर्मचारीहरुको नियत ठीक नभएसम्म यो डोजर लगाएको संरचना पनि फेरि ठडिने सम्भावना उत्तिकै देखिन्छ । आज भन्दा डेढ वर्ष अघि २०७४ साल पुष महिनामा काठमाडौं महानगरपालिकाका प्रमुखकै निर्देशनमा बसपार्कमा बनेका अतिक्रमित टहराहरु भत्किएका थिए । तर, त्यसको केही समय गुपचुप बसेर फेरि गैरकानूनी संरचनाहरु बनाइएका थिए ।
२०७४ पौष १९ गते बुधबार बीर अस्पतालको साईटपट्टीबाट प्रवेश गरेका महानगरप्रहरीले झण्डै डेढ घण्टा लगाएर त्यो संरचना भत्काएका थिए । यसमा त्यो जस्ताको टहरामात्रै भत्किएको थिएन । महानगरपालिकाका सीमित कर्मचारीको अबैध धन्दा समेत भत्किएको थियो । यस अघिसम्म मासिक लाखौं रुपैयाँ असुल गरिएको सो टहरामा महानगरप्रहरीले पाईला चालेसँगै लाखौंको अबैध धन्दाको स्रोत समेत त्यसै सुकेको थियो ।
त्यतिबेला अहिलेसम्म लाखौं असुलीसकेका काठमाडौं महानगरपालिकाका कर्मचारीको यो अबैध धन्दाको विषयमा हाम्रा कुरा डटकमले पटक पटक समाचार प्रकाशित गरिरहेको थियो । हाम्राकुरामा समाचार आउन थालेपछि बागबजार स्थित केही युवाहरुले यहाँको अबैध धन्दाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेका थिए ।
डेढ वर्ष अघि खुल्लामञ्च अतिक्रमणबारे लेखेका समाचारहरु
अख्तियारमा मुद्दा परेपछि अख्तियारले केही कर्मचारीहरुलाई बयानको लागि समेत बोलाएको महानगरपालिका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारले कारबाही गर्नेदेखेपछि अहिलेसम्म असुली गर्दै आएका कर्मचारीहरुकै निर्देशनमा सो टहरा भत्काईएको थियो । तर, त्यसैको केही समयमा नै फेरि टहराहरु बनेका थिए ।
अहिले फेरि शनिबार अवैधरुपमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाइएको काठमाडौँको पुरानो बसपार्कको सटर तथा कबल आज डोजर लगाएर हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएका सटर डोजर लगाएर हटाइएको हो ।
सार्वजनिक स्थानमा फरक प्रयोजनका लागि काम गर्न दिइएको भए पनि निर्माण व्यवसायीले अवैधरुपमा सटर निर्माण गरी प्रतिसटर रु १५ लाखसम्म लिएर व्यापारीलाई बिक्री गरिएको पाइएपछि स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले तत्काल हटाउन आग्रह गर्दै आएका थिए ।
काठमाडौँ महानगरले सार्वजनिक जग्गामा सटर बनाउन दिएको विषयमा चौतर्फी विवाद तथा आरोप प्रत्यारोपसमेत भएको थियो । सार्वजनिक स्थान व्यक्तिले कब्जा गरेको पाइएपछि आज डोजर लगाइएको हो । सुरक्षाकर्मीसहित काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत उपस्थित भई नयाँ बनाइएका ४३ सटर हटाइएको हो ।
खुलामञ्चमा नयाँ ४३ र पुराना नौ गरी ५२ सटर सञ्चालनमा थिए । महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द विकाइ बिल्डर्स प्रालि’ बीच २०७४ वैशाख ८ मा सहमति भएको थियो । पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण गर्ने गरी महानगर र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकाइ विल्डर्सबीच सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा निर्माण व्यवसायीले पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण प्रक्रिया शुरु गरेपछि बसपार्क खुलामञ्चको उत्तरतर्फ सारिएको थियो । बसपार्क उक्त स्थानमा सारिएपछि निर्माण व्यवसायीले सार्वजनिक स्थानमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, महानगरपालिका र सुरक्षाकर्मीको टोलीले बसपार्कका सटर भत्काउन थालेपछि सटर भाडामा लिएका व्यापारीको भने भागाभाग भएको थियो । उनीहरुले आफूहरुले ठेकेदार मनोज भेटवालसँग भाडामा लिएको बताएका छन् । डोजर चलेपछि सामान स्याहार्दै मलिन मुद्रामा मनमाया खत्रीले भने, “मैले ठेकेदारलाई रु ११ लाख रकम बुझाएर पाँच वर्षका लागि भाडामा लिएको थिए तर आज एक्कासि डोजर चल्यो, भाडामा लगाउने ठेकेदार पनि छैन, मैले कसरी पैसा उठाउने चिन्ता छ ।”
यस्तै अर्का व्यापारी सन्तोष कार्कीले पनि भेटवाललाई एउटा सटरको रु १५ लाख बुझाएको बताए । अधिकांश व्यवसायीले सटरको सामानसमेत निकाल्न पाएनन् भने केहीले हतारहतार डोजर चल्दै गर्दा सामान निकालेका थिए । आफूले गरेको लगानी बालुवामा पानी भएको भन्दै उनीहरु चिन्तित देखिन्थे । डुबेको पैसा कसरी उठाउने भन्ने चिन्तामा उनीहरु परेका थिए ।
कोही सामान कुरेर बसेका थिए भने कोही गलत व्यक्तिको पछाडि लाग्दा समस्यामा परेको बताएका थिए । उनीहरुले व्यापार व्यवसायका लागि सहज हुन्छ भन्दै सटर भाडामा लिएको भए पनि सूचना नै नदिई सटर भत्काइएकामा गुनासोसमेत गरेका थिए । निर्माण व्यवसायी भेटवालले खुलामञ्चमा सटर निर्माण गरेर वार्षिक रु एक करोड ८२ लाख ५० हजार भाडा उठाउँदै आएको व्यापारीले आरोप लगाए । सार्वजनिक स्थानमा बनाएका प्रतिसटर रु ११ लाख सलामी लिएर बिक्री गरेको व्यापारीले जानकारी दिएका छन् । सटर बनाउनुअघि नै भेटवालले रु पाँच करोड अग्रिम भुक्तानी लिइसकेको व्यापारीको आरोप छ ।
सटर भाडामा लिएका अधिकांश व्यापारी र निर्माण व्यवसायीबीच कुनै पनि प्रकारको लिखित सम्झौतासमेत नभएको पाइएको छ प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सार्वजनिक स्थानमा कुनै स्वीकृति नै नलिई कुनै पनि प्रकारको संरचना निर्माण गर्न नपाइने बताए । “हामीले विगत केही दिनदेखि यसलाई सूक्ष्म तवरले अध्ययन गरिरहेका थियौ, महानगरपालिकाको आग्रहमा आज सटर तथा कवल खाली गराइएको हो।”
व्यापारी र निर्माण व्यवसायीबीच लिखित सम्झौता भए नभएकाबारे आफूलाई केही जानकारी नभएको उल्लेख गर्दै प्रजिअ आचार्याले भए, “व्यापारीले लिखितरुपमा उजुरी गरेको खण्डमा आवश्यक कारवाही गर्न प्रशासन तयार छ ।” उहाँले काठमाडौँका अन्य स्थानमा समेत सार्वजनिक जग्गा मिचिएको पाइए खाली गराइने बताए ।
महानगरपालिका प्रमुख शाक्यले भने सार्वजनिक स्थानमा गलत तरिकाले सटर बनाएको पाइएकाले खाली गराइएको संक्षिप्त प्रतिक्रिया दिए । काठमाडौँ क्षेत्र नं ८ क का प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले सार्वजनिक स्थानमा गलत मनसायका साथ सटर बनाएर अतिक्रमण गर्ने जो कोहीलाई पनि कानूनी कारवाही गर्नुपर्ने बताए।
स्थानीय खड्गी समुदायले आफूहरुले सार्वजनिक हितका लागि उपलब्ध गराएको खुलामञ्चमा गलत मनसायका साथ सटर निर्माण गरेर व्यापारीले नाफा कमाएको भन्दै विरोध गर्दै आएका थिए । महानगरले उपप्रमुख हरिप्रभा खड्गीको संयोजत्वमा छानबिन समितिसमेत बनाएको थियो तर फरक उद्देश्यका साथ सम्झौता भएकामा निर्माण व्यवसायीले आर्थिक लाभ हुने गरी सटर निर्माण गरी सलामीसमेत उठाएको विषय सार्वजनिक भएपछि चर्को विरोध भएको थियो। व्यापारीले सटर निर्माण हुँदासम्म थाहा नपाएको महानगरले आफूहरुलाई सूचना नै नदिई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै आपत्ति जनाएका थिए ।