arrow

''साईप्रसका नेपालीहरु पीडामा छन, सरकार सहयोग गर्न पैसा छैन भन्छ'' 

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
sita-aryal1.jpg

काठमाडौं । साईप्रसबाट सिधै युरोप पनि जान मिल्ने आशामा साईप्रस पुगेका हजारौं नेपालीहरु अहिले कामको खोजीमा भौतारिने र राम्रो काम नपाउने समस्यामा गुज्रिन बाध्य छन् । त्यही लोभमा विद्यार्थीहरु १० लाखदेखि १२ लाख रुपैयाँसम्म असुल गरी साईप्रस पठाउने कन्सल्टेन्सीहरु जहाज चढाएपछि वेपत्ता हुन्छन्। सिधै युरोप जाने सपना बोकेर साईप्रस पुगेका नेपालीहरु यतिबेला विभिन्न समस्यामा गुज्रिन बाध्य छन् । दिनप्रतिदिन साईप्रस जाने नेपालीहरुको संख्या बढ्दै जाँदा पनि नेपाल सरकारले भने त्यहाँ एउटा कन्सुलर समेत खोल्न सकेको छैन । अझ भन्दा खोल्न चाहेकै देखिँदैन । एयरपोर्टमा पुग्दा नपुग्दै नेपालीहरु नेपालीबाटै लुटिने गरेको घटना पनि प्रसस्तै पाईन्छ । यस्तो अवस्थामा साईप्रसमा सरकारको भने भौतिक र भावनात्मक उपस्थितिसमेत देखिँदैन । बरु विभिन्न राजनीतिक एवं जातीय संस्थाहरुले नै धेरैहदसम्म नेपालीहरुलाई परेको समस्या सुल्झाउने प्रयास गरिरहेका छन् । 

२ वर्ष अघि नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति साईप्रस गठन भयो । यो नै साईप्रसमा खुलेको नेपालीहरुको पहिलो राजनीतिक संगठन हो । अध्यक्ष सीता अर्यालको नेतृत्वमा गठित सो संगठनले नै सरकारले गर्नुपर्ने धेरै कामहरु गरिरहेको छ । विशेषगरी साईप्रसमा पुगेका महिला, विद्यार्थी तथा कामदारहरुलाई यो संगठनले विशेष सहयोग गर्ने गरेको छ । यही सम्बन्धमा नेपाली जनसम्पर्क समिति साईप्रसकी अध्यक्ष सीता अर्यालसँग त्यहाँको समस्या र राजनीतिक संस्थाको आवश्यकता किन पर्यो भन्ने बारे हाम्राकुरा डटकमले केही प्रश्नहरु सोधेको थियो । 

कामको शिलशिलामा विदेश गएकाहरुले राजनीतिक विचारधारा बाकेको नेपाली जनसम्पर्क समिति साईप्रसको किन आवश्यकता पर्यो ?

कामको शिलशिलामा साईप्रस गएका हामीहरुलाई जनसम्पर्क समिति स्थापना गर्नको पछाडि केही कारणहरु रहेका छन् । एउटा त सरकारले साईप्रसमा रहेका नेपालीहरुको लागि खासै केही पनि काम गर्न सकेको छैन । नेपालीहरु ठगिने र लुटिने क्रम जारी छ । तरपनि त्यहाँ सरकारको दूतावास समेत नरहेकोले नेपालीहरुले भोगेको समस्या देखाउने सरकारी निकाय पाईरहेका छैनन् । त्यो देखेर नै केही गर्न सकिन्छ कि भनेर समितिको गठन गरिएको हो । कामको शिलशीलामा साईप्रस आएकाहरुले नै आफ्नो फुर्सद मिलाएर दुख भोगिरहेका नेपालीहरुलाई अलिकति भएपनि सहयोग गर्न सकियोस् भनेर नै यो संस्थाको परिकल्पना गरिएको हो । मेरै नेतृत्वमा गठन भएको यो संस्था किन राजनीतिक विचारधारामा आधारित भयो त ? सहयोग गर्नको लागि राजनीतिक झण्डा नै आवश्यक हुन्छ त ? भन्ने प्रश्न पनि आउन सक्छ । हो, सहयोग गर्नको लागि राजनीतिक झण्डाको आवश्यकता त पर्दैन । तर, हामीहरुको आदर्श विपीको प्रजातान्त्रिक समाजवादको छाता भित्रबाट नेपालीहरुलाई सहयोग गर्दा विपीको प्रजातान्त्रिक समाजवाद के हो र यसले हामीलाई के फाईदा हुन्छ भन्नेबारे पनि जानकारी दिन सकियो भने सबै नेपालीहरुले सोही छाताभित्र बसेर अरु नेपालीलाई पनि सहयोग गर्न प्रेरणा मिल्ने भएकोले हामीले स्वतन्त्र संस्था गठन नगरेर नेपाली काँग्रेस निकटको संस्था गठन गरेका हौं । 

स्थापनाको २ वर्ष भईसक्यो, अहिलेसम्म संगठन विस्तार जस्ताको त्यस्तै छ, अधिवेशन हुनसकेको छैन । के हो यसको कारण ?

प्रजातान्त्रिक विचारधाराको छत्रछायामा रहेर साईप्रसमा रहेका नेपालीहरु मिली सन् २०१७ अप्रिल २२ तारिकको दिन नेपाली जनसम्पर्क समिति साईप्रसको गठन भएको हो ।हामी एउटा राजनीतिक संगठन भएकोले हाम्रापनि केही सीमाहरु रहेका छन् । तरपनि हामीले यो दुई वर्षमा आफ्नो क्षमताले भ्याएसम्म नेपालीहरुलाई परेका समस्या समाधानको लागि दिलो ज्यान दिएर कामहरु गरिरहेका छौँ । एकातर्फ समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्नुपर्ने जिम्मेवारी छ भने अर्को तर्फ संगठनलाई सुदृढ बनाउने जिम्मेवारी पनि हामीहरुको काधमा रहेको थियो । स्थापनाको पहिलो वर्ष त समितिका सदस्यहरु एकअर्काबीच परिचय र तादात्म्यता नै जमिनसकेकाले संगठन विस्तारको कार्य त्यति अघि बढ्न सकेन । त्यसपछि भने संगठन विस्तारका कार्यलाई हामीले युद्धस्तरमा अगाडि बढाएका छौं । संगठन स्थापनाको २ वर्ष पुगिसकेकाले हाल हामी अधिवेशन गर्ने प्रक्रियामा पुगेका थियौं । अधिवेशन सम्पन्न गर्नका लागि मातृ पार्टी नेपाली काँग्रेस, केन्द्रीय समितिका तर्फबाट १ जना प्रतिनिधि पर्यवेक्षक जानुपर्ने वैधानिक व्यवस्था रहेकोमा त्यसका लागि लागि हामीले पार्टी कार्यालयमा पत्राचार पनि गरिरहेका छौं भने केन्द्रीय नेताहरुसँग पनि छलफल गरिरहेका छौं । तर, काँग्रेस केन्द्रीय समितिको निर्णयानुसार हाल केही समयका नेपालमा चलिरहेको जनजागरण अभियानलाई मध्यनजर गर्दै विदेशस्थित सबै जनसम्पर्क समितिको अधिवेशन रोक्नु भन्ने भएकाले केही समयका लागि सो प्रक्रिया स्थगित भएको छ । यस अघि २ वर्ष पुगिसकेको अवस्थामा २०१९ जुन २ का लागि हामीले पहिलो अधिवेशनको मिति पनि तय गरेका थियौं । नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका विश्वप्रकाश शर्मा अधिवेशनका लागि प्रतिनिधि पर्यवेक्षकको रुपमा जाने कुरा पनि भएको थियो । तर, काँग्रेसको जागरण अभियानको कारण केन्द्रले विश्व भरका जनसम्पर्क समितिहरुको अधिवेशन केही समयको लागि रोक्नु भनेकोले यो रोकिएको हो । 

एउटा राजनीतिक संगठनको राजनीतिक स्वार्थ त हुन्छ नै । तर, विदेशमा त राजनीतिक पर्दा ओढेर व्यक्तिगत स्वार्थ पूर्ति गर्नेहरु धेरै हुन्छन् भनिन्छ नि । तपाईंहरुको संगठन कसरी अघि बढिरहेको छ ?

हुनसक्छ, धेरै संगठनहरु छन् र उनीहरुको आ आफ्नै विचारधाराहरु पनि । तर, सबै संगठनलाई एउटै टोकरीमा राखेर विश्लेषण भने गर्न मिल्दैन । यो संस्था विशेषगरी साईप्रसमा रहेको नेपालीहरुलाई परेको समस्यालाई पहिचान गरेर उनीहरुलाई कसरी उद्दार गर्न सकिन्छ ? भन्नको लागि खुलेको हो । यसको लागि हामीले विशेषगरी ठूला ठूला सपनाहरु देखेर साईप्रस आएका नेपाली कामदारहरुले भोगेका समस्यामा केही हदसम्म भएपनि मल्हम लगाउने काम गरिरहेका छौं । साइप्रसमा मूलतः घरेलु कामदार(केयर गिभर)का लागि गएका नेपालीहरुको संख्या ठूलो रहेको छ । त्यसमा पनि पुरुषको भन्दा महिलाको संख्या निकै बढी छ । त्यस्ता घरेलु कामदारहरु मानसिक रुपमा समेत हतोत्साहित हुने गरेको देखिएको छ । युरोपमा समेत सजिलै जान सक्ने भनेर महंगो शुल्कमा साइप्रस पठाइने तर यहाँ आएपछि विभिन्न समस्याहरुमा जेलिनुपर्ने अवस्था छ । मूलतः सोचेको जस्तो काम नपाइने, काम गर्दागर्दै रोजगारदाताको मृत्युभएमा आफ्नै प्रयासमा अर्को जागिर खोज्नुपर्ने, भनेकै समयमा जागिर नपाइनेलगायतका जटिल समस्या नेपालीहरुले व्यहोर्ने गरेका छन् । कतिपयलाई भाषाको समस्या छ भने कतिपयलाई सुरक्षा र न्यायको । कतिपय अन्जान कर्महरुमा समेत नेपालीहरुले गल्ती विना नै कारबाही भोग्नुपर्ने गरेको पनि अवस्था छ । यस्ता समस्याहरुको समाधानार्थ हामीले जनचेतनामूलक कार्यलाई प्राथमिकता दिएका छौं । कतिपय जागिर नपाएर बसेकाहरुलाई जागिर खोजिदिएर एवं कतिपय मानसिक रुपमा समेत हतोत्साहित भएकाहरुलाई उत्प्रेरणा दिने काम पनि गरिरहेका छौं । म आफैंले पहिलो पटक साईप्रस आउँदा भोगेका समस्याहरुलाई मध्यनजर गरेर अरुलाई यस्तो समस्या नपरोस् भन्ने उद्देश्यले नै यो संस्था खोलेकोले तपाईँले भनेजस्तो आफ्नो स्वार्थ पूर्तिका लागि यसलाई हतियार बनाएको भन्नु शतप्रतिशत गलत हो । तपाईंले भनेजस्तै राजनीति गरिसकेपछि आफ्नो विचारधारामा धेरै समर्थकहरु बनुन् भन्ने राजनीतिक स्वार्थ त सबैको हुन्छ । तर, व्यक्तिगत स्वार्थ हामी साथीहरु कसैको पनि छैन । यो संस्था विशेषगरी साईप्रसमा रहेका नेपाली दिदी बहिनीहरुको अधिकारकालागि यो खोलिएको हो । बेरोजगार भएकाहरुलाई केहीहदसम्म भएपनि काम लगाएर उनीहरुको समस्यामा समाधान गर्नको लागि खोलिएको हो । 

साईप्रसमा अनेकानेक संस्थाहरु छन् । तर, नेपालीहरुको समस्या भने जस्ताको त्यस्तै छ । यति धेरै संस्थाहुँदा पनि समस्या किन उस्तै ?

हो, साईप्रसमा अनेकानेक संघसंस्थाहरु रहेका छन् । त्यहाँ केही राजनीतिक र केही जातीय संस्थाहरु समेत रहेका छन् । जातीय र राजनीतिक बाहेक सबैलाई समेट्नसक्ने संस्थाको रुपमा एनआरएन पनि त्यहाँ सक्रिय छ । ती संस्थाहरु मध्ये हाम्रो संस्था नित्तान्त राजनीतिक संस्था हो । राजनीतिक संस्थाहरुको पनि आफ्नै सीमाहरु हुन्छन् । तरपनि हामीले त्यहाँ राजनीतिक विचारधाराको आधारमा नभई त्यहाँ आएका विशेषगरी महिलाहरुलाई परेको समस्या समाधानको लागि काम गरिरहेका छौं । हामी आफैं पनि एउटा कामदार रहेकोले पूर्णकालीन रुपमा त्यसमा लाग्न पनि सक्दैनौं । त्यसैले हामीहरु फुर्सदको समय बचाएर अफ्टेरोमा परेकालाई सहयोग गर्नमा केन्द्रीत भएका छौं । 

नेपालमा आएर पार्टीमा माथिल्लो पद पाउनको लागि विभिन्न मुलुकमा यस्ता समितिहरु गठन गरिन्छ भन्ने आरोप र केही उदाहरण पनि पाईन्छ । यसबारेमा के भन्नुहुन्छ तपाई ?

राजनीतिक पृष्ठभूमि भएकोले हामीमा पनि राजनीतिक इच्छाशक्ति देखिनु स्वभाविक नै हो । तर, केवल राजनीतिको लागि भने हामीले राजनीति गरिरहेका छैनौं । हामी साईप्रसमा हुन्ज्याल मात्रै उनीहरुको सहयोग गर्ने होईन । ती कामदारहरु नेपाल फर्किएपछि पनि सशक्त रुपमा राजनीति गर्न सकून् भन्नको लागि विभिन्न उत्प्रेरणा समेत दिने गरेका छौं । साईप्रसमा नै पनि धेरै भाषा सिक्न नसकेकाहरुलाई जनजागरण अभियान चलाएर कसरी छिटो भाषा सिक्ने र भाषा सिक्नु भन्दा पहिले कसरी त्यहाँ काम गर्ने भन्ने कुरा सिकाउने गरेका छौं । नेपालमा हुँदा महाधिवेशन प्रतिनिधि समेत भईसकेकोले राजनीति मार्फत् नै त्यहाँका नेपालीहरुको समस्या समाधान हुनसक्छ भन्ने लागेर नै यो संस्था खोलिएको हो । तर, माथिल्लो पदमा जानको लागि मात्रै यसलाई भर्याङ भने बनाएको होईन । 

नेपाल सरकारको त्यहाँ सहभागिता र कामहरु कस्तो छ ?  
सरकारको त त्यहाँ भौतिक र भावनात्मक उपस्थिति समेत रहेको पाउँदैनौं हामीहरु । त्यहाँ एउटा कन्सुलरसम्म पनि छैन । इजरायली दूतावासलाई नै साईप्रस पनि हेर्ने जिम्मेवारी दिईएको छ । अब केही समस्या पर्यो भने के हामी इजराल जाने ? कसरी जाने इजरायल ? समुद्रीबाटोबाट ४७२ किलोमिटर टाढा छ । त्यो पनि अर्कैदेशमा कसरी जाने ? यहि समस्या देखाएर झण्डै २ वर्ष अघि नै नेपाली जनसम्पर्क समितिले साईप्रसमा पनि कन्सुलर चाहियो भनेर सरकारलाई ज्ञापनपत्र पनि बुझाएको थियो । त्यतिबेलाको सरकारले कन्सुलर खोल्ने भनेर आश्वासन पनि दिएको थियो । तर, त्यहिबेलामा चुनाव भयो । सरकार परिवर्तन भयो । त्योसँगै कन्सुलर खोल्ने कुराहरु पनि तुहियो । अहिलेको सरकारसँग पनि हामीले र अरु साथीहरुले पनि पटक पटक कुरा गरिरहेका छौं । अहिलेको सरकारले त झनै कन्सुलर राखौं भन्दा पैसा छैन भनेर टार्ने गरेको छ । सरकारलाई आफ्ना नागरिकहरुको समस्या भन्दा पैसा ठूलो भएजस्तो छ । हामीले स्वयं इजरायली दूतावासका कर्मचारीहरुलाई पनि बारम्बार यहाँको समस्याबारे बताईरहेका छौं । दूतावासका कर्मचारीहरुले यसबारे केही चासो दिएपनि उहाँहरुको पनि आफ्नै समस्या हुन्छ । भन्ने वित्तिकै त्यति टाढाबाट दूतावासले पनि केही गर्न सकिरहेको छैन । तर, हामीहरु जस्तै संस्थाहरु निरन्तर लागिपरेका छौं । दूतावासले गर्न नसकेका सहयोगहरु हामी नेपालीहरु नै मिलेर गरिरहेका छौं । 

साईप्रसमा रहेका नेपालीहरुको संख्याको आधारमा संघ संस्थाको संख्या पनि अन्त्यन्तै धेरै रहेको देखिन्छ । बैचारिक दृष्टिलाई थाँती राखेर सबै संस्थाहरु एकीकृत हुने हो भने समस्या समाधान गर्न सक्ने अवस्था रहन्थ्यो । के त्यो सम्भव छ साईप्रसमा ?

अवश्य छ र हुनुपर्ने पनि त्यही हो । लोकतान्त्रिक विचार बोकेका साथीहरुलाई मात्रै हाम्रो संस्थाले सहयोग गर्ने, जातीय संस्थाहरुले आफ्नो जातिलाई मात्रै सहयोग गर्ने जस्ता कामहरु विल्कुल राम्रो होईन । हामीले त त्यति सीमित सोचाई राखेका पनि छैनौं । साईप्रसमा रहेका जुनसुकै विचारधाराका महिलाहरुलाई पनि हामीले सहयोग गर्ने गरेका छौं । तर, अब कुरा आयो एकीकृत हुने । कामको लागि हामीहरु एकीकृत हुनसक्छौं न कि संगठन नै एक अर्कामा गाभिने । साईप्रसमा रहेका नेपालीहरुको समस्या समाधानको लागि एकीकृत बनौं भनेर त हामीले पनि पहल गरिरहेका छौं । अरु साथीहरुले पनि गरिरहनु भएको छ । तर, राजनीतिक विचार बोकेर खुलेको संस्थाले एकीकृत बनौं भन्दा आफ्नो अस्तित्वको चिन्ता लिने साथीहरु पनि रहेकोले त्यसले सार्थकता पाउन सकिरहेको छैन । त्यसैले स्वतन्त्र विचारको रुपमा रहेको एनआरएनका साथीहरुले यसमा नेतृत्व लिनुभयो भने जुनसुकै पार्टीले पनि निर्भिक रुपमा त्यसमा सहभागी हुनसक्छन् जस्तो लाग्छ । म एनआरएनका साथीहरुसँग यसमा सक्रियता जनाउन आग्रह पनि गर्दछु । साथै यसमा नेपाली जनसम्पर्क समिति साईप्रस जस्तोसुकै सहयोग पनि गर्न तयार छ । 

अन्त्यमा केही भन्नु छ ?
हामी जुनसुकै विचारधारा र जहाँबाट आएको भएपनि हाम्रो एउटै पहिचान भनेको हामी नेपाली हौं । वैदेशिक रोजगारीमा गएका कोही पनि नेपालीले दुख पाउँदा हामी त्यो त त्यसको दुख हो नि भनेर नबसौं । मानवीयता र नेपाली भएको आधारमा पनि सबैलाई आ आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं । म नेपाल सरकारलाई पनि यथासक्य चाँडो साईप्रसमा एउटा कन्सुलर स्थापना गरिदिनको लागि आग्रह गर्दछु । कोही पनि नेपाली साईप्रसमा समस्यामा हुनुहुन्छ भने नेपाली जनसम्पर्क समिति साईप्रससँग सम्पर्क गर्नुहोला भन्न चाहन्छु । साथै, त्यहाँ स्थापना भएका विभिन्न संघसंस्थाहरुलाई पनि आफ्नो बैचारिकतालाई भन्दा मानवीयतालाई माथि राखेर काम गर्नको लागि पनि सुझाव दिन चाहन्छु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ