निरश बन्यो संविधानसभा पदक, ३० प्रतिशतभन्दा बढी उपस्थित नै भएनन्
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
759
Shares
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेको संविधानसभा पदक सुरुआतदेखि नै विवादित बन्दै आएकामा अन्तिमसम्म आउँदा पदक थाप्नेसमेत कम भए ।
१२ औं गणतन्त्र दिवसको अवसरमा उनले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा उक्त पदकबाट विभूषित गरेकी थिइन् ।
११०९ जनाको नाम सार्वजनिक गरिएकामा ७ सय १४ जनाले विभूषण तथा प्रमाणपत्र लिए । २०६४ र २०७० सालमा भएको संविधानसभाका सांसदहरुलाई पदक वितरण गरिएको थियो ।
दुई कार्यकाल गरी ९० जना सांसद दोहोरिएका थिए । विभूषण तथा बैठक समारोह शाखामा परिचयपत्रसहित सम्पर्क गरी प्रवेशपत्र लिन गृह मन्त्रालयले अघिल्लो बुधबार नै सूचना जारी गरेको थियो ।
फारम समेत धेरैले भरेका थिएनन् । तीन सय जनाले त फारमसमेत नभरेको बुझिएको छ ।
पदकको वरियतामासमेत विवाद
संविधानसभाबाट संविधान ल्याउनका लागि सबैभन्दा ठूलो भूमिका खेलेको कोही थियो भने ती जनआन्दोलन २०६२–०६३ का नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला थिए ।
त्यसपछि सशस्त्र द्धन्द्धबाट शान्तिप्रक्रियामा आएर राष्ट्रिय राजनीतिमा आई दुई पटकसम्म आफ्नै नेतृत्वमा सरकार संचालन गरेका पुष्पकमल दाहाल प्रचण्ड थिए ।
दुवै जनाको वरियता भने लोकतन्त्रका लागि कुनै पनि भूमिका नखेलेका दुई पूर्व पञ्चहरु लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाभन्दा पछाडि राखिएको थियो ।
वरियतामा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरालाई अगाडि राखिएको थियो ।