arrow

सत्ता पक्षीय नेतालाई मनको बाघको त्रास : पूरा होला हिन्दूराष्ट्रको आश ?

logo
सुरेश गिरि,
प्रकाशित २०७६ असार १२ बिहिबार
suresh-giri.jpg.jpeg

जापान । नेपालीमा उखानै छ ‘वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ’। पछिल्लो समय नेपाली राजनीतिमा हरेक नेताको मुखबाट व्यवस्था परिवर्तन गर्न अदृश्य शक्तिहरू लागिपरेका छन\ भन्ने खालको घुमाउरो कुरा आइरहेका छन् । यसमा सत्ता पक्ष मात्रै हैन प्रतिपक्षको समेत मौन सहमति देखिन्छ । के साँच्चै यो व्यवस्था परिवर्तन नै गर्नु पर्ने हो ? पर्ने भए के र कसका लागि ? को हो अदृश्य शक्ति ?  कसैले प्रस्टसँग बोलेको देखिँदैन ।

उत्तर प्रदेशका मुख्य मन्त्रीले त नेपाल हिन्दू राष्ट्र बनाउनु पर्दछ मात्र भनेका हुन् । उनको कुरा पनि सही नै हो, संसार भरिका हिन्दूहरुको आस्थाको केन्द्र नेपाललाई बनाऊ भनेका छन् . यसमा सत्ता परिवर्तनको कुरा त कतै छैन । योगीको कुरालाई दुई तरिकाबाट हेर्न सकिन्छ उनी कट्टर हिन्दुबादी हुन् । उनको इच्छा त भारतलाई नै हिन्दू राष्ट्र बनाउने छ । तर, के गर्नु त्यो सम्भव छैन र कहिले पूरा पनि हुँदैन । अर्को कुरा नेपाल नजिकको मित्र साथै ८५ प्रतिशत भन्दा बढी हिन्दूहरुको बसोबास रहेको देशलाई हिन्दूराष्ट्र बनाउँदा फरक पर्ने के नै छ भनेर पनि होला । मेरो विचारमा योगीको कुरामा हामीले पनि सहमति जनाउनु जरुरी छ जस्तो लाग्छ ।

यदि संसार भरी १०० करोड हिन्दू धर्ममा आस्था राख्ने जनसंख्या छ भने यो त हाम्रो लागि फाइदाको कुरो नै हो यसमा किन बढी सोच्नु पर्यो । साउदी अरबले वर्षमा जति हज यात्री भित्र्याउँछ । त्यो उदाहरण नै हिन्दू राष्ट्र बनाउन काफी छ। यदि योगीको कुरालाई नै लिएर व्यवस्था परिवर्तनको डर हो भने यो कुरामा डराउनु पर्ने देखिँदैन त्यसो भए त्यो अदृश्य शक्ति के हो त ? कि आफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक निर्भाह न गर्ने बेला बेला यस्तै अफवाह फैलाएर जनतासँग गरेका बाचा पूरा नगर्ने षड्यन्त्र त हैन ? कि यिनीहरूलाई निर्मल निवाससँग डर छ ? यदि त्यो हो भने खासै डराउनु पर्ने देखिँदैन। हुनत अहिले पनि नेपालमा राजसंस्थामाथि आश गर्नेहरूको ठूलो जमात छ । साँच्चै जनमत सङ्ग्रह गर्ने हो भने राजनैतिक दलको भन्दा राजसंस्थाको पल्ला भारी नहोला भनेर भन्न नमिल्ला ।

के हरेक पटक जनताका इच्छा आकांक्षा पूरा गर्न नसक्दा आफ्नो बचाउको लागि चारैतिरबाट अदृश्य शक्तिले प्रहार गरे भन्ने सजिलो उपाय हो त ? हुनत संघीयता कार्यावन्यनको स्थिति पनि जटिल देखिँदै गएको अवस्था छ । के हामीलाई संघीयता चाहिएकै हो त भन्ने प्रश्न पनि पेचिलो हुँदै गइरहेको अवस्थामा हामीलाई अदृश्य हैन हाम्रै अदुरदर्शी निर्णयको कारणले पो व्यवस्था परिवर्तन गर्नुपर्ने देखिएको हो कि ? हरेक पटक सत्तामा पुगेपछि काम गर्न दिएन भनेर पन्छिने बानी परेको पो हो कि ? हुनत हाम्रा देशका प्रधानमन्त्रीले नै मलाई झुक्यायो भन्नुहुन्छ । कहिले पत्रिका पढेर थाहा पाए भन्नुहुन्छ के यो नै व्यवस्था परिवर्तनको संकेत हो त ? हुनत देशमा परिवर्तनका लागि धेरै पटक सङ्घर्ष भए तर परिवर्तन को लागि संघर्ष गर्ने अनुहार नफेरिएका कारण पो व्यवस्था फेर्नु पर्ने देखिएको पनि हुन सक्छ के यसरी सोच्न सकिन्छ ? हाम्रा नेतामा बुद्धि पलायो त्यसैले व्यवस्था परिवर्तनको कुरा गर्दैछन् भनेर ? हुनत यो कदापि हुनेवाला छैन तैपनि आश गरी हेरौं । जब मानिसले बढी झुठको खेती गर्दछ तब त्यस्ता झुठहरुलाई कसैले पर्दाफास गर्छं कि भनेर हरेक पटक नयाँ नयाँ कुरामा अल्झाएर राख्ने प्रयास गरिन्छ ।

हाम्रा नेताहरुले पनि जनता भेडा नै हुन् भन्ने सोच राख्दै आएका छन् । यदि हरेक पटक नयाँ नयाँ कुरामा अल्झायो भने यिनीहरूले हामीले गरेका बाचा बिर्सन्छन् र साहनभुतिका स्वरहरु निस्कन थाल्छन भन्ने बुझेर नै बेलाबेला हुँदै नभएको कुरामा जनतालाई अल्झाएर राख्ने गर्दछन । यो व्यवस्था कसको नेतृत्वमा आएको हो जनताले त अहिले भएकै नेताको इशारामा नै आन्दोलन गरेका हुन् को आन्दोलन गर्ने पनि अदृश्य शक्ति नै थियो ? आफूले नै नेतृत्व गरेर ल्याएको व्यवस्था के कालागि परिवर्तन गर्नुपर्यो त्यसको पनि जवाफ दिनुभयो भने बल्ल जनताले पत्याउने छन हैन् र सधै यस्तै बकम्फुसे हावा गफ गरेर जनतालाई झुक्याउने काम गर्नुभयो भने व्यवस्था हैन तपाईहरुलाई पनि जनताले जरैदेखि उखेलेर फाल्ने छन् । अन्तमा व्यवस्था हैन् तपाईंहरूको सोच बदल्नु जरुरि छ समयमै बदलिनुस पछि फेरि बदलिने मौका पाउनुहुने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ