बालिका करणीको दश वर्षपछि घर आएका तेजबहादुर जेल चलान
प्रकाशित २०७६ साउन ५ आइतबार
447
Shares
खोटाङ । बालिकालाई जबर्जस्ती बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारागार चलान भएका छन् । २०६६ साल असार २३ गते एक बालिकालाई जबर्जस्ती बलात्कार गर्ने राई आइतबार कारागार चलान भएका हुन् ।
शुक्रबार घरैबाट पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएलगत्तै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए। महिलालाई जबर्जस्ती बलात्कार गरेकामा उनलाई जिल्ला अदालत खोटाङले २०७१ साल मङ्सिर २५ गते दश वर्ष कैद सजाय सुनाएको थियो ।
दश वर्षसम्म जिल्लाबाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि मात्र घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार रहेका उनलाई प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको थियो ।