संसारबाट विस्थापित हुँदै गएको मानव तस्करी नेपालमा फस्टाउँदै
प्रकाशित २०७६ साउन ६ सोमबार
287
Shares
काठमाडौं । संसारबाट विस्थापित हुँदै गएको मानव तस्करी जस्तो जघन्य अपराधिक कार्य नेपालमा संस्थागत रुपमा फस्टाउँदै गएको छ । आन्तरिक श्रम बजारमा प्रशस्त रोजगारीको अवसर प्राप्त नहुँदा नेपाली युवायुवतीहरु म्यानपावर कम्पनी र कन्सल्टेन्सीमार्फत विदेशी श्रम बजारमा बेचबिखन हुँदै आएका छन् । सरकार र तिनका संयन्त्रहरुले मानव बेचबिखन गर्ने कार्यमा सघाउ पुर्याउँदै आएको कसैको सामु छिपेको छैन् । चर्को गरिबी र अशिक्षाका कारण नागरिकहरु बेचिनु परेको हो ।
वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेका म्यानपावर कम्पनीहरुले रोजगारीको नाममा मानव तस्करी गरिरहेका छन् । सरकारी संयन्त्रहरु, म्यानपावर व्यवसायी र कन्सल्टेन्सीका सहारा बनेका छन् । सरसर्ती हेदा सरकार र तिनका सबै निकायहरु मानव तस्करीमा लागेको देखिन्छ । यो वर्तमानको मात्रै समस्या होइन । विगत देखि नै यसरी नै मानव तस्करी भैरहेको छ ।
वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नम्बर ५१६ एलटी नम्बर १९९६४४ अल्फासिग्मा ओभरसिज र लाइसेन्स नम्बर ८९९ क्रोमा ईन्टरनेश्नलबाट दुबईको रोयल गार्डमा पठाउन लागिएका करिब छ सय कामदारबाट जनही पाँच देखि सातलाख असुलिएको छ । त्यसै गरी सिल्भर कर्नर लाइसेन्स नम्बर १११६ एलटी नम्बर २०२५०० का कामदारहरुले सातलाख सम्म रकम तिर्न बाध्य भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागका कर्मचारीलाई ठूलो घुष चढाएर ती म्यानपावर कम्पनीहरुले खुलमखुल्ला चर्को रकम असुली रहेका छन् ।
खाडी लगायत मलेसिया मुलुकमा रोजगारीमा पठाउन म्यानपावर कम्पनीहरुले बढीमा दस हजार भन्दा बढी उठाउन नपाउने व्यवस्था छ । खाडी लगायत मलेसियाले नेपालबाट कामदार लैजान फ्रि टिकट र फ्रि भिजा उपलब्ध गराउँदै आए पनि नेपालका म्यानपावर कम्पनीहरुले कम्तीमा एकलाख पचास हजार देखि सात लाखसम्म लिने गरेका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदार आफ्नो घरबाट बाहिर निस्कने वेलादेखि गन्तव्य मुलुक नपुग्दासम्म बेचिनु नै पर्छ । रोेजगारीमा जाने एक जना व्यक्तिको पछाडि तीन देखि पाँच जनासम्म एजेन्ट हुने गरेको पाइएको छ । पाँचौ जनाले कमिसन खाएपछि अब ठूलो कमिसन खाने पालो म्यानपावर कम्पनीको । फ्रि टिकट र फ्रि भिजामा यसरी एजेन्ट बढ्दै जाँदा लागत र खर्च बढ्दै गएको हो । म्यानपावर वा म्यानपावर एजेन्टलाई सम्पर्क गराउने व्यक्तिले दस हजार,अर्को एजेन्टले पन्ध्र,अर्कोले बीस हजार,अर्को एजेन्टले तीस हजार,अर्कोले पचास हजार,म्यानपावरले एकलाख देखि सातलाख सम्म रकम असुलेर मानव तस्करी गरिरहेका छन् ।
एकलाख पचासहजारका दरले हिसाव गर्दा दैनिक २२ करोड हुन आउँछ भने सरदर पाँचलाखलाई आधार बनाएर हिसाव गर्दा दैनिक ७५ करोडको हाराहारीमा म्यानपावर कम्पनीमा मानव तस्करी गरेको कमिसनको कारोवार हुन्छ ।
दुई दुई पटक मेडिकल गराएर ठगी
म्यानपावर कम्पनी र तिनका एजेन्टले मेडिकल र ओरियन्टेसनमा पनि कमिसन लिने गरेका छन,ठग्ने गरेका छन् । साउदी अरेबियाको मेडिकलकोलागि पाँच हजार तीनसय कमिसनभित्रै हो भने अरु देशको मेडिकललाई ‘प्रि’ मेडिकल एक हजार अनि भिजा आइसकेपछि चार हजार पाँच सय गर्दा छ हजार पाँच सय तिर्न वैदेशिक रोजगारीमा जाने कामदारलाई बाध्य पारिएको छ ।
अझै तीन महिना भिजा नआएर रोकिनु पर्यो भने अर्को मेडिकलकोलागि कुल मेडिकल खर्चको आधा रकम तिरेर अर्को पटक मेडिकल गर्नु पर्ने बाध्यता छ । दैनिक पन्ध्रसयको हाराहारीमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले मेडिकल सेन्टरलाई दैनिक एक करोड रुपैया बुझाउँछन । दैनिक तीसलाखमा हुने कामकोलागि एक करोड बुझाउनु पर्ने बाध्यता छ । मेडिकलमा दैनिक सत्तरी लाख घोटला हुन्छ कामदारको । त्यसै गरी दैनिक चार लाखमा हुने ओरियन्टेसनलाई दैनिक दस लाख पचास हजार बुझउँन बाध्य भएका छन कामदार । दैनिक छ लाख पचास हजार घोटला हुँदा नियमनकारी निकायहरु कमिसनमा श्रम गर्न जाने युवायुवती बेचिइ रहेका छन् । उनीहरुको पक्षमा बोलिदिने कोही छैन् ।
मेडिकलमा लाग्ने खर्च भनेको जम्मा जम्मी दुई हजारमात्रै हो । पच्चीस सयदेखि तीन हजार सम्म तिनका एजेन्ट वा म्यानपावर कम्पनीले मेडिकल सेन्टरबाट कमिसन लिने गर्दछन् । जनता यसरी पाइलै पिच्छै बेचिदै गएका छन् । दुई हजारमा सकिने मेडिकललाई सरकारले नै चार हजार पाँचसयदेखि सात हजार सम्म बनाएको हो । कर्मचारीको मिलेमतोमा यो लागु गरिएको हो । जनता कहाँबाट कसरी ठग्न सकिन्छ,बेच्न सकिन्छ सरकार र तिनका निकायहरुको ध्यान नै त्यतिमै सिमित छ ।
विगतका दिनमा पचास रुपैया पत्ता बेचिने अभिमुखीकरण तालिम ‘ओरियन्टेसन’का सर्टिफिकेटहरु लिन अहिले सात सय तिर्नु पर्छ । दुई दिनमा आठ घण्टा तालिम लिएको सात सय तिर्न बाध्य छन,वैदेशिक रोजगारीमा जाने सर्वसाधारणहरु । प्रति व्यक्ति सात सयमा चारसय एजेन्ट,दलाल,मानव तस्कर वा म्यानपावरले लिन्छ भने पढाउने संस्थाले तीन सय । आखिर तीनसयमा पढाउन सकिने रहेछ त किन सात सय बनाएको? यो गरिब,निमुखा जनतालाई बेचेर खाने ‘ब्यूरोक्रेसी’ कर्मचारी तन्त्रको ग्राण्ड डिजाइन हो ।
एकजना नेपाली नागरिक वैदेशिक रोजगारीमा जाँदा आफ्नै देशमा ऊ म्यानपावर सम्म पुग्दा पाँच पटक, मेडिकलमा दुईपटक, ओरियन्टसनमा एक पटक गर्दा आठ पटक बेचिई सकेको हुन्छ । अब उसले विदेशमा गएर कहिले कमाओस, कहिले साहुको ऋण तिरोस । उनीहरु त सरकार, म्यानपावर व्यवसायी, मानव तस्कर, एजेन्ट र दलाललाई पाल्न वैदेशिक रोजगारीमा जाँदैछन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले आफ्नो परिवार पाल्ने सपना सपनामै सिमित रहेको छ ।
म्यानपावर व्यवसायीले कामदारको अनलाइन गरी लट नम्बर उपलब्ध गराएपछि मात्रै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले मेडिकल र अभिमुखीकरण तालिम लिन पाउँछन् । म्यानपावर कम्पनीले जहाँ पठायो त्यही ठाउँ जानु पर्ने बाध्यता छ अहिले कामदारको । एन्टीकरपशन नेपाल