अरूण नदीमा चीनको पक्की संरचनाले नेपाली भूमि खतरामा, एक सय घर परिवारको विचल्ली
प्रकाशित २०७६ साउन ७ मंगलबार
336
Shares
संखुवासभा। चीनले संखुवासभाको अरुण नदी सिमानामा पक्की संरचनासहितको तटबन्ध बनाएपछि नेपाली भूमि कटानको उच्च जोखिममा परेको छ ।
कटानका कारण भोटखोला गाउँपालिका–१, हेमाथांका बस्ती उच्च जोखिममा परेसंगै तराईमा समेत बाढीको प्रकोप बढ्दै गईरहेको छ।
भोटखोला–१ का अध्यक्ष तेन्छेवी शेर्पाले भने, ‘चीनले पक्की संरचना सहितको बाध निर्माण गरेको कारण खोलाको मुहान परिवर्तन भएर धमाधम बस्ती कटान भएको छ । यसले विस्तारै नेपाली भूमि खतरामा पुगेको छ ।’
किमाथांका–१ मा एक सय घर परिवार बसोबास गर्छन् । चीनपट्टी करिब १ किलोमिटर क्षेत्रमा आफ्नो चाँगा बजारको सीमाना सुरक्षित गर्नेगरी चीनले तटबन्ध बनाएको हो ।
चीनले तिङ गीसेनबाट रिउ हुँदै चाँगा बजारसम्म आउने सडक अरुण नदीलाई बाँध लगाएर निर्माण गरेको छ । ‘त्यस क्षेत्रमा चीनले सन् २०१७ देखि बाँध निर्माण थालेको हो । पञ्चवर्षीय यस योजनामा उनीहरुले स्काभेटर प्रयोग गरी बालुवा, गिटी निकालेका छन् । यसले ठूलो समस्या खडा गर्ने देखिन्छ ।’ शेर्पाले बताए ।
चीनले बनाएको संरचनाबारे गत मंसिरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, प्रमुख जिल्ला अधिकारी लगायतको २७ जनाको टोलीले अनुगमन गरेको थियो ।
उक्त अनुगमनमा संलग्न एवं संखुवासभाकै प्रदेशसभा सांसद सरिता थापा खड्काले चिनिया पक्षले अरुण किनारामा सडक खनेकाले त्यसको सुरक्षाका लागि आरसीसि ढलानसहित तटबन्ध उठाएको बताइन् ।
‘ उक्त क्षेत्रमा नाका खोल्न २०० रोपनी जग्गा मात्र समथर भूभाग छ । त्यसको व्यवस्थापन नहुने हो भने नाका खोल्न समस्या हुने मात्र होइन अरुण नदीले धार परिवर्तन गर्दा त्यस क्षेत्रको भू–भाग नै समस्यामा परेको उनले जानकारी दिइन् ।
चीनले तटबन्ध बनाएर नदी कटान गराउन थालेपछि पनि वर्षायाममा बाढीको समस्या बढने गरेको छ । चीनले बनाएको संरचनाका कारण नेपाली भूमि डुबान भएको हो त ? शेर्पा भन्छन् –‘बाँधले नदी कटान गरेर समस्या भएको हो ।’
यता चीनले निर्माण गरेको तटबन्धले गर्दा तराईको सहायक नदीहरुमा पानीको बहाव उच्च भएर तराई रौटहट , वारा र पार्सा जिल्लालाई बाढीले प्रभाव परेको छ ।
चीनले ५ वर्षीय रणनीति अनुरुप सीमा क्षेत्रमा एकाएक संरचना बनाई नेपाली भूभागतर्फ नदी छाडेपछि नेपाली भूभाग विस्तारै बगाउने देखिएको छ । यद्यपि समस्या समाधानका लागि सिँचाईमन्त्री वर्षमान पुनले पनि हेलिकोप्टरबाट अवलोकन गरेका थिए ।
प्रादेशिक मुख्यमन्त्रीसहित संघीय सरकारका अन्य मन्त्रीले पनि भ्रमण गरी वस्तुस्थिति बुझेका थिए । समस्या समाधानका लागि केन्द्र सरकारले डेढ करोड बजेट छुट्याएको थियो । बजेटबाट १०८ मिटर तटबन्ध निर्माण गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।
‘नाका सञ्चालनका लागि जिरो प्वाइन्ट त्यहीँ हो । उनीहरुले बनाएको संरचनाले हाम्रो कटान मात्र भएको छैन ठूलो चउर त डुबान नै गरिसक्यो । भोलि नाका सञ्चालनका लागि पनि ठाउँ छैन ।’ उनले स्पष्ट पारे ।
संखुवासभाका प्रतिनिधि सभा सांसद् राजेन्द्रप्रसाद गौतमले पनि तटबन्ध बनाएर चीनले चिनिया भूभागको रक्षामा लागेको बताए । ‘उसले तटबन्ध बनाएर आफ्नो क्षेत्र सुरक्षा गरेको हो । हामीले पनि आफ्नो क्षेत्रपट्टि तटबन्ध बनाएर लगेका छौँ ।’