arrow

अस्पतालको आन्तरिक बिवादले हात्तीपाईलेको औषधी वितरण भएन

logo
निर्मल खत्री,
प्रकाशित २०७२ चैत १६ मंगलबार
Myagdi-hamrakura.jpg.jpeg
म्याग्दी । देशव्यापी रुपमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइसकेको छ । तर  म्याग्दी भने उक्त कार्यक्रम अझै सञ्चालन हुन सकेको छैन ।  स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको अस्पताल र जनस्वास्थ्यलाई छुट्टाछट्टै कार्यालयको हैसियत दिने माघ ३ गतेको निर्णय कार्यान्वयनका विषयमा अस्पताल विकास समिति र कर्मचारी बीच मतभेद भएपछि जिल्लामा समयमै औषधी वितरण हुन नसकेको हो । २५ शैथ्या क्षमताको जिल्ला अस्पताललाई ५० शैथ्यामा क्षमता विस्तार गर्ने सरकारी निर्णयसंगै सेवामा विशिष्टीकरण ल्याउन अस्पताल र जनस्वास्थ्यलाई आफ्नै तवरले कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।
 
तर, सरकारको उक्त निर्णय विरुद्ध जनस्वास्थ्य तर्फका कर्मचारी बाहेक अन्य कर्मचारी र अस्पताल विकास समिति नै आन्दोलनमा उत्रिएपछि फागुन २९, ३० र चैत १ गते भित्र सम्पन्न हुनुपर्ने कार्यक्रम अहिलेसम्म सुरु हुन सकेको छैन । सरकारले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न जनस्वास्थ्य र उपचारका काम गर्न अस्पताललाई जिम्मा दिएको छ । अहिलेको अवस्थामा दुबै तर्फको प्रमुख अस्पतालका डाक्टर हुने प्रावधान छ भने उसकै निर्देशनमा कार्यक्रम र कार्यालयका खाता सञ्चालन हुनेगरेको छ । तर, जनस्वास्थ्य स्वायत्त हुनेवित्तिकै जनस्वास्थ्य अधिकृतको निर्देशनमा चेतनामुलक र सन्देशमुलक कार्यक्रम उसकै नेतृत्व र निर्देशनमा सञ्चालन हुन्छ ।   
 
दुई कार्यालयलाई यथास्थानबाटै कार्यक्रम सञ्चालन गर्न माग गर्दै अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीकै नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रालयमा ज्ञापनपत्र बुझाउने देखि अस्पतालमा जनस्वास्थ्य कार्यालयको बोर्ड राख्न नदिनेसम्म कार्य भएको थियो । स्वास्थ्य मन्त्रालयले चैत १ गते यथास्थानबाटै कार्यक्रम सञ्चालन गर्न फेरि निर्देशन दिएपछि तत्काललाई उक्त विबाद साम्य भएको छ । देशव्यापी अभियानका बेला आफु कार्यालय प्रमुखको हैसियतमा नरहेकाले औषधी वितरण गर्न नसकेको अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले जानकारी दिए । 
 
‘मन्त्रालयले त्यतिबेला जनस्वास्थ्य प्रमुखलाई यस्ता कार्यक्रम गर्न जिम्मेवारी दिएको थियो, म त अस्पतालको मात्रै प्रमुख थिएँ, उनको प्रश्न छ ‘जिम्मेवारीमा नभएको बेला मैले कसरी कार्यक्रम सञ्चालन गर्न सक्छु ?’ मन्त्रालयको पछिल्लो निर्देशन अनुसार चैत २५, २६ र २७ गते कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका बनेको उनले बताए । जनस्वास्थ्य अधिकृत नारायण चौधरीले विभिन्न किसिमका भ्रम छरेर समयमै कार्यक्रम सञ्चालन गर्न नदिएको आरोप लगाए । ‘समन्वय गर्नुपर्ने अस्पताल विकास समितिको नेतृत्व नै यो विषयमा नकरात्मक रुपले प्रस्तुत हुनुभो । थरि–थरिका आन्दोलन भए, उनले भने, ‘ लेखा अधिकृतले मसंग खाता सञ्चालन गर्न पनि मान्नुभएन । अनि मैले कसरी कार्यक्रम सञ्चालन गर्न सक्छु ?’ 
 
अस्पतालको क्षमता विस्तार भईसकेको अवस्थामा अन्य जिल्लामा पनि दुई कार्यालयले छुट्टै किसिमले कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । यसपटक म्याग्दीमा १ लाख ४ हजार जनालाई हात्तीपाईले विरुद्धको औषधी खुवाउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ‘पाँच बर्षदेखि मुनीका बालबालिका, सुत्केरी, ७० बर्षभन्दा माथि बृद्धबृद्धा र सिकिस्त विरामीलाई हामी यो औषधी खुवाउँदैनौँ, प्रमुख डा. न्यौपानेले भने, ‘त्यसका लागि ९ सय स्वास्थ्यकर्मी खटिदैछन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ