पूर्वी युरोपमा कम्युनिष्ट नेताहरु नै राजा महाराजाजस्तै हुँदै गएपछि जनताले लखेटे : प्रचण्ड
पार्टीमा अनुशासन खस्कँदै गएकोमा प्रचण्डको चिन्ता
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
324
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रचण्डले पूर्वी युरोपमा कम्युनिष्ट नेताहरु नै राजा महाराजाजस्तै हुँदै गएपछि जनताले लखेटेको स्मरण गराए ।
सोभियत सङ्घलगायत मुलुकमा कम्युनिष्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाले कम्युनिष्टसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेको उदाहरण रहेको बताए ।
उनले विगतमा जनतासँग गरेको प्रतिबद्धता भुल्दै जाने हो भने गणतन्त्र, धर्मनिरपेक्षता, स¬ङ्घीयतालगायत उपलब्धि गुम्न सक्ने खतरा औँल्याए। अध्यक्ष दाहालले भने, “पूर्वी युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिष्ट नेताहरु नै राजा महाराजाजस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।” उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे ।
कम्युनिष्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गरे । “हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौँ”, उनले भने, “आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।”
विगतमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारीका साथ कम्युनिष्ट पार्टी चल्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “आजकल त्यो उल्टिएको छ । व्यक्तिगत निर्णयको जिम्मेवारी सबैले लिनुपर्ने । यो निकै उल्टो भएको छ । यो प्रवृत्तिलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।”
कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भए पनि सत्तामा पुगेपछि त्यसलाई बिर्सदै जाने प्रवृत्ति देखिएको भन्दै उनले कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारैविस्तारै बुर्जुवा शैलीतर्फ जान थालेकाप्रति चिन्ता लागेको बताए । जनता सार्वभौमसत्ता सम्पन्न हुने गरी यो अवस्थासम्म आइपुग्न वर्ग सङ्घर्षको ठूलो भूमिका रहेको उनको भनाइ थियो ।
उनले माक्र्सवादलाई अक्षरशः पालना गर्नेभन्दा पनि मार्गदर्शन सिद्धान्तका रूपमा लिनुपर्ने बताए । “एउटा प्रवृत्ति माक्र्सवाद, लेनिनवाद, या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरशः पालना गर्नेभन्दा पनि मार्गदर्शन बनाउनुपर्छ”, अध्यक्ष दाहालले भने ।