बर्दिया(ठाकुरबाबा) । पहरिया थारुलाई शिकार बनाउने एक बाघलाई नियन्त्रणमा लिइएको छ । आईतबार बिहान घरमा बंगुरलाई दाना दिइरहेको अवस्थामा पहरिया थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो। थारुलाई आक्रमण गर्ने बाघलाई अथक प्रयासपछि आज सोमबार बिहान ८ बजेर १८ मिनेट जादा बेहोस गराउने डाट हानेर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन असोक भण्डारीले बताए।
आइतबार बिहानदेखि नै बाघ बजार तिरै छ भन्ने खबर त्रासदि रहेको बर्दियाको ठाकुरबाबा नगरपालिका १ स्थित भुरिगाँउ बजार बाघ नियन्त्रणमा आएको खबरले अहिले चहलपहल बढेको छ।
नियन्त्रणमा लिइएको बाघको अवस्था एकदमै नाजुक रहेको भण्डारीले भने। "बाघ करिब १५ बर्ष जतिको भैसकेको र बाघहरु एक आपसमा जुध्दा यो बाघको शरीर भरि घाउहरु धेरै देखिएको छ" उनले भने। एक आपसमा जुध्दा भएको घाउ पाकिसकेकोले बाघको अवस्था एक दमै नाजुक रहेको समेत उनले भने।
बाघ धेरै बुढो भएको र खान नपाएर जंगल बाहिर गांउ तिर मान्छेलाई आक्रमण गरेको हुन सक्ने समेत उनले जानकारी दिए। अबका दिनमा पनि बाघबाट हुन सक्ने आक्रमणबाट बच्नका लागि जंगल छेउमा बस्ने स्थानीयहरुले बाघको संख्या बढेसंगै अझै बढि सजगता अपनाउनु पर्ने समेत भण्डारीले बताए।
बाघको संख्या बढे संगै मानव र वन्यजन्तुका बिचमा द्वन्द्व कम गर्नका लागि स्थानीयहरुमा जनचेतना मुलक कार्यक्रम गरिने उनले भने। बिहिवार पनि पाटे बाघ कै आक्रमण बाट एक महिलाको मृत्यु भएको थियो। ४ दिनमा आक्रमण गरि बाघले २ जनालाई आफ्नो शिकार बनाइसकेको छ।