भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
रासस,
प्रकाशित २०७६ भदौ १० मंगलबार
635
Shares
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ। प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गरे।
“उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो, पछिल्लो कार्यविधि संशोधनबाट अधिकारको दुरुपयोग भएको छ”, उनले भने, “प्रधानमन्त्री स्वदेशमा नभए पनि उनकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक होइन, भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिने मात्र होइन, लिएको शपथ विपरीत हुन जान्छ।”
प्रमुख सचेतक खाँणले प्रधानमन्त्री बाहिर जाँदा उनको कार्यभार सम्हाल्ने व्यवस्थाअनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसद्लाई गराइसकेको बताउँदै प्रधानमन्त्री अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यभार तोकिनुको अर्थ के रह्यो भनी प्रश्न गरे।
बैठकमा प्रमुख सचेतक खाँणले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको तर्फबाट स्वास्थ्य उपचारको क्रममा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरे।