काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन् । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबार भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गर्दै जीवनराम निर्वाचित भएका हुन् ।
कूल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाए । त्यस्तै उमेशलालले १० मत प्राप्त गरे । जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा लगातार दुई कार्यकाल निर्वाचित भएका हुन् ।
जीवनराम र उमेशलाल दुवै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हुन् । सांसद समेत रहेका जीवनराम माधवकुमार नेपाल खेमाका हुन् ।
उमेशलाल नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठका पुत्र हुन् । उमेशलाल प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीका पक्षधर हुन् ।
ओलीले जति मेहनत गरे पनि उमेशलाललाई जिताउन सकेनन् । ओलीको बोलीको प्रभाव नचलेको स्पष्टै भएको छ ।
सकिएकै हो त ओलीको प्रभाव ?
खेल क्षेत्रमा लागेका नेकपाका केही नेताहरुका अनुसार सिंगापुरबाट उपचार गरेर फर्केपछि ओलीले उमेशलालका लागि भोट माग्ने विश्वास गरिएको थियो ।
ओली पक्षधर केहीले प्रयास पनि गरे । तर सकेनन् । ओलीको प्रभावले केही पनि काम गरेन । फेरि हारे उमेशलाल । यसअघि पनि ओलीकै बलमा उमेशलाल खडा भएका थिए ।
ओलीका विश्वासपात्र राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले ओलीलाई धोका दिएको गाइँगुइँ चर्चा छ ।
उनले नै उमेशलाललाई भोट नदिएको हल्ला चलेसंगै तिम्सिनाले यसबारे अझै बोलेका छैनन् । उनी उपमहासचिवमा निर्विरोध भएका छन् । पहिलो पटक उनी ओलम्पिकमा छिरेका हुन् ।