श्रेष्ठहरु तयार नभएपछि जिब्रो छेड्ने जात्रा रोकियो, निस्केनन् कोही परम्परा धान्ने
प्रकाशित २०७६ भदौ २९ आइतबार
315
Shares
भक्तपुर । गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडे ।
विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि मर्यो । जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि यस वर्ष फेरि यो जात्रा रोकिएको छ ।
जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिका श्रेष्ठ थरकै हुनुपर्ने प्रचलनअनुसार चेंया पुन्हिया मेय प्वाः खनेगु जात्रा व्यव्स्थापन समितिको संयोजनमा जात्रा मनाए पनि समितिले समेत यस वर्ष अर्को व्यक्ति तयार गर्न नसक्दा जात्रा रोकिएको हो ।
२५ वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले विसं २०५२, २०५७ र २०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाएका थिए ।
त्यसपछि गत वर्ष स्थानीय युवाले समिति नै बनाएर जात्रा जोगाउने अभियान सञ्चालन गरेपछि विसं २०७४ मा बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले र विसं २०७५ मा थिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए ।
मध्यपुरथिमि नगरपालिकाको रु तीन लाख ५० हजार सहयोग र नपुग रकम स्थानीयवासी चन्दादाताबाट सङ्कलन गरी गत वर्ष सञ्चालन भएको यो जात्रा यस वर्षबाट भने फेरि अनिश्चित बनेको छ ।