'सिंहदरबारबाट पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथीको ठाडो प्रहार'
प्रकाशित २०७६ भदौ ३० सोमबार
431
Shares
काठमाडौं । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत बिनाकारण निष्काशन गरिएका पत्रकारहरु प्रकाशबहादुर बम, चक्र कुँवर र सुनिता रावलको पुनर्वहालीको मागसहित वार्ताका लागि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा पुगेका पत्रकारहरुलाई पक्राउ गरिएको घटनाप्रति नेपाली कांग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबावु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य यम बिरही, जन्मदेव जैसी, मीन बम, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य दिपिल पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रतामाथी ठाडो प्रहार गरेको छ ।
प्रमुख सचेतक वालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'संवाद तथा वार्ताको माध्यमबाट निकास दिनुको सट्टा वर्तमान सरकारले ठिक विपरीत प्रहरी प्रशासन लगाई शान्तिपूर्ण रुपमा वार्ता गर्न पुगेका पत्रकारहरुलाई हस्तक्षेप गरी पक्राउ गर्नु अत्यन्तै निन्दनीय कार्य हो । शान्तिपूर्ण ढंगले आफ्ना मागहरुलाई राख्न पाउने नैसर्गिक अधिकारलाई दमन गरिएको प्रति नेपाली काँग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।'
निष्काशन गरिएका श्रमजीवि पत्रकारहरुलाई तत्काल स–सम्मान पुनर्वहालीका लागि सरकार एवं सम्बन्धित पक्षसँग नेपाली कांग्रेस संसदीय दलले जोडदार माग गरेको छ । लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र पत्रकारिता हो भन्दै संसदीय दलले स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली कांग्रेस सदैव दृढतापूर्वक उभिरहने प्रतिवद्धता व्यक्त गरेको छ ।