काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरेर दिएको अभिव्यक्तिमा मर्यादाको उलंघन भएको भन्दै आलोचना गरेका छन् ।
नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तिका ‘नेकपा सरकारका काण्डै काण्ड’ को बिमोचन समारोहमा सम्बोधनका क्रममा नेता घिमिरेले राष्ट्रपति भण्डारी पदीय मर्यादाविपरित बोलेकोभन्दै आलोचना गरेका हुन् ।
“नेताको बोली सुनिएन भन्नु तपाईंको कुरामा म सहमत छैन भन्ने हो। त्यो पदीय मर्यादाविपरित हो,” उनले संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने ।
कांग्रेसका कार्यकर्ताहरुले आफ्नो पार्टीका सभापति देउवामाथि राष्ट्रपति भण्डारीले जानाजान घोचपेच गरेको भन्दै व्यापक असन्तुष्टि जनाउँदै आएका छन् । आइतबार सोही विषयलाई उछाल्दै कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।
केपी ओली नेतृत्वको सरकार जस्तो जनतालाई उपदेश दिने सरकार संसारमा कतै पनि नभएको उल्लेख गर्दै सरकार जनतालाई, संसद, न्यायालयलाई त उपदेश दिँदै आएको थियो हुँदाहुँदा प्रतिपक्षलाई पनि उपदेश दिन थालेको घिमिरेले बताए।