arrow

चीनको सिको गर्दै नेपालबाट सङ्घीयता, लोकतन्त्र अन्त्य गर्ने खेलमा नेकपा: निधी

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
nidhi_1.jpg

धनुषा। नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालबाट सङ्घीयता, लोकतन्त्र र संसदीय व्यवस्था अन्त्य गर्ने खेलमा लागेको आरोप लगाएका छन्। 

उनले नेकपा चीनको कम्युनिष्ट पार्टीको बाटोमा हिँड्न लागेको बताउदै नेकपा नेतृत्वको सरकार सङ्घीयता र लोकतन्त्र सिध्याउने षड्यन्त्रमा लागेको आरोप लगाए । 

दोस्रोचरणको राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत धनुषाको नगराइनमा आयोजित आमसभामा बोल्दै उपसभापति निधिले भने, “चीनमा लोकतन्त्र, संसदीय व्यवस्था र सङ्घीयता छैन । र यो सरकार पनि चिनियाँ कम्युनिष्ट पार्टीको पथमा हिँड्न थालेको हुँदा सङ्घीयता र लोकतन्त्र खतरामा छ ।”

निधिले भने, “नेपालका कम्युनिष्ट आफू प्रशिक्षित हुन सिपीसी (कम्युनिष्ट पार्टी अफ चाइना) को विचार आयात गर्दैछन्, नेकपाका नेतालाई प्रशिक्षण दिन चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आउँदैछन् । यो सव के हो ?” 

निधिले आजदेखि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारात्मक अन्तरक्रिया हुँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा हुन लागेको यो अन्तक्र्रिया नेकपाको स्कुल विभाग र विदेश विभाग सहआयोजक रहेको तर्फ सङ्केत गरे । 

उनले सङ्घीयता र संविधानमाथि अरु कोही भन्दा पनि सरकारबाटै खतरा रहेको बताउँदै सङ्घीय सरकारले संविधान बमोजिमको अधिकार पनि प्रदेशलाई दिन नचाहनुसमेत सङ्घीयतामाथिको प्रहार भएको बताए । 

निधिले संविधानमा प्रदेश र स्थानीय तहका अधिकारबारे स्पष्ट उल्लेख भए पनि केन्द्रीकृत मानसिकता त्याग्न नसकेको सङ्घीय सरकारले सबै अधिकार सिंहदरबारमै केन्द्रिकृत गरिरहेको बताए। 

उनले सरकारले प्रस्ताव गरेको नागरिकता सम्बन्धी विधेयकमाथि समेत निधिले असन्तुष्टि व्यक्त गर्दै  वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर भए काङ्ग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने बताए। 

नेका उपसभापति निधिले प्रदेश– २ सरकार समेत भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै सत्तारोहणको दुईवर्ष पुग्नै लाग्दा पनि लालबाबु राउत नेतृत्वको सरकारले  पनि कुनै ठोस् उपलब्धिमूलक काम गर्न नसकेको बताए 

निधिले भने, “नेपालमा अब कुनै मधेशवादी पार्टी छैन । सबैले आ–आफ्नो दलको नामबाट मधेश हटाइसकेका छन्, साइनबोर्डमासमेत मधेश देखिँदैन । अब आफूलाई मधेशवादी बनेर जनता ठग्ने काम बन्द गर्नुपर्छ ।” 

उनले प्रदेश २ को नाम मिथिला–भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने आफ्नो धारणा दोहराउँदै त्यसो हुन नसके काङ्ग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ