एक हजार रुपैयाँ लिएका सुवेदीले घरमै झुण्डिएर गरे आत्महत्या
प्रकाशित २०७६ असोज ७ मंगलबार
256
Shares
भक्तपुर । एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन् ।
अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक साता मै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक सुवेदीको शवको भक्तपुर अस्पतालमा आजै पोष्टमार्टम गरिएको छ ।
कलङ्की मालपोत कार्यालयमा खरिदारका रूपमा रहँदा गत असार महिनामा रु एक हजार रकम लिँदै गरेको सिसी क्यामराको दृश्य अवलोकन गरी अख्तियारले सुवेदीलाई हाजिर हुन कार्यालयमा बोलाई कार्यालयबाटै गत साउन २२ गते पक्राउ गरी थुनामा राखेको थियो ।
विगत २१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ दिँदा ज्यानै गुमाउनुपरेको अस्पताल आएका आफन्तले बताएका छन् । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आरोप लगाएका छन् ।
गत माघ महिनामा बुबाको निधन भएको सुवेदीले पनि आत्महत्या गरेपछि परिवारमा एकैवर्षमा दुईवटा शोक परेको भन्दै आफन्तले सुवेदीकी श्रीमती, १४ वर्षका एक छोरा, एक छोरी र वृद्ध आमा शोकमा परेको आफन्तको भनाइ छ । सुवेदीको आजै दाहसंस्कार गरिने परिवारले बताएका छन् ।