पूर्व राजा तथा अरुबाट नभई संघियता र संविधानमाथि ओली सरकारबाटै खतरा – उपसभापति निधि
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ असोज ८ बुधबार
488
Shares
धनगढी । संघियता र संविधान पूर्व राजा तथा अरुबाट नभई वर्तमान सरकारबाटै खतरा भएको नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बताएका छन् ।
नेपाली काँग्रेसद्वारा दोस्रो चरणको जागरण अभियानको समापनका क्रममा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति निधिले भने ‘संविधान मिचेर सरकारले संविधान बिरोधी काम गरेकाले मुलुकमा वर्तमान कम्युनिस्ट सरकारबाट लोकतान्त्रिक शासन पद्धतिमाथि खतरा देखिएकोले काँग्रेस बिरोधमा उत्रनुपरेको हो ।’
निधिले भने, ‘मुलुकको समावेशी प्रणाली र संघियताको मर्म विपरित सरकार लागिपरेको छ । सरकार संविधान सिध्याउने खेलमा लागेको छ ।’
धनगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै काँग्रेस उपसभापति निधिले भने, ‘पहिलो संविधान सभाको निर्वाचन पछि कम्युनिस्ट सरकार मुलुकमा बने पनि राष्ट्रलाई निकास दिन सकेन । दोस्रो संविधान सभाको निर्वाचनपछि तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान दियो । फेरि शेरबहादुर देउवा नेतृत्वको सरकारले नै संबिधानको कार्यान्वयन गर्दै देशमा तीन तहको निर्वाचन सम्पन्न गरायो ।’
उनले भने, ‘जब जब देशलाई संकटबाट निकास दिनु पर्ने अबस्था आयो तब नेपाली कांग्रेसले नै निकास दिएको छ । ००७ साल त्यसपछि पंचायती शासन विरुद्ध ०४६ र ०६२–०६३ को राजनैतिक परिवर्तनमा नेपाली काँग्रेसले नै नेतृत्व गरेको छ ।’
मंगलवार धनगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उपसभापति निधिले भने, ‘माओवादीले देशमा बम हतियारले विध्वंस गर्दै राजतन्त्रको विरुद्धमा लडे पनि सफल बन्न सकेन काँग्रेसकै नेतृत्वमा नै मुलुकमा गणतन्त्र आएको हो । आज त्यही लोकतन्त्रमाथि कम्युनिस्ट सरकार खतरा देखिएकोले नेपाली काँग्रेस सडक र संसदबाट बिरोधमा उत्रनुपरेको हो ।’
विरोधसभामा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य ईश्वरी न्यौपाने र नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले समेत सम्बोधन गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुको सभापतित्वमा सम्पन्न भएको थियो ।