खानेपानीको चरम अभाव रहेको मुलुकमा पानी जहाज चलाउँने ओलीको सपना : महामन्त्री कोइराला
प्रकाशित २०७६ असोज ८ बुधबार
553
Shares
खोटाङ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले खानेपानीको चरम अभाव रहेको मुलुकमा सरकारको पानी जहाज चलाउँने कुरा हावादारी रहेको बताएका छन् । नेपाल प्रेस युनियन खोटाङ शाखाले दिक्तेलस्थित होटल सगरमाथामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोईरालाले मुलकभरी रहेको १७ लाख हेक्टर खेतियोग्य जमिन पानी अभावमा बाँझिदै गएको र हरेक वर्ष खडेरीले मुहान सुक्दा खानेपानीको समस्याले मुलुक ग्रसित हुनुपर्ने अवस्थामा पानी जहाज चलाएर देखाउँछु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा हावादारी रहेको बताएका हुन् ।
दिक्तेल बजारमा आयोजित कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा बिरोधसभालाई सम्बोधन गर्न आएका कोईरालाले सुखी नेपाली समृद्ध नेपालको नारालेमात्र मुलुकमा समृद्धि नआउँने बताएका छन् । संमृद्धि आउनका लागि योजना हुनुपर्छ तर, नेकपा सरकारले स्पष्ट रुपमा योजना ल्याउँन नसकेको उनको भनाई छ ।
पहिल्यैदेखी भई आएको कुराहरुमा मात्रै सरकार लागि परेको कोईरालाले बताए । उनले भने, ‘अन्तर्रा्ष्ट्रिय एयरपोर्ट, निजगढ एयरपोर्ट, पोखरा एयरपोर्ट, गौतमबुद्ध एयरपोर्ट भनेको छ । त्यो पहिल्यैदेखी भई आएको कुरा हो । कुनै कुरा सरकारले गर्न सकेको छैन । ‘पानी जहाज, रेल भनेको छ । हाम्रोमा खानेपानीको हाहाकार छ । पानी जहाज, रेल ल्याएर के गर्ने ? । रेल ल्याउदा त्यसले कती फाईदा गर्छ । झन् ऋणमा डुब्छौ कि भन्ने चिन्ता पनि छ ।’
रेल केरुङ, भारतबाट आउछ भन्छ । त्यसले गर्दा हाम्रो ऋण झन् बोझिलो बन्छ । तसर्थ हामीले बाटोघाटो बनाएर उत्तरदक्षिण कालिगण्डकी करीडोर, केरुङ जाने बाटो लगायतका अरु बाटाहरुमा हामीले ध्यान दिनुपर्छ यसतर्फ सरकारको ध्यान छैन । नेपालमा पर्यटन र विधुतको संम्भावना धेरै राम्रो छ । त्यो चलिरहेको छ । अबको युगान्तकारी परिवर्तनका लागि प्रथम त कृषि नै हो । कोईरालाले भने, ‘कृषियोग्य १७ लाख हेक्टर जमिन छ । कतिपय ठाउँमा पानी छैन, तर कतीपय ठाउँमा बबई भेरी डाईभर्सनले गरेर धेरै खेतहरु सिंचाईयुक्त भईसकेका छन् । कृषिमा आधुनिकीकरण गरेर, चक्लाबन्दी गरेर अगाडी बढ्नुपर्छ । कृषि सम्बन्धि अनुसन्धान गरेर सरकारले नीतिहरु तर्जुमा गर्नुपर्ने हो जुन यो सरकारले गर्न सकेको छैन ।’
सरकारले अहिलेसम्म कुनै पनि ठोस कार्ययोजना तयार पार्न नसकेको मुलुकमा कम्युनिष्टको सरकार भए पनि संमृद्धितर्फ स्पष्ट विचार नआएको र नेपाली कांग्रेस पहिलो पटक सरकारमा गएको वेला धेरै परिवर्तन ल्याएको कोईरालाले स्मरण गराए । कांग्रेसले त धेरै परवर्तन गर्यो, एउटा विश्व विधालय थियो । अहिले १२ वटा विश्वविधालय छ । कल्ले दियो नेपाली कांग्रेसले दियो ।
अब हरेक प्रदेशमा एकवटा विश्वविधालय भन्ने कन्सेप्टबाट जानुपर्छ । हरेक प्रदेशमा एकएक विश्वविधालय भएको खण्डमा त्यहाँका जनताले पढ्न लेख्न पाउछन् । तीन तहको सरकारमा व्यापक भ्रष्टाचार भईरहेको, वाइडबडी काण्ड, बुढी गण्डकी प्रकरण, निर्मला प्रकरण, करको कहरजस्ता कुराले सरकारका संमृद्धिका नाराहरु नारामै सिमित रहेको महामन्त्री कोईरालाले बताए ।
जनता नेकपा सरकारसंग असन्तुष्ट रहेको वेला कांग्रेसले जनतालाई साथ दिनुपर्नेमा पनि कोईरालाले जोड दिए । कांग्रेसले जनताका हितमा काम गरेको तर, प्रचार नगरेकोले गत चुनावमा केही समस्या पैदा भएको बताए । कोईरालाले आगामी चुवानमा कांग्रेसले जनताको पक्षमा काम गरेर पहिलो पार्टी बन्ने जिकिरसमेत गरे ।
पत्रकार सम्मेलन नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाँईको सभापतित्वमा तथा कांग्रेस महामन्त्री डा.शशांक कोईरालाको प्रमुख आतिथ्यतामा भएको हो । सम्मेलनमा कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारी, कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राई, प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, केन्द्रिय प्रतिनिधि तथा ओखढुङगाकी पूर्व पार्टी सभापति गोमा केसीलगायको विशेष आतिथ्यतमा सम्मेलनको आयोजना गरिएको हो ।