- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई साँझ ६ वजेर १४ मिनेटमा सभामुख निवासबाट पक्राउ गरि लगिएको हो। उनलाई एक रातो कारमा लगिएको हो।
पक्राउ परेका महराको प्रहरीले अनुसन्धान प्रक्रिया आइतवारबाटै थाल्ने भएको छ। पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ। यसअघी उनले सभामुख पदबाट दिएको राजिनामा स्विकृत भइसकेको छ।
नेपालको इतिहासमा वहालवाला उच्चपदस्थ व्यक्ती गैरराजनीतिक कारणबाट पक्राउ परेको यो पहिलो घटना हो। सरकारी निवासबाटै उच्चपदस्थ व्यक्ति गैरराजनीतिक कारणमा पक्राउ परेको पनि यो पहिलो घटना हो।
महरालाई पक्राउ गरि किटानी जाहेरी दिइएको वानेश्वर प्रहरी प्रभाग लैजाने तयारी भएको थियो। तर पछि उनलाई सिंहदरवार प्रहरी वृतमा राखिने गरि लगिएको छ। महरा हिरासतमा आफ्नै गाडीमा जान जिद्दी गरेका कारण उनलाई नियन्त्रणमा लिएर पनि वाहिर निकाल्न ढीला भएको हो।
देशभर दशैंको माहौलमा आफन्तहरु भेटघाटमा रहेका बेला महरा भने दशैंका बेला हिरासतमा दशैं मनाउन वाध्य भएका छन्।
काठमाडौं जिल्ला अदालतले आइतबार महराविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो। अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
पीडित महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि प्रहरीले महरालाई पक्राउको तयारी गरेको थियो।
पक्राउ गर्ने गृहकार्य बीचमै प्रहरीले गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरेको थियो। गत आइतबार (असोज १२ गते) राति महराले आफूलाई बलात्कार गरेको भन्दै हाम्राकुरा मार्फत रोशनी शाहीले सोमबार (असोज १३ गते) खुलासा गरेकी थिइन् । लगत्तै मंगलबार (असोज १४ गते) नै विभिन्न दवावमा परी आफूलाई बलात्कार नभएको भन्दै हाम्राकुराका सम्पादकलाई सामाजिक सञ्जालबाट आरोपित गरेकी थिइन्। तर पछि उनको सामाजिक सञ्जाल पनि अरु नै व्यक्तिले चलाएको प्रमाणित भएको थियो।
स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो। महरा स्वयंले पनि हाम्राकुरालाई आफू महिलाको कोठामा गएको बताएका थिए।
आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।
सरकारी वकिलको कार्यालय तथा अदालत खुलेपछि उनको कानुनी प्रक्रिया अघी बढ्ने छ। यसअघी उनलाई नियन्त्रणमा लिन उपसभामुखले अनुमति दिएकी थिइन।