arrow

नेपाल चीन सम्बन्धमा ऐतिहासिक उचाइ

दुवै देशका लागि एक महत्वपूर्ण अवसर

logo
एकराज पाठक, रासस
प्रकाशित २०७६ असोज २४ शुक्रबार
oli-xi-jing-ping.jpg.jpeg

काठमाडौं। नेपाली कूटनीतिक क्षेत्रको एक व्यग्र प्रतीक्षाको विषय रहेको मित्रराष्ट्र चीनका राष्ट्रपतिको नेपाल भ्रमणले शनिबार पूर्णता पाउने भएको छ । यो भ्रमणले दुई देशको मित्रतालाई ऐतिहासिक उचाइमा त पुर्‍याउने नै छ, यसबाहेक आपसी हित र पारस्परिक लाभका क्षेत्रमा पनि ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

गएको कम्तीमा एक दशकका नेपालका परराष्ट्रमन्त्री एवम् उच्च कूटनीतिज्ञलाई नेपाली आमसञ्चारले सोध्ने पहिलो प्रश्न ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ’ भन्ने थियो । साथै नेपालको कूटनीतिक क्षेत्रका धेरै अवयवहरुमध्ये सञ्चामाध्यमहरुमा प्रायः प्राथमिकतामा आउने विषय यो भ्रमणको थियो ।

सञ्चारमाध्यममा मात्र नभएर आम नेपालीमाझ छाउने यो चासो र चर्चाको जवाफ अब लगभग एकै पटक प्राप्त हुने भएको छ । निकै लामो प्रतीक्षापछि चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार नेपाल आउँदै छन् । यस भ्रमणले नेपाल चीन सम्बन्धमा गएको २३ वर्षपछि पहिलो पटक नयाँ आयाम र उचाइ थपिदिने भएको छ ।

यतिखेर काठमाडौँ सी चिनफिङमय भएको छ । उनको स्वागतका लागि काठमाडौँले लगभग आफ्नो तयारी पूरा गरेको छ । सुरक्षाकर्मीहरु आवश्यक मात्रामा तैनाथ छन् भने भ्रमणमा हस्ताक्षर हुने एजेन्डाका लागि व्यापक मात्रामा गृहकार्य जारी छ । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेपछि यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हुनेछ । त्यसैले पनि यो भ्रमणले बढी चासो र चर्चा जन्माउनु स्वाभाविकै हो ।    

राष्ट्रपति चिनफिङको नेपाल भ्रमणको समाचार सम्प्रेषणका लागि दुई दिनअघि काठमाडौँ आएकी चिनियाँ समाचार समिति सिन्ह्वाकी समाचारदाता हुवाङ यिनजियाजी भन्छिन, “मेरो पत्रकारिताको जीवनमा यो भ्रमणको समाचार ‘कभरेज’ लाई मेरो एक ऐतिहासिक जिम्मेवारीका रुपमा लिएकी छु ।” शुक्रबार बिहान सिन्ह्वा समाचार समितिका अन्य संवाददाताहरुसँगै चन्द्रागिरि हिल्समा भेटिएकी उनले यो भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताईन । “यो दुवै देशका लागि एक महत्वपूर्ण अवसर हो”, उनले भनिन् । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा आएदेखि नै नेपालमा चिनियाँ रेलको एजेन्डाको चर्चा थालेका थिए । त्यसैले पनि यो भ्रमणमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्नेबारेमा दुई देशबीच सम्झौता हुन सक्ने अनुमान सर्वत्र गरिएको छ । नेपालीहरुले चीनसँग रेलमार्गबाट जोडिन पाए राष्ट्रिय समृद्धिको बाटो खोल्न सहयोग पुग्ने अपेक्षा सर्वत्र गर्ने गर्दछन् । उनीहरुको कानमा चिनियाँ रेल पर्न थालेको पनि निकै भएको छ । 

त्यस्तै यस भ्रमणका क्रममा केरुङ–काठमाडौँ सुरुङ मार्गसहितको सडक निर्माणका विषयमा पनि आवश्यक सहयोग सम्झौता हुन सक्ने अनुमान सर्वत्र गरिएको छ । केही वर्षअघि नाकाबन्दीको मारमा परेका नेपालीले वैदेशिक बन्द व्यापार तथा आधारभूत आवश्यकताको आपूर्तिका लागिसमेत निकासको दोस्रो विकल्पको खोजी उत्तरतर्फ नै गरिरहेका छन् । सपनाजस्तै बनेको हाम्रो हिमालपारिको उत्तरी छिमेकीसँगको दरिलो र भरपर्दो रुपको सडक सञ्जाल अर्थात् भौतिक ‘कनेक्टिभिटी’ को सपना अब भने साकार हुनसक्ने देखिएको छ ।

नेपालको दक्षिणतर्फको सिमाना खुला र सहज भए पनि उत्तरी भूगोलको जटिलताका कारण मित्रराष्ट्र चीनसँगको सम्बन्धलाई भौतिक रुपमा जोड्न सकिएको छैन । दक्षिणतर्फजस्तो भौतिक रुपमा सहज बनाउन सकिएको छैन । त्यसैले पनि राष्ट्रपति सीको नेपाल भ्रमणमा दुई देशबीचको ‘कनेक्टिभिटी’ मा जोड दिइयोस् भन्ने माग सबै नेपालीको छ । नेपाली नागरिकले सबैभन्दा बढी इच्छ्याएको विषय पनि उत्तरी छिमेकीसँग भौतिक रुपमा जोडिन पाइयोस् भन्ने नै हो । दुई देशबीचको कूटनीतिक सम्बन्धले ऐतिहासिक उचाइ लिएजस्तै हामी भौतिक रुपमा पनि एकापसमा दिगो र भरपर्दो रुपमा जोडिन सक्यौँ भने आपसी हित र द्विपक्षीय लाभ यसैमा देखिन्छ ।

बिआरआई चीनको एक बृहत् र महत्वाकाङ्क्षी आयोजना हो । यस आयोजनामा जोडिने अरू दक्षिण एशियाली राष्ट्रजस्तै नेपाल पनि अगाडि नै पर्दछ । नेपालले सन् २०१७ को मे १२ मा बिआरआई आयोजनामा हस्ताक्षर गरेको थियो । त्यस समयका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले चीनजस्तो समृद्ध छिमेकीबाट लाभ लिन सक्नुपर्ने सुझाव दिन्छन् । यस भ्रमणलाई ऐतिहासिक भन्दै डा महतले बिआरआईबाट लाभ लिन नेपाल स्पष्ट तथा नेपालको दीर्घकालीन हित हुने कार्यक्रमका साथ अघि बढ्नुपर्ने धारणा राखे । उनी पनि दुई देशको सम्बन्धको प्रभावकारी सेतु ‘कनेक्टिभिटी’ नै हुने धारणा राख्नछन् ।

 

चिनियाँ राष्ट्रपति सी आधुनिक चीनको विकासमा देङ स्याओ पिङपछिको चर्चामा चिनिन्छन् । चीनको वर्तमान आर्थिक विकासको शिलान्यास देङको खुला चीन नीतिलाई मानिएजस्तै चीनलाई अहिले विश्वमा पु¥याउने काम सीको बिआरआईजस्तो बृहत् आयोजना र वर्तमान आर्थिक विकासलाई मान्ने गरिएको छ । यसरी पनि चीनको प्रभाव विश्वको नयाँ नयाँ भूगोलमा फैलिँदैछ ।

आजको हैसियत हेर्दा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । यति समृद्ध मुलुक हाम्रो छिमेकी नै हुनु भनेको हाम्रा लागि ठूलो अवसर हो । तर यसबाट लाभ कसरी लिने भन्ने कुरा भने हामी आफैले गर्ने हो । एक हिसाबले भन्ने हो भने हाम्रा लागि चीन समृद्धिको समुद्र नै हो । यो समुद्रबाट हामी के कति पानी उभाउन सकौँला, त्यो हाम्रै क्षमतामा भर पर्दछ भन्छन् चीन मामिलाका एकजना जानकार एवम् ‘सेन्टर फर ट्रान्स हिमालय स्टडिज’ का अनुसन्धानदाता डा. बुद्धिप्रसाद शर्मा ।

हाल चिनियाँ विश्वविद्यालयमा प्राध्यापन गरिरहेका उनले यो भ्रमण दुई देशबीचको सम्बन्धको एक ऐतिहासिक घटना र अवसर दुवै हो भन्दै यसबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन सक्नुपर्ने धारणा राख्नछन् । चीनले नेपाललाई सधैँ मित्रराष्ट्रका रुपमा हेर्ने गरेको उनको बुझाइ छ ।           

राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच हुने उच्चस्तरीय भेटवार्तामा विभिन्न उच्चस्तरीय सहमति र सम्झौताहरु हुने तयारी भएको छ । त्यस छलफल एवम् सम्झौतामा रेलमार्ग निर्माणको प्राथमिकता सरकारका तर्फबाट पहिलो देखिन्छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग परामर्श पनि गरिसकेका छन । त्यस क्रममा रेलमार्ग नै सबैको रोजाइको विषयमा परेको समाचार आएको छ । रेलमार्ग निर्माणको ‘मोडालिटी’ के कस्तो हुने भन्ने बारेमा स्पष्ट नभएको भए पनि यसलाई प्राथमिकतामा भने सबैले राखेका छन् ।

मदन भण्डारी विश्वविद्यालय स्थापनाको विषय पनि एजेन्डामा छ । तर पनि तातोपानी, रसुवागढी, कोरला, किमाथाङ र लोमाथाङलगायतका सीमा नाकामा सुरक्षाका लागि काम गर्ने विषय छलफलको अर्को प्राथमिकतामा छ । यसबाहेक काठमाडौं–केरुङ रेलमार्गको डिपीआर एक वर्षभित्र सक्ने र आपसी समझदारीका आधारमा रेलमार्ग निर्माण थाल्ने विषय अर्को एजेन्डामा रहेको बुझिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ