बढाएको शुल्क फिर्ता नगरे कडा संघर्षमा जाने विद्यार्थी संगठनको चेतावनी
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
192
Shares
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क बढाएसँगै नौ विद्यार्थी संगठनले बृद्धि गरेको शुल्क फिर्ता गर्न माग गरेका छन्।
आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिक सत्र २०७६-७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबिएस र बिडिएस कार्यक्रमका लागि नयाँ शुल्क निर्धारण गरेको थियो । नौ विद्यार्थी संगठनले आइतबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय गौशालामा बैठक बसेर बढाइएको शुल्क तत्काल फिर्ता हुनुपर्ने माग गरेका हुन्।
बैठकमा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जिवी ढकाल, अनेरास्ववियु पाँचौंका अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष चिरञ्जिवी यादव, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्मा आदी विद्यार्थी सहभागी थिए ।
बैठकपछि विद्यार्थी संगठनले विज्ञप्ति मार्फत शुल्क तत्काल खारेज नगरे कडा संघर्षमा जाने चेतावनी दिएको छ ।