arrow

लक्ष्मीपूजाको दियोबाट सल्किएको आगोबाट लाखौँको क्षति

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
diyo.jpg

सोलुखुम्बु ।जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्ँकिदा स्थानीयवासी रुपा नेवारको छ लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद रु एक लाख ५० हजार, पाँच तोला सुन, १० तोला चाँदी, पाँच माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पूजाकोठाबाट शुरु भएको आगोले नेवारको ढुङ्गा माटोले बनेको तीन तले घरको पूजाकोठा जलेर नष्ट भएको छ । साँझ ७:४५ बजेबाट शुरु भएको आगो राति ९:३० बजे स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो । तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रुपा नेवार नेचासल्यान गाउँपालिका–२ का वडा सदस्यसमेत हुन्। 

एक हप्तामा करोड बढी क्षति
पछिल्लो एक हप्तामा नै जिल्लाको तीन ठाउँमा आगलागी भएको छ । कात्तिक ३ गते मात्रै सोही गाउँपालिका–१ का चन्द्रप्रकाश कोइरालाको तीनतले घरमा आगलागी भएको थियो । प्रहरीको मूल्याङ्कनअनुसार कोइरालाको रु ९८ लाख बराबरको क्षति भएको थियो । 
 
यस्तै कात्तिक ७ गते सोलुदूधकुण्ड नगरपालिका–११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार सल्यानमा खड्काको घर पूर्णरूपले जलेर नष्ट हुँदा रु ८५ लाख बराबरको क्षति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ