'साथ दिन प्रतिपक्षि यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?' भन्दै चाबहिलमा प्रदर्शन
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
564
Shares
काठमाडौं। भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूमि राखिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुले काठमाडौंको चाबहिलमा विरोध प्रर्दशन गरेका छन्। साथ दिन प्रतिपक्षि यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ? भन्दै नेपाल विद्यार्थी संघका विद्यार्थीले प्रर्दशन गरेका हुन् ।
नेविसंघका नेता मनोज बैधको नेतृत्वमा भएको प्रदर्शनमा उल्लेख्य मात्रामा विद्याथीहरुले सहभागिता जनाएका थिए। विद्यार्थीहरुले दार्चुलास्थित नेपाली भूमी लिम्फियाधुरा, कालापानी र लिपुलेक भारतले नयाँ नक्सामा समेटेको भन्दै बिरोध गरे । सहभागिहरुले सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?, बालुवाटार जोगाउन नसक्नेले कालापानी जोगाउन सक्दैन, नेपाली हामी रहौला कहाँ नेपालै नरहे, सर्वसत्ताजादी सरकार मूर्दावाद विद्यार्थी एकता जिन्दावाद, आउ साथि सडकमा सबै जुटौ राष्ट्रियता जोगाउन लगायतका नारा लगाएका थिए।
उनीहरुले छिमेकीहरुले पटकपटक सीमा मिच्दा पनि लाचार भएर बस्ने सरकारको पनि विरोध जनाएका थिए । विद्यार्थी नेता बैधले राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप सहन नसकिने भन्दै सीमामा कुनै पनि छिमेकीको हस्तक्षेप स्विकार्न नसकिने बताए। उनले लिम्फियाधुरा, कालापानी र लिपुलेक लगायतका क्षेत्रमा भारत तथा उत्तरतर्फ चीनले कैयौं ठाउँमा सीमा मिचे पनि सरकार लाचार भएर कुरा गर्न नसकेकोमा आक्रोश व्यक्त गरे।