‘रेल र पानीजहाज भन्दा पहिला प्राथमिकतामा नेपालको भुमी परोस्’
प्रधानमन्त्रीले पहल थालेपछि उहाँलाई सबैको साथ र समर्थन रहन्छ
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
487
Shares
विराटनगर। नेपाल विद्यार्थी संघले बिराटनगरमा कालापानी, लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्त्रीलाई ज्ञापन पत्र पठाएको छ।
व्यवस्थापन क्यामपस ईकाइको आयोजनामा विद्यार्थीले ‘जमिन मिच्न पाँइदैन, दुष्ट छिमेकी चाहिंदैन’, भारतीय विस्तारवाद मुर्दावाद’, ‘पुर्खाले लडे नालापानी हामी लड्छौं कालापानी’ आदी नारा लगाएका थिए।
भारतले आफ्नो नक्सामा कालापानी, लिपियाधुरा र लिपुलेक राखेर सार्वजनकि गरेपछि नेपाल भर बिरोधको लहर शुरु भएको छ। देशका बिभिन्न स्थानमा राजनीतिक दलहरु लगायत भातृ संगठनहरुले लगातार बिरोध प्रदर्शन गरिरहेका छन्।
संघका इकाइ सभापति अनिल खाँ र सचिव शेखर बुढाथोकीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लिपियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भू-भागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।
त्यस अवसरमा नेविसंघ सम्बद्ध विद्यार्थीले बरु अहिले रेल र पानी जहाज नचाहिएको बरु भारतले मिचेको जग्गा फिर्ता हुनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । रेल र पानी जाहाज भन्दा पहिलो प्राथमिकतामा नेपाली भुमी फिर्ता होस् भन्दै विद्यार्थीहरुको एकै आवाज रहेको छ।
हामीलाई पानीजहाज र रेल भन्दा बढी महत्व आफ्नो जमिनको छ। भारतीय समकक्षीसँग प्रधानमन्त्रीले वार्ता गरि चाँडै हाम्रो भुमी फिर्ता गर्नु पर्ने माग नेविसंघका नेता पवन भट्टराईले राखेका छन्।
नेविसंघका पूर्वसहमहामन्त्री कृष्ण कार्कीले नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्ने र त्यसमा जनताले साथ दिने सुझाव दिए । 'सर्वदलीय छलफलबाट पनि प्रधानमन्त्रीलाई अघि बढ्न बाटो खुल्ला भइसकेको छ,' कार्कीले भने, 'प्रधानमन्त्रीले पहल थालेपछि उहाँलाई सबैको साथ र समर्थन रहन्छ ।'
त्यसैगरि महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले पनि नेपाली भुमी मिचिएकोमा बिरोध प्रदर्शन गरेका छन्। बिरोधको क्रममा जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विद्यर्थीहरुले बिरोध सभा गरेका थिए। भारतीय रवैया र थिचोमिचोको विद्यार्थी नेताहरुले बिरोध गरेका थिए।