काठमाडौं । नेपाल प्रहरीमा चुनावअघि सरुवा बढुवा नहुने भएको छ । यही मंसिर १४ गते हुने उपचुनावको आचारसंहिता लागेका कारण प्रहरीमा सरुवा बढुवा रोकिएको हो । डीआइजीको एक बर्षे कार्यकाल पूरा भइसकेको छ । एक बर्षमा प्रहरीमा सरुवा हुने गर्दछ ।
महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापा क्षेत्री, सीआइबीका डीआईजी निरजबहादुर शाही र अपराध अनुसन्धान विद्यालयका डीआईजी रामप्रसाद श्रेष्ठको एकवर्षे कार्यकाल पूरा भइसकेको छ। गृहमन्त्रालयले निर्वाचन आयोगसँग सहमति लिएर डीआइजी सरुवा गर्ने तयारी गरेको थियो । तर अब १३ दिनपछि नै निर्वाचन भएकाले तत्काललाई सरुवा नगरी त्यसपछि नै सरुवा गरिने भएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद शर्मा घिमिरेको पनि सरुवा हुँदैछ । उनी घुमुवा राखेर असुली गरेकोबारेमा विवादमा परेका छन् । पाँच महिनाअघि मात्र सरुवा भएका डीआईजी घिमिरेको ध्यान रकम संकलनमा मात्र केन्द्रित भएको उजुरी प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्रालयसम्म पुगेकाले उनी तानिने सम्भावना बढेको छ । उनी आइजीपी सर्वेन्द्र खनालसँगै आगामी माघ २८ गते अवकाश हुँदैछन् । अवकाशको मुखमा रहेका उनको ध्यान शान्ति सुरक्षा कायम गर्नेभन्दा पनि असुलीमा बढी केन्द्रित हुने गरेको आरोप उनीमाथि लागेको छ। अवकाशको मुखमा रहेकालाई इन्चार्ज नदिने प्रहरीको नीति कार्यान्वयन नगरिएका कारण गण्डकी प्रदेश प्रहरी नै विवादमा तानिन पुगेका छन् ।
डीआइजीका लागि महानगरीय प्रहरी कार्यालयको प्रमुख र सीआइबीको प्रमुख आकर्षक र काम देखाउने ठाउँ हुन् । यी दुई ठाउँमा सरुवा हुनका लागि डीआईजी पिताम्वर अधिकारी, केदार रिजाल र विश्वराज पोखरेल लागेका छन् । प्रहरी प्रधान कार्यालयमै रहेका अधिकारी प्रदेश नम्वर ५मा हुँदा राम्रो कामका लागि परिचित छन्। अधिकारी पनि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसँगै अवकाश पाउँदै छन्। रिजालको कार्यकाल २ महिनामात्र बाँकी छ । उनी पनि माघ २८ मै ३० बर्षे सेवावधिका कारण अवकाश हुँदैछन् । पोखरेल जुनियर भए पनि आफ्नो समूहमा सबैलाई उछिनेर डीआइजी बढुवा हुने एकमात्र भाग्यमानी हुन् । उपप्रधानमन्त्री इश्वर पोखरेलको सदासयताले उनले सबैलाई उछिनेर बढुवा हुने मौका पाएको चर्चा हुने गरेको छ । उनी सीआइबी वा महानगरीय आयुक्त कार्यालयमा जाने र काम देखाएर आगामी आइजीपी नै हुने दाउमा छन् । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले अधिकारी, रिजाल र पोखरेल मध्ये एकलाई महानगरिय प्रहरी कार्यालयमा ल्याउन चाहेका छन्।
प्रबन्ध निर्देशनालयमा कार्यरत डीआईजी नारायणसिंह खड्काले गण्डकी प्रदेशमा जाने चाहना राखेका छन् । त्यसो त अर्का डीआईजी सूर्यप्रसाद उपाध्याय पनि गण्डकी नै ताकिरहेका छन् । उपाध्याय एयरपोर्टमा कार्यरत छन् । महानिरिक्षक खनालले महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापा क्षेत्रीलाई प्रवक्ता बनाउन चाहेको बताइएको छ।