‘कार्यवाहक दिनु ठीक हैन, बिरामी कार्यकारीबाट देश अगाडि बढ्दैन’
प्रकाशित २०७६ मंसिर ४ बुधबार
755
Shares
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिरामी कार्यकारीबाट देश अगाडि नबढ्ने भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहकदिएर आफू लामो समयका लागि विदेशमा गएर उपचार गराएर फर्किने सुनेको भन्दै यो जायज नहुने बताएका हुन् ।
अधिवक्ता त्रिपाठीले कार्यवाहकदिएर लामो समय विदेशमा रहनु भन्दा बिरामी मान्छेले राज्यको बोझ बोक्नुभन्दा आरामसंग उपचार गराउनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।
प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक दिएर उपचारका लागि विदेश जान खोजिरहेका छन् । यसबारेमा चर्को वहश सुरु भइसकेको छ । उनले भने, ‘कार्यवाहक दिनु ठीक हैन, बिरामी कार्यकारीबाट देश अगाडि बढ्दैन ।’
के हुन्छ कार्यवाहक दिँदा ?
त्रिपाठीले स्पष्ट पार्दै भने, ‘कार्यवाहक दिने संवैधानिक व्यवस्था हो । तर छोटो समयका लागि हुन्छ । लामो समयका लागि हुनै सक्दैन । यदि भयो भने त्यो दुरुपयोग हो । छोटो समयमा लागि दिने चिज हो । तर प्रधानमन्त्री केपी शर्मा ओली आफै बिमार हुनुहुन्छ ।’
त्रिपाठीले थपे, ‘लामो समय कार्यवाहक दिँदा यसले संविधानको स्पिरिटलाई किल गर्छ । अस्वस्थ्य भएर पनि प्रधानमन्त्रीले पद छाड्न नचाहनु दुर्भाग्य हो । प्रधानमन्त्री २४ ऐ घण्टा चनाखो हुने पद हो । यतिधेरै शारीरिक अस्वस्थ हुँदा पदमा बसिरहनु राम्रो हैन । लामो समय कार्यवाहक पद दिन औचित्य पनि देखिँदैन ।’
खतरा के हुन सक्छ ?
‘एउटा मर्यादापूर्ण तरिकाले रिटायर्ड लिन पनि जान्नुपर्यो । प्रधानमन्त्री जस्तो पदमा निरन्तर टाँसिनु र अरु कसैमाथि विश्वास नगर्नुृ राम्रो हैन । यो राष्ट्रको हितका लागि पनि उचित हुँदैन । जसले राष्ट्रको गम्भीर निर्णय गर्नुपर्ने हुन्छ त्यस्तो व्यक्ति निरन्तर यो पदमा बसिरहन मिल्दैन ।’, त्रिपाठीले भने ।
चिकित्सकको निरन्तर निगरानीमा बस्नुपर्ने गम्भीर बिरामी भएको व्यक्तिले विश्वमै पनि पद छोड्ने चलन हुन्छ । सत्तालिप्सा यो ठीक हैन । यत्रो लामो समयसम्म उहाँले राष्ट्रको नेतृत्व लिएर आउनु भएको छ । त्यो गलत भयो ।
चौतर्फी रुपमा पनि यसबारे छलफल हुनु जरुरी छ । कमजोर स्वास्थ्य अवस्था भएको व्यक्तिले सबै जटिलता बुझेर कुनै निर्णय लिन सक्दैन । आँखा चिम्लेर निर्णय गर्न भएन ।
त्रिपाठी भन्छन्, ‘प्रधानमन्त्रीको नाममा अरुले काम गर्छन् । अरुले निर्णय गर्छन् । यो अन्स्टिच्युसनल काम भयो । अरुले फाइदा उठाउने भए । उहाँको नाममा अरुले शासन गर्न थाल्छ । मुलुकका दीर्घकालीन हित खतरामा पर्न थाल्छन् ।
उहाँ कानुनी रुपमा ‘डिजुरे’ हुनुहुन्छ । बास्तविक रुपमा ‘डिफ्याक्टो’ अरु हुन्छन् ।