जुम्ला । यार्सागुम्बा खरिद बिक्रीबाट बालबच्चाको पठनपाठन सुधार्ने र नयाँ घडेरी किन्ने सपना बुनेको थिएँ, तर ऋणि भएर भौंतारिनु प¥यो । यो दुःखेसो पातारासी–१ तल्फीगाउँ, जुम्लाका मानबहादुर नेपालीको हो । उनले गएको जेठ असार महिनामा यार्सा खरिदका लागि साहुबाट रु दुई लाख ऋण लिए । पाटनमा यार्सा खरिद गर्न जाँदा मानबहादुरले साहुसँग साँवासहित ब्याज तिर्ने कागज गरे ।
यार्सा रु एक हजार २०० जाने अनुमानका आधारमा पाटनमा सङ्कलकहरुबाट एउटा यार्साको रु ९०० मा खरिद गरे । अन्ततः भाउ घट्दा रु ४०० मा कटाउन उहाँलाई हम्मेहम्मे भयो । झन्डै रु चार लाख ५० हजारको घाटा भयो उनलाई ।
गतवर्ष रु २५ लाख प्रतिकेजी मूल्य हुँदा अहिले बढ्छ सोचेर त्यसो गरेको थिएँ, तर के गर्ने आकाशे खेतीको भर नै हुँदोरहेनछ, अत्यन्तै दुःखित मुद्रामा उनले पीडा व्यक्त गरे । अहिले घटेर यार्साको भाउ प्रतिकेजी रु १० लाखमा गएको पनि उनले बताए । साहुको ऋण फछ्र्योट गर्न घडेरी र तीन कित्ता गरेर करिब सात हजार वर्गमिटर जमिन बेच्नुप¥यो ।
मालपोत कार्यालय जुम्लामा आएका उनले भने, साहुको ऋण र ब्याजबाट मुक्त हुन भएको जग्गाजमिन बिक्री गर्नुप¥यो । सोच कमाउने थियो, परिस्थितिले गुमाउनु प¥यो ।
उनका अनुसार यार्सागुम्बा बिक्री गर्नेहरु भने फाइदामा नै परे । यसपटक आफूजस्तै थुप्रै खरिदकर्ता मर्कामा परेको उनले बताए ।
अबदेखि यो खेतीमा हात नहाल्ने उनको सङ्कल्प छ । करिब पाँच हजार मिटरको उचाइमा शारीरिक जोखिमता मोल्दै फाइदाको निम्ति गरेको व्यवसायले आर्थिक जोखिमबाट उन्मुक्ति दिँदैन भने हत्केलामा ज्यान राखेर काम गर्न नसकिने उनले बताए ।