arrow

दुखहरु बीच दीपावली गरेको २०७२ लाई फर्केर हेर्दा

logo
शरद ओझा,
प्रकाशित २०७२ चैत २८ आइतबार
rahat-earthquake-help.jpg.jpeg
सबै कुरा सामन्य तवरले चल्दै थिए। साल २०७२ संग धेरै अपेक्षा पनि थिएन। तमाम सामान्य ब्यक्ति जसरी नै करियर बनाउने समय आयो, मास्टर्स डिग्री पनि सकिदैछ अब कुनै न कुनै क्षेत्रमा काम सुरु गर्नु पर्छ लगाएतका योजनाहरु भन्दै थिए, मेरापनि। नयाँ बर्ष २०७२को सुरुवात संगै बजारमा हल्ला चल्न थालेको थियो यो बर्ष मंगलबारबाट सुरु भएको छ, खै के के हुने हो? मंगलबारबाट नयाँ बर्ष सुरु हुदाँ, यस्तै यस्तै कुराहरु चल्दै थिए। 
 
नभन्दै २०७२ बैशाख १२ गते मध्यान्ह १२ बजेले बालकदेखि बृद्द, धनीदेखि गरिव, मजदुरदेखि मालिक सबैको जिन्दगीमै खैलाबैला ल्याईदियो। सबैको हैसियत एउटै बनाइदियो। स्वार्थी, लोभी अनि पापिका लागी निकै ठुलो अवसर पनि बन्यो भने अत्याधिक जनतालाई घरको न घाटको बनाईदियो। धेरैले आफन्त गुमाए, घर भत्किए, पहिरोले खेत बारी बिगार्यो अनि बिद्यार्थीले पढ्ने अवसर गुमाए। दिनचर्या नै सोचे बिपरित भयो।
 
धेरैको सोचेबिपरितको जीवन जस्तै मेरो पनि निकै सोचे बिपरित बित्यो साल २०७२। सायदै पुगिएला अब धादिंगको बिकट गाबिस सेमजोङ, नुवाकोटको काउले, सिन्धुपाल्चोकको पेट्कु, दोलखाको क्षेत्रपा अनि सुन्द्रावती काभ्रेको रयाले अनि गोरखाको पिनाममा। एक बर्ष पहिले यी ठाउँहरु पुग्दाको समय भन्दा अहिले मानिसहरुको अवस्था केहि भए पनि सहज होला। राज्यसंग जती भरोसा थियो त्यो पक्कै छैन होला। उनीहरु दुखी नहुनुमा १ बर्ष पहिले नै उनीहरुको राज्य संगको अपेक्षा निकै थोरै हुनु हो। अहिले जुन बास्तबिक यथार्थमा भूकम्पपिडितहरु बाचिरहेका छन् उनीहरुलाई यस्तो परिस्थिती आउनेछ भन्ने ज्ञात पहिलेनै थियो। सरकारबाट केहि हुनेमा कुनै आशा त थिएन तर विभिन्न बैदेशिक राष्ट्रबाट घोषणा भईरहेको उल्लेख बैदेशिक सहयोगले जनताहरुमा सरकारले केहि न केहि त गर्ला भन्ने आशा पलाएको थियो तर यथार्थमा जनताको हरेक आकांक्षामा सरकारले तुसारापात गरेको छ। 
 
भूकम्प पश्च्यात जसरी एक फरक यात्रुका तवरले हिडियो अहिले सम्झिदा पनि आङ सिरिंग हुन्छ, सिन्धुपाल्चोकसम्म राहत वितरणको जिम्मेवारी सहित हेल्प नेपाल नेटवर्कको स्वयमसेबी भई पुगेका थियौं। सिन्धुपाल्चोकको काम सम्पन गरी राजधानी फर्कन समय प्रयाप्त थियो तर अझै केहि गर्नु पर्छ भन्ने दृढ ईच्छा क्ती थियो, मित्र मोहनराज जोशीसंग प्रस्ताव राखे दोलखा पनि जाने? रतिभर पनि संकोच नमान्दै उनले भने ‘जाम न त ’।  हामी दुवै बिद्यार्थी, श्रोत निकै सिमित थियो।  दोलखमा निकै क्षती पुगेको छ भनेर सुनिएको थियो तर जुन समय हामीले दोलखा जाने निर्णय गर्यौ। कता बस्ने के खाने भनी केहि सोचिएन। कुनै प्रयाप्त योजना नबनाई ‘काम छ भने जाउ’ भरेर दोलखा गएका थियौ। भूगोलबारे केहि जानकारी थिएन। निरन्तर ठूल्ठूला पराकम्पनहरु जादै नै थिए, मित्र मोहनलाई गाडीको यात्रानै कष्टपूर्ण हुन्थ्यो तर केहि कुरा सोचिएन। हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई भुकम्पकै कारणले उनको आफ्नै खुट्टा पनि मर्किएको थियो सोधियो, सर दोलखामा छ जानु पर्ने? उनले सुन्द्रावतीमा जान सके राम्रो हुने भने र पैसा भए नभएको सोधे, हामीले भन्यौ, छ तर यथार्थ भिन्नै थियो। कुनै योजना बिना परिस्थिती कस्तो होला भन्ने नसोचेरै हामी निस्केका थियौ चरिकोटको यात्रामा। गाडीमा बसिसकेपछि कता बास बस्ने भन्ने कुरा मनमा खेल्न थाल्यो, अनि राजधानीका घरबेटीको घर पनि दोलखामा छ भन्ने थाहा थियो र घरबेटी अंकल प्राय दोलखै बस्ने हुदाँ फोन गरेको थिए घरबेटीका कान्छा छोरा सन्तोषलाई संयोगले उनि पनि दोलखामै रहेछन। घरमा आउन भने र हामी चरीकोट पुगेपछि आफै आएर घरमा लादै थिए। बाटोमा भने, ‘हाम्रो घर पनि भत्कियो यार, सप्पै पालमै सुतेका छौं, बत्तिपनि छैन’। बसमा सोच्दै थिए मोबाईलमा चार्ज छैन अब घरमा गर्नु पर्ला, दिन भरीको थकान राम्ररी मार्नु पर्ला। 
 
हाम्रा लागी ती अवस्थाहरु केहि दिनका लागी थिए, आफैले रोजेको बाटोका कारण आएका थिए र यात्रामा दुख हुदा पनि हामी रमाउन सिक्दै थियौं। तर हजारौं भूकम्पपीडित एक बर्ष देखि दिनहुँ पिडामा छन्। विकल्पको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन्। २०७२ ले केवल पिडा दिएको छ, बर्खाको पानी पनि हिउँदको ठण्डी दुवै सहे जनताले, तर सरकार कहिँ कतै अग्रसर हुदै भएन सरकार जसरी आफ्नो पूर्ण शक्ती लगाएर। 
 
दुबिधा, निम्न आशा र भरोसा बीच २०७२ असोज ३ गते संविधानसभाले संविधान जारी गरेको थियो जसलाई २०७२ सालको उल्लेखनीय उपलब्धि मान्न सकिन्छ। सदियौंदेखि नेपाली जनताको चाहना थियो, संविधानसभाबाट संविधान निर्माण। संविधान जारी पश्चात मुलुकले करिव ६ महिना भारतीय नाकाबन्दीको सामना गर्नु पर्‍यो। तर भारतले सोचे अनुरुप भूकम्पले थलिएको मानसिकतालाई गलाउन सकेन। जनताले दुख कष्ट सहेरै भए पनि सरकारलाई सहयोग गरे तर विडम्बना मान्नु पर्छ सरकारले जनताले गरेको सरकारप्रतीको बफादारीतालाई कमजोरी ठान्यो र भूकम्प पिडितको घाउमा मलम लगाउने गरी कुनै देखिने गरी काम नै गर्न सकेन। कालाबजारीलाई निरुत्साहित गर्ने गरी केहि गर्ने सकेन। न भष्टाचार नै नियन्त्रण गर्न सक्यो न बिकास नै गर्न सक्यो।
 
नेपालको समस्या देखाएर तमाम गैर सरकारी सस्थांले ब्रम्हलुटको अवसर पाए। तर सरकारले गरीब जनताका घर पुननिर्माण गर्ने गरी १ बर्ष बितिसक्दा पनि नितीगत कार्य पनि गर्न सकेको छैन। मान्न सकिएला नाकाबन्दीको समयमा निर्माण सम्बन्धि कार्य गर्न सकिदैन थियो तर योजना बनाउन, पुनर्निर्माण प्रबिधिकरणमा जनशक्ती राखी कार्य प्रारम्भ गर्न कसैले रोकेका थिएनन्। तर सरकारले गरेन वा गर्न सकेन। अहिले जनताहरु सडकमै आएर पुनर्निर्माण कहाँ पुग्यो भनेर प्रश्न गर्दै छन् तर सरकार संग बनावटी बाहेक कुनै तथ्यपरक जवाफनै छैन। 
 
जनताले हनुमानढोका कहिले बन्दैछ भनेका छैनन्, धरहरा कस्तो बन्छ भनेकै छैनन्, सरकारले भबिष्यमा आउन सक्ने प्रकोपका लागी कस्तो बैकल्पिक व्यवस्था गर्दै छ भनेकै छैनन्, राजधानीका हरेक टोलमा सुरक्षित स्थल निर्माण हुन्छ कि हुदैन भनेकै छैनन्, जस्तोसुकै अवस्थामा पनि उपचार गर्न सकिने अस्पताल छ कि छैन भनेकै छैनन् केवल जनता सामान्य प्रश्न गर्दै छन् सरकार पुनर्निर्माण कता पुग्यो भनेर? 
 
भन्न त प्रधानमन्त्रीले हरेक गाबिसमै हेलिप्याड नै बनाउने, राजधानीको घर घरमा पाईपलाईनबाटै ग्यास पुगाउने अनि २ बर्षमै लोडसेडिङ अन्त्य गर्ने सुन्दा निकै राम्रा र पुरा भए निकै राम्रा हुने घोषणा त गरे तर जनताले प्रधानमन्त्रीका घोषणालाई पत्याउनु भन्दा पनि केवल मजाकको रुपमा लिए। साच्चिकै प्रममा ईख हुने थियो त उनले गरेका घोषणा कार्यान्वयन गर्नलाई तत्परता देखाउदै बिज्ञ समूह निर्माण गर्ने थिए होलान। तर यथार्थ केवल संचारमाध्यमका हेडलाइन हुन गरि भएका घोषणाले मुलुकलाई केहि दिन सकेन।
 
समग्र तराई करीव ६ महिना बन्दै रह्यो तर राजधानी लगाएतका पाहाडीमुलका बाहुल्य बस्तीहरु संबिधानसभाले संबिधान जारी गरेकोमा दीपावली गर्दै थियो। दीपावलीको ताप कम नहुदै सोझासाझा, पहुँच नहुने अनि सामान्य मानिसका लागी ईन्धनका लागी हाहाकार स्थितीको सिर्जना हुन भयो। काठमाडौं सहर संसारकै सबैभन्दा महँगो मुल्यमा पेट्रोलियम पदार्थको खरिद बिक्री हुने स्थलको रुपमा चिनिन पुग्यो। एक पटक फेरी नेपाल देश पो कमजोर हो नेपालीहरु निकै धनी नै छन् भन्ने यथार्थ सामन्यमै आयो। सरकारले मधेस आन्दोलनको दोष भारतलाई दिदै न त तराईको आन्दोलन नै मथ्थर गर्ने सक्यो न त आन्दोलनले उठाएका माग सम्बोधन नै गर्न सक्यो। आन्दोलन सुरु भयो, उत्कर्षमा पुग्यो तर बिना निष्कर्ष अन्त्य भएको छ, थाहा छैन कहिले देखी फेरी आन्दोलन सुरु हुनेछ।
 
जनताको नाममा अराजक तत्वले दिउसै राष्ट्रसेवक कर्मचारीको टीकापुरमा गरेको निर्मम हत्या, १ हप्ताकै फरकमै भएको दुईटा हवाईजाहज दुर्घटना, पहिरो र अत्याधिक चिसोका कारणले निर्दोष जनताले अकालमै गर्नु परेको मृत्युवरण साथै भूकम्प अनि नाकाबन्दी २०७२ का निकै दुखद घटना हुन।
 
भूकम्प संगैको नाकाबन्दीले मुलुकका आर्थिक गतीबिधीहरु संबिधान जारी भएर पनि निकै सिथिल भए। अब आउने नयाँ बर्ष २०७३ मा आर्थिक गतीबिधी तिब्र हुने अपेक्षा छ। गत बर्ष नेपालको तुलनात्मक लाभको क्षेत्र पर्यटन पनि राम्रो हुन सकेको थिएन तर यो आउँदो सिजनमा पर्यटनले निकै राम्रो गर्ने छनक दिएको छ। विश्वका चर्चित ट्राभल सहयोगी वेबसाइटले २०१६ मा नेपाल घुम्नै पर्ने देशको सुचिमा समाबेश गरी नेपाल सुरक्षित गन्तव्य रहेको बताईरहेका छन्। बेलाएती राजकुमार ह्यारीको नेपाल आगमन र उनको योजना भन्दा पनि लामो समयको बसाईले विश्वमाझ नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश प्रवाह भईरहेको छ।
 
तमाम निराशा, पिडा अनि दुख बीच पनि मुस्कुराउँन सक्नु नेपालीहरुको सबल पक्ष हो। जतीसुकै पिडा बीच पनि आगन्तुकलाई सत्कार गर्नु नेपालीको पहिचान हो। गोरखा फिनाममा भूकम्पपछि राहत सामाग्री सहित रातीको ३ बजे पुग्दा दिपकजीले टहरो मै भए पनि बस्नको लागी गर्नु भएको व्यवस्था, बिहान खाना खाएरै जान कर गरी आफ्नो पिडा बिर्सेर हामीलाई केहि नसोधिकन नै लोकल कुखुराको मासु सहित गरेको खानाको प्रबन्धले नेपालीहरु जतिसुकै पिडामा पनि आतिथ्य कसरी गर्ने सक्दा रहेछन भन्ने अनुभव भएको थियो। उनको हार्दिकताकालाई हामीले अस्वीकार गर्ने सकेनौं। धन्न मित्र लोक हरी पौडेल पनि शाकाहारी नहुँदा उनले गरेको मानको हामीले ईज्जत राख्न सक्यौं। मैले मासु खादैन भन्दा निकै चुकचुक लागेको थियो उहाँलाई।
 
नेपाली आथित्य निकै उत्कृष्ट छ भनेर नेपाल भ्रमण गर्ने हरेकको मन मस्तिस्कमा अमेट छाप परेको छ। आशा छ, आउने दिनहरुमा नेपालीको आथित्य स्वीकार गरेर तमाम बिदेशीहरु नेपाल भ्रमण गर्न आउने छन्। नेपालको सुन्दरता अवलोकन गर्ने छन्, मनमोहक दृश्यले आफुमा उर्जा थप्ने नै छन् अनि नेपालको पर्यटन उद्द्योग गतीसिल बनाउन योगदान दिनेनै छन्। 
 
गान्धीले भनेका थिए, “अध्यारो भित्र कहिल्यै उज्यालो सम्भव हुदैन, द्वन्द्वले कहिल्यै शान्ती ल्याउन सक्दैन र घृणाले प्रेम प्राप्ती हुदैन”तसर्थ अहिलेको समय उपलब्ध राजनैतिक दलबाट सकारात्मक आशा गर्नुका साथै समयान्तरसंगै बैकल्पिक शक्तीलाई पनि अगी बढाउन निकै जरुरी छ। आउँदो बर्ष २०७३मा दुखहरु बीच  दीपावली गर्नु नपरेर सुख बीच दीपावलीको गर्ने अवसर आओस भन्ने कामना गर्दछु। निराशा, पिडा अनि दुख बीच पनि मुस्कुराउँन सक्ने हाम्रो अदम्य शाहस र हरेक समयमा सकारात्मक मात्रै सोच्न सक्ने क्षमता नयाँ बर्ष २०७३ले निखार्नुको साथै अधिकारसंगै केहि कर्तव्य र जिम्मेवारी पनि हुन्छन् भन्ने कुराको बोध गराओस्।
 
ब्यक्तीगत रुमपा मेरो लागी २०७२ निकै ब्यस्त बर्षको रुपमा बितेको छ। एक बर्ष भित्र कयौं घटना क्रमहरु घटे, धेरै स्थानमा विभिन्न मुद्दाका लागी आन्दोलन अनि दबाव मुलक कार्यहरुमा सरिक पनि भईयो। नियमित बिद्यार्थी जीवनको समापन गर्दै बर्दियाको गुलारीयाबाट सोच्दै नसोचेको क्षेत्रमा २ महिना जती काम गर्दा ब्यवसायिक जीवन बारे धेरै कुरा जाने र बुझ्ने अवसर मिल्दै छ। जीवन सिकाई हो निरन्तर सिकाईको साधनामा छु। नेपाल सम्बृद्ध बन्ने छ भन्ने आशा अनि बिश्वासमा छु। छिट्टै अवसरहरु पूर्ण सदुपयोग हुने छन् भन्ने भरोसा छ। स्थाई मुस्कान दिन सक्ने सरकार आउने छ भन्ने आशामा छु। अनि आफुले गर्नु पर्ने कर्तव्य अनि जिम्मेवारी पुरा गर्ने नै छु।
 
मुस्कान फक्रन होइन टिक्न सक्नु पर्छ  
दोषी देखाउन होइन जिम्मेवारी लिन सक्नु पर्छ 
निर्णय पन्छाउन होईन समयमै गर्न सक्नु पर्छ 
बिकास सुनाउन होइन देखाउन सक्नु पर्छ 
 
नयाँ बर्ष २०७३को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु।
२०७३ को अन्त्यमा यसरी लेख्न बस्दा नकारात्मक कुरा मेहनत सहित खोज्नु परोस। सकरात्मक अनि उन्नतीका बिचारले लेख पूर्ण होस भन्ने कामना गर्दछु।
 
जय नेपाल।



नयाँ