नेकपाको राष्ट्रवाद खोक्रो रहेको कालापानी मुद्दाले स्पष्ट : देउवा
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
705
Shares
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपाको राष्ट्रवाद खोक्रो रहेको कालापानी मुद्दाले स्पष्ट देखिएको बताएका छन्। ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै यस्तो विचार रखेका हुन्। राष्ट्रवादको चर्को नारा लगाउनेहरु कालापानीको विषयमा स्पष्ट नहुनुले नेकपाको राष्ट्रवाद कालापानीमा गएर टुङिएको बताए। हरेक निकायलाई आफ्नो कब्जामा राख्न चाहेको, संवैधानिक आयोगहरुलाई समेत शाही आयोग जस्तै बनाउन खोजेकोले त्यस्तो हुन नदिने बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु श्रमिक आन्दोलनबाट सत्तामा पुग्ने र सत्तामा पुगेपछि श्रमिकलाई नै दुख दिने भएकोले नेपालमा पनि सरकार श्रमिक विरोधी हुन खोजेको आरोप लगाए।
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया प्रशान्त क्षेत्रका महासचिव शोया योशुदाले अहिले संसारभर सामाजिक समानता आवश्यक रहेकोले र श्रम क्षेत्रको समस्या समाधान गर्न तिनै पक्ष मिल्नु पर्ने बताए। ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले वर्तमान सरकारले श्रमिकको अधिकार कुन्ठित गर्न खोजेको, सबै निकायहरुलाई आफुले भने अनुसार चलाउन खोजेको र आस्थाको आधारमा श्रमिकलाई दुख दिन थालेकाले प्रजातन्त्र विरोधी हुन खोजेको आरोप लगाए।
उद्योग परिसंघका प्रतिनिधी राजेश अग्रवाल र उद्योग वाणिज्य महासंघका प्रतिनिधि चन्द्रा ढकालले सामाजिक सुरक्षा लागु गर्न प्रतिबद्ध रहेको बताए। जेटियुसिसिका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको अवस्था सुधार गर्न सबै ट्रेड युनियनहरु संगै काम गरिरहेको बताए। ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा लागु हुनु पर्ने बताए। आईएलओ का निर्देशक रेचार्डले पुर्व तयारीको कमिले एक वर्ष अगाडी घोषणा गरेको सामाजिक सुरक्षा प्रभावकारी लागु नभएको बताए।
कार्यक्रममा युनि एसियाका महासचिव कृस्टिफर, डब्लुएसएमका ब्रुनो, आईटिफका संगम, बिडब्लुआईका प्रतिनिधिहरुले नेपालको ट्रेड युनियन आन्दोलन र ट्रेड युनियन कांग्रेसको प्रसंशा गरे। यसैगरी काउनका अध्यक्ष जेबि गुरुङ, कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशी र स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले सरकार श्रमिक विरोधी बन्दै गएको आरोप लगाउनु हुदै श्रमिकको नारा लगाउने सरकारले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा लागु गराउनु पर्ने बताए।
परिषद विहिबार शुरु भई शुक्रवार बन्द सत्रमा विभिन्न श्रम क्षेत्रका मुद्दाहरुमा केन्द्रित रहि छलफल र निर्णय गरि टुंगिने प्रचार प्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिए।