हृदयघातबाट पूर्व सभापति खतिवडाको निधन, देउवाद्वारा दु:ख व्यक्त
प्रकाशित २०७६ मंसिर ११ बुधबार
637
Shares
काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीका पूर्व सभापति एवं महासमिति सदस्य रंगराज खतिवडाको मंगलबार सिन्धुली फर्कने क्रममा निधन भएको छ । मंगलबार काठमाडौँबाट सिन्धुली फर्कने क्रममा खतिवडाको हृदयघातका कारण बिहान ११ बजेर ४५ मिनेटमा निधन भएको हो।
उनलाई हृदयघात हुनासाथ सिभिल अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको केहि समयमै अस्पताल प्रशासनले मृत घोषित गरेको थियो । कमलामाई नगरपालिका वडा नं. १ डाडीगुरासे निवासी खतिवडाको पार्थिव शरीरलाई बुधबारै गृह जिल्लामा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
पिता नारायणप्रसाद खतिवडा र माता मोहनकुमारी खतिवडाको सुपुत्रको रुपमा वि.सं. २००० वैशाखमा जन्मिएका स्वर्गीय खतिवडाले नेपाली कांग्रेस सिन्धुलीको जिल्ला कार्यसमितिको सदस्य, सचिव, लामो समयसम्म महासमिति सदस्य र पटक–पटक जिल्ला सभापति समेतको जिम्मेवारी निर्वाह गरेका थिए ।
नेपाली कांग्रेसमा निरन्तर क्रियाशील रहेर स्वर्गीय खतिवडाले पार्टीको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अनवरत रुपमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
नेपाली कांग्रेस उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन् “नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीका पूर्व सभापति एवं वर्तमान महासमिति सदस्य रंगराज खतिवडाको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय खतिवडाले नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं संगठनकर्तालाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”