काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल बोलाउने तयारी भइरहेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यसको जानकारी दिएका हुन् ।
मन्त्री बाँस्कोटाले नेपाल सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निमन्त्रणापत्र हस्तान्तरण गरिएको जानकारी दिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यसै साता रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको उनले बताए।
साथै प्रवक्ता बाँस्कोटाले नेपाल भारतबीचको सीमासम्बन्धी उठेका विषयलाई कूटनीतिक र राजनीतिक माध्यमबाट हल गरिने जानकारी दिए । उनले भने, “कालापानी, लिपुलेक हाम्रो भूभाग हो, हामीलाई अरुको एक इञ्च पनि जमीन चाहिँदैन, हाम्रो पनि छाड्दैनौँ । सीमाका विषयलाई लिएर चर्का कुरा नगरौँ ।”
“पुराना लिखत, सन्धिसम्झौता, स्थानीय जनताले तिरेका निस्सा, जनगणनाजस्ता दस्तावेजसहित सुगौलीसन्धिको धारा ५ प्रमाणका लागि रहेको चर्चा गर्दै प्रवक्ता बाँस्कोटाले तथ्यका आधारमा सत्य प्रमाणित हुने र सत्यपछि सार्र्वभौमिकता पुष्टि हुनेछ”, मन्त्री बाँस्कोटाले भने, “सबै राजनीतिक दलले सीमाका विषयमा सरकारलाई भरथेक, ऐक्यबद्धता जनाउनुभएको छ, यही हाम्रो शक्ति र सामथ्र्य पनि हो ।”
उनले नेपाल भारत सीमा निरीक्षण समिति र नेपाल चीन सीमा निरीक्षण समिति गठन भएको चर्चा गर्दै तीन महिनाको अवधिमा समितिले प्रतिवेदन ल्याउने जानकारी दिए ।
एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको बाँस्कोटाले बताए ।
बाँस्कोटाले भने, “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको छ, उहाँको स्वास्थ्य स्थितिबारे चासो, चिन्ता र शुभेच्छा प्रकट गर्ने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।”
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिकरुपमा उल्लेख्य सुधार भइरहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको प्रस्ट्याए । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।