प्रधानमन्त्री ओलीको अवस्था बुझ्न राष्ट्रपति भण्डारी अस्पतालमा, उपेन्द्र यादव पनि
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
407
Shares
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यावस्थाबारे बिहीबार बेलुकी जानकारी लिएकी छिन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली उपचाररत महाराजगञ्जस्थित त्रिवि, चिकित्सकशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिएकी हुन् । राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति खुशी व्यक्त गर्दै उनको स्वास्थ्यलाभको कामना पनि गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी प्रधानमन्त्रीलाई भेट्न बेलुकी ७ः४० बजे पुगेकी थिइन् ।
प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझ्न उपप्रधानमन्त्री उपेन्द्र यादव, नेकपाका नेता जनार्दन शर्मा तथा राप्रपा, समाजवादी पार्टीलगायत दलका नेताहरु पनि अस्पताल पुगेका थिए ।