वुथ कब्जा गर्न नेकपाले डेढ सय अपरिचितलाई फाल्गुनन्द गाउँपालिकामा भित्र्याएको आरोप
मौन अवधिमा सत्ताधारि दलका नेताहरुको उग्रता, प्रहरी प्रशासन वेखबर
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
594
Shares
पाँचथर । शनिबार हुने उप निर्वाचनको मौन अवधि सुरु भएपछि सत्तारुढ दल नेकपाका नेता कार्यकर्ताको उग्रता बढेको आरोप सत्तारुढ दल इतरका दलहरुले लगाएका छन्।
निर्वाचन हुने क्षेत्रमा मतदातालाई कब्जा गर्नेदेखि लिएर विभिन्न सामग्रिहरु वितरण गर्नेसम्मको हर्कत नेकपा कार्यकर्ताहरुले गर्न थालेको आरोप सत्तारुढ दल इतरका दलहरुले लगाएका हुन् ।
प्रहरी प्रशासन भने सत्ताधारी दलका नेता कार्यकर्ताको हर्कतको मुकदर्सक बनेर बसेको आरोप पनि उनीहरुको छ। पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष सहित फिदिम नगरपालिका १ र हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्षका लागि शनिबार निर्वाचन हुने तयारी छ। निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा नेकपाले उग्रता देखाएको उनीहरुको आरोप छ।
फाल्गुनन्द गाँउपालिकामा नेकपाले सयौँको संख्यामा अपरिचित मान्छेहरु ल्याएको एक स्थानियले टेलिफोनमा जानकारी दिए। फिदिम १ को ढोडेनी भन्ने स्थानमा पनि डेढ सय भन्दा धेरै अपरिचित मानिसहरु भित्राएको स्थानिय एक शिक्षकले बताए । उनीहरुले मतदातालाई धम्काउने र थर्साउने गरेको ढोडेनीका उनले बताए । नेकपालाई भोट नदिए सिध्याइदिने सम्मको धम्कि दिएको भनाई छ । कतिपय मतदातालाई प्रलोभनमा पार्ने गरिएको उनले भने ।
बिहिबार राति मात्रै नेकपाले हिलिहाङ ७ का मतदातालाई वितरण गर्न लगेको खाद्य सामग्रिसहितको गाडी काँग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए । उक्त घटनामा नेकपाका नेता तथा जिल्ला समन्वय समिति पाँचथरका संयोजक बिमल सापकोटा समेत संलग्नता रहेको थियो । प्रहरी प्रशासन भने यस्तो हर्कत नियन्त्रण गर्न अगाडी नआएको सत्तारुढ बाहेकका दलका नेताहरुले आरोप लगाएका छन्।
पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले कहि कतै अप्रिय स्थिति नघटेको तथा अपरिचित मानिस परिचालित भएको आफूले जानकारी नपाएको बताएI